वाह ! यस्तो पो विद्यालय : गाउँमै पढाइ, गाउँमै जागिर !

 बैशाख ३०, २०७६ सोमबार १२:३१:२ | अर्जुन पोख्रेल
unn.prixa.net

पर्वत – पर्वतको फलेवास नगरपालिका मुडिकुवा । मध्य वैशाखको चर्को गर्मी । गाउँलेहरु रुखको फेदमा बसेर गफ गर्दै र कोही भने पंखा चलाएर घरको दलानमा आराम गरिरहेको देखियो । मध्यान्ह भएकाले गाउँलेहरुले काम थाती राखेका थिए । 

तर दिउँसो १२ बजेको घाममा फलवास नगरपालिका वडा नम्बर ४ मुडिकुवाको माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यामिक विद्यालयमा पुग्दा दृष्य अर्कै थियो । 

चर्को घामको परवाह नगरी विद्यार्थीहरु खेतीपातीमै व्यस्त थिए । कोही नयाँ ब्याड बनाउँदै थिए, कसैले लसुनमा पानी राख्दै अनि कसैले टनेलको सरसफाई । कसैलाई पनि गफ गर्ने फुर्सद थिएन । 

विद्यालय परिसरभित्रै लहलह भएका लसुन प्याज, केरा खेती उस्तै सप्रेको अनि टनेलभित्र थरिथरिका बाली । प्राविधिक कृषि पढिरहेका विद्यार्थीले बालीनाली रेखदेख गर्छन् । 

विद्यालयभित्रै यस्तो दृष्य देखेर त्यहाँ जाने जो कोही पनि अचम्ममा पर्छन् । तर पर्वतको फलेवास नगरपालिका वडा नम्बर ४ को माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यामिक विद्यालयमा भने यो दृष्य ६ वर्षदेखि निरन्तर देखिँदै आएको छ । 

२०७० सालमा प्राविधिक विषयमा पनि उच्च शिक्षा सञ्चालनको अनुमति पाएपछि  कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक विषयमा पढाई हुँदै आएको छ । घरकै भात खाँदै प्राविधिक शिक्षा पढ्न पाउँदा विद्यार्थी मख्ख देखिन्छन् । 

संघर्षले जन्मिएको प्राविधिक शिक्षा

२०१७ सालमा स्थापना भएको माटेदेवल जनसहयोगी विद्यालयले २०४६ सालमा माध्यमिक विद्यालयको अनुमति पायो । धेरै पुरानो विद्यालय भएकाले गाउँलेहरुले यसलाई नमुना विद्यालय बनाउन धेरै पहल गरे । उनीहरुले विद्यालयलाई उच्च माविमा बढुवा गर्न धेरै पहल गरे । तर २०६५ सालअघि त्यो पहल सफल हुन सकेन । 

२०६५ सालमा भने माटेदेवल जनसहयोगी विद्यालयले उच्च माविको मान्यता पायो । उच्च शिक्षा पढ्न कुश्मा पुग्ने विद्यार्थी मुडिकुवामै रोकिने भए । आफैमा खुसीको कुरा थियो । तर पनि अभिभावक, शिक्षक र विद्यार्थी पुर्ण सन्तुष्ट थिएनन् । किनकी उनीहरुलाई चाहिएको थियो, गाउँमै कृषि पढाई हुने प्राविधिक विद्यालय । 

सरकारबार पर्याप्त सहयोग नपाएपछि उनीहरुले २०६५ सालमा महायज्ञ लगाए । महायज्ञबाट पैसा त उठ्यो । तर त्यो पैसा प्राविधिक विषय अध्ययनको लागि पर्याप्त भएन । उनीहरुले सहयोग संकलन अभियान चलाए, चन्दा मागे, दान मागे अनेक उपाय लगाए । 

प्रयास गरे पक्कै सफल भइन्छ भन्ने अठोटका साथ हिम्मत नहारेका गाउँलेको प्राविधिक शिक्षाको तिर्खा पनि मेटियो २०७० सालमा । 

२०७० सालमा प्राविधिक शिक्षाको अनुमति पाएको माटेदेवल जनसहयोगी विद्यालयले कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक विषय अध्ययन गराउँछ । विद्यालयले अहिले तेस्रो ब्याच पढाईरहेको छ । यसअघिका ब्याचका विद्यार्थी सरकारी जागिरे भैसकेका छन् । 

‘घरको ढिँडो खाएर पढेँ, गाउँमै जागिर पाएँ’

 माटेदेवल जनसहयोगी प्राविधिक विद्यालयमा कृषि प्राविधिक विषय थपिएपछि शंकरपोखरीका अमृतप्रसाद रिजाल दंग हुनुहुन्थ्यो । गाउँमै कृषि शिक्षा पढ्ने अनि गाउँमै जागिर खाने धोको पूरा हुने भयो भनेर उहाँ उत्साहित हुनुभयो । 

तर घरका सदस्यले कृषि प्राविधिक रुचाएनन् । त्यसैले उहाँलाई पढ्न दिने भएनन् । तर अमृतले आँट गर्नुभयो । घरका मान्छेलाई ढाँटेरै उहाँले प्रवेश परीक्षा दिनुभयो । घरकाले स्कुलमा फोन गरेर ‘अमृत आएको छ भनेर सोधे भने आएको छैन’ भन्दिनु भनेर शिक्षकलाई भन्नुभयो । 

त्यसरी मेहनेत गरेर १२ कक्षासम्म कृषी प्राविधिक पढेका अमृत अहिले प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना मकै जोन फलेवासमा जागिर खाइरहनुभएको छ  । 

‘आफ्नै गाउँमा प्राविधिक शिक्षा पढ्न पाएँ, आफ्नै गाउँमा जागिर पनि पाएँ, मलाई निकै खुसी लागेको छ, सबै ठाउँमा यस्तै भैदिए सायद हाम्रा दाजुभाइ विदेश जानु पर्दैनथियो होला’ अमृतले भन्नुभयो । 

उहाँले अहिले गाउँमा कसैको बालीमा रोग लागेमा  घरघरै पुगेर सेवा दिनुहुन्छ । घरमा परिवारसँगै बसेर गाउँमै जागिर खाने अवसर जुटेकोमा उहाँ मख्ख हुनुहुन्छ । 

नयाँ विद्यार्थी भन्छन् : ठूलो फार्म खोल्ने हो, गाउँमै केही गर्ने हो

अहिले ८२ जना विद्यार्थीले माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षा पढिरहेका छन् । त्यसैमध्येकी एक हुन्, एलिजा सापकोटा । अहिले एसईई परीक्षा दिएर बसेकी एलिजाको धोको छ, गाउँमै ठूलो कृषि फार्म खोल्ने अनि केहीलाई रोजगारी दिने, बाबुआमाको सेवा गर्ने । 

‘मलाई कृषि पढ्न खुब रमाइलो लागिरहेको छ, पढाई सकेपछि मैले एउटा फार्म खोल्ने होे, १०/१२ जनालाई रोजगारी दिने हो, अनि घरमै बुवाआमाको सेवा गर्ने हो’ एलिजाले भन्नुभयो, ‘धेरैजनाले कृषि पेशा भनेपछि नाक खुम्च्याउछन्, तर मलाई भने कृषि खुब मन पर्छ ।’

आफूभन्दा अघिल्ला ब्याचका दाइ दिदीहरुले यै स्कुलमा पढेर गाउँमै सञ्चालित परियोजनामा जागिर खाएको देखेपछि झन् उत्साहत जागेको एलिजाको भनाई छ । 

केही सहयोग भएको छ, अझै धेरै सहयोग चाहिन्छ : प्रधानाध्यापक

विद्यालयलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना फलेवासले सहयोग गर्दै आएको । गएका दुई वटा आर्थिक वर्षमा पाँच पाँच लाख रुपैँयाका दरले परियोजनाले विद्यालयलाई सहयोग गरेको थियो । त्यो सहयोग रकमबाट विद्यालयले टनेल, माछापोखरी, मिनी ट्रेलर, ट्रयाक्कर, कुटो कोदालो लगायतका सामग्री खरिद गरेको छ ।

तर सहयोग कम भएकाले कार्यक्रम थप्न नसकिएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजाल बताउनहुुन्छ । ‘हामीले जसोतसो कृषि प्राविधिक कक्षा चलाइरहेका छौं, यहाँबाट पास भएर गएका भाइबहिनीले जागिर पनि खाइरहेका छन्, तर हामीलाई अझै राम्रो गर्नको लागि स्रोतको अभाव छ, त्यसैले हामीले स्रोतको अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो । 

नेपालमा व्यवहारिक शिक्षा भएन, सैद्दान्तिक र घोकन्ते शिक्षा मात्रै भयो भनेर धेरै आलोचना हुन्छ । तर देशभित्रै केही यस्ता विद्यालय छन्, जस्ले स्कुलमै प्राविधिक शिक्षा दिएर गाउँमै जागिर खाने मेलो मिलाइदिएका छन् ।

पर्वत फलेवासको मुडिकुवामा रहेको माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यामिक विद्यालयले पनि कृषि प्राविधिक शिक्षा दिएर नमुना काम गरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया