मेडिकल कलेजका चिकित्सक र विद्यार्थी नै लागुऔषध दुर्व्यसनमा

 बैशाख ३०, २०७६ सोमबार १८:४१:० | रासस
unn.prixa.net

बाँके - नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबीबीएसमा अध्ययनरत विद्यार्थीले नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ । 

अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको सङ्ख्या धेरै रहेको अनुमान गरिएको छ । चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ । डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन् ।

प्रहरीका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा बहालवाला चिकित्सक र एमबीबीएसमा अध्ययनरत विद्यार्थी लागुऔषध दुर्व्यसनमा फसेका छन् । यसको आँकडा धेरै छ । मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन् । प्रहरी अहिले मेडिकल कलेजभित्रको अनुसन्धानमा जुटेको छ ।

झण्डै १२ जनाभन्दा बढी चिकित्सक तथा कलेजमा अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोहलपुर शिक्षण अस्पतालमा गाँजा र चरेस सेवन गर्नेको सङ्ख्या त झन् धेरै छ । अस्पताल हाताभित्रै त्यसका अवशेष मज्जाले भेटिन्छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबीबीएस अध्ययनरत दुई जना विद्यार्थीलाई लागुऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गरेपछि यो रहस्य थाहा भएको हो । 

भारतको सीमा बजार रुपेडियाबाट लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमबीबीएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अङ्कुर शर्मालाई पक्राउ गरेको थियो भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका तत्कालीन प्रशासन प्रमुख अरविन्द शर्मा पनि लागुऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट नै पक्राउ परेका थिए ।  

मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागुऔषधसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागुऔषधको प्रयोग र कारोबार हुन्छ भन्ने प्रमाणित भएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गरेको फेला परेपछि अस्पतालले दिने शिक्षा र उपचार सेवामा ढुक्क हुन्न सकिन्न ।   

उपभोक्ता हकहित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा लागुऔषध दुर्व्यसन तथा कारोबर हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले एमबीबीएसमा अध्ययन गर्ने विद्यार्थीले लागुऔषधको प्रयोग गर्दा सिङ्गो स्वास्थ्य क्षेत्रमा असर पर्ने बताउनुभयो । आफै कुलतमा परेको चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने उहाँको भनाइ छ । 

“बिरामी जाँच्ने चिकित्सक नै लागुऔषधको कुलतमा फसेपछि उसले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने कुरै आउँदैन”, उहाँले भन्नुभयो । कानुन व्यवसायीसमेत रहनुभएका गौतमले लागुऔषध कारोबारीले शिक्षा क्षेत्रमा कारोबार बढाएर शिक्षा क्षेत्रलाई तहस नहस बनाउन खोजेको दाबी गर्दै यसले सिङ्गो शिक्षा क्षेत्र धमिल्याएको बताउनुभयो । 

“लागुऔषधले शैक्षिक वातावरण बिग्रिनुका साथै विद्यार्थीको भविष्य अन्योलपूर्ण देखिन्छ”, गौतमले भन्नुभयो । राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाइँले एमबीबीएसमा अध्ययनरत विद्यार्थी नै लागुऔषध दुर्व्सनमा फस्नु दुर्भाग्य भएको बताउनुभयो । यस्ता विद्यार्थीले भविष्यमा दिने सेवामाथि आशङ्का उब्जाएको उहाँको भनाइ छ । 

“राम्रा र जेहेन्दार विद्यार्थीले मात्र एमबीबीएस पढ्छन् भन्ने आमसमुदायको मानसिकतामाथि यसले नकारात्मक सन्देश दिएको छ”, उहाँले भन्नुभयो । एमबीबीएस अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्दा गुणस्तरीय शिक्षा लिन नसक्ने भएकाले भविष्यमा उसले दिने स्वास्थ्य सेवामाथि पनि प्रश्न चिह्न खडा भएको छ । 

“स्वास्थ्य सेवा दिनका लागि अध्ययन गरिरहेका विद्यार्थीले राम्रोसँग पढेन भने उसले दिने सेवा कस्तो होला”, उहाँले भन्नुभयो । प्रदेश नं ५ नेपाल प्रहरीका लागुऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबीबीएसमा अध्ययनरत १२ भन्दा बढी विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको बताउनुभयो । 

“हाम्रो अनुसन्धानले त्यहाँ अध्ययनरत केही विद्यार्थीले लागुऔषध प्रयोग गर्छन् भन्ने प्रमाणित भएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका दुवैजना प्रयोगकर्ता भएको अनुसन्धानबाट खुलेको छ ।”

मेडिकल कलेज व्यवस्थापन समिति र कलेजका प्रबन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै प्रहरी निरीक्षक थापाले कुलतमा फसेका विद्यार्थीलाई सही बाटोमा ल्याउन र कारबाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो । “सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र लागुऔषध प्रयोगकर्ता विद्यार्थीलाई सचेत गराउने प्रतिबद्धता अस्पताल प्रशासनले दिएको छ”, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया