का‌ंग्रेसले प्रदेश ३ को संसद अवरुद्ध गर्‍यो, राजधानी र प्रदेशकाे नामाकरण प्रक्रिया सुरु गर्न माग

 बैशाख ३०, २०७६ सोमबार १५:१३:१९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध गरेको छ । 

सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्रहरु पढेर सुनाउनुभयो । वर्षे अधिवेशनको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गरेलगत्तै संसदको अरु काम कारबाही गर्न नदिनका लागि कांग्रेसका सांसदले उठेर संसद अवरुद्ध गरेका थिए । सभामुख श्रेष्ठले कांग्रेस सांसदलाई बस्नका लागि आग्रह गरे पनि राजधानीको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बताउनुभयो । 

प्रदेश ३ मा दुईतिहाइको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषयलाई पछाडि धकेल्दै लगेको भन्दै रुष्ट भएका कांग्रेस सांसदले बैठक अवरुद्ध गरेका थिए । राजधानी र नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद बैठक चल्न नदिने नेता बानियाँले बताउनुभयो । 

यस अघि नै प्रदेश राजधानी र नामाकरणको प्रक्रिया वर्षे अधिवेशनमा सुरु गर्ने भनिए पनि त्यो  विषयले सोमबारको बैठकमा पनि प्रवेश पाएन । 

यता सत्तारुढ दल नेकपाका संसदीय दलका उप नेता शालिकराम जमरकट्टेलले कांग्रेसले संसद अबरुद्ध गरेर अमर्यादित काम गरेको बताउनुभयो । राजधानी तोकिनुपर्छ भनेर आफूहरुले पनि आवाज उठाएकाले यो विषयको टुङ्गो वर्षे अधिवेशनबाट लगाइने उहाँले बताउनुभयो । 

प्रदेश राजधानीको विषयमा हेटौडाजत्तिकै विवादित भएको प्रदेश १ को विराटनगरमा राजधानी तोकिसकियो तर प्रदेश ३ को हेटौडामा राजधानी तोक्न भने अझै सकिएको छैन । 

प्रदेश सभा गठन भएको एक वर्ष नाघिसक्दासमेत राजधानीको विषयले प्रवेश नपाएको भन्दै कांग्रेसले यसअघि नै संसद अवरुद्ध गर्ने चेतावनी दिइसकेको थियो । 
       

 
 

अन्तिम अपडेट: चैत ७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया