मिडिया काउन्सिलसम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सहयाेग गर्छु : राष्ट्रियसभा अध्यक्ष

 बैशाख ३०, २०७६ सोमबार १७:५७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै -  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरबारमा त्यस विधेयकमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएका नेपाल पत्रकार महासंघको नेतृत्वसँग सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै त्यस विधेयकलाई पारित गराउने पनि स्पष्ट पार्नु भयो ।

उहाँले त्यस विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउनका लागि संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गर्न पनि महासंघको नेतृत्वको ध्यानाकर्षण गराउनु भयो । लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पुरक भएकाले त्यसको विरुद्धमा जाने कामलाई संघीय संसदले आफ्नो विधि र प्रक्रिया भित्रै रहेर सच्याउने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाले त्याे विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल हुने भएकाले त्यसमा नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायसँग छलफलका लागि पर्याप्त समय दिन आफूले पहल गर्ने पनि बताउनुभयो । उहाँले सरकारले ल्याएको कुनै पनि विधेयक संसदमा प्रशस्त छललफल गरेर मात्रै पारित हुने विधि र प्रक्रियाका विषयमा पनि महासंघको नेतृत्वलाई स्मरण गराउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भने महासंघसहित सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको विधेयक रोक्न अध्यक्ष तिमिल्सिनाको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले लोकतन्त्रमा पनि सरकारले प्रेस स्वतन्त्रा विरोधी प्रावधान राखेर कानुन बनाउन लागेकाले महासंघले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको पनि स्पष्ट पार्नु यो ।

त्याे विधेयकमा ‘कुनै व्यक्तिको मानहानी हुनेगरी समाचार सम्प्रेषण गरिए १० हजारदेखि १० लाखसम्म जरिबाना हुने’ प्रावधान राखिएकोमा नेपाल पत्रकार महासंघको आपत्ति छ । महासंघले विज्ञान तथा सूचना प्रविधिसम्बन्धी विधेयक पनि संविधानको प्रावधानविपरीत आएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया