डोटी कारागारमा पुस्तकालय स्थापना

 बैशाख ३०, २०७६ सोमबार २०:२५:५५ | विमल बिष्ट
unn.prixa.net

डोटी- जिल्ला कारागार डोटीमा पुस्तकालयकाे स्थापना गरिएकाे छ । कैदीबन्दीहरुलाई बाह्य ज्ञान हासिल गर्न सहयोग होस् र सकारात्मक सोचाइको विकास होस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय डोटीको पहलमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय डोटीको पहलमा स्थापना गरिएको पुस्तकालयको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।

पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले जिल्ला प्रहरी कार्यालयले खोलेको पुस्तकालयबाट कैदीबन्दीहरुले बाह्य ज्ञान हासिल गर्नसक्ने र उनीहरुको पढाई क्षमताको विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुस्तकालय नहुँदा कैदीबन्दीहरुलाई बाहिर हुने गरेका गतिविधिमा ज्ञान भएको थिएन, अब बाहिर हुने र भए गरेका कामको बारेमा उनीहरुलाई जानकारी हुनेछ ।’ 

कैदीबन्दीका नाइके दीपेन्द्र जेठराले कारागारमा पुस्तकालय स्थापना भएसँगै बाहिरी ज्ञान हासिल गर्ने अवसर पाएको बताउनुभयाे । 

कुल २५ जना कैदीबन्दीको क्षमता रहेको डोटी जिल्ला कारागारमा हाल ५१ जना कैदीबन्दी रहेका छन् । राणाकालमा स्थापना भएको कारागार भवनको अवस्था नाजुक छ । पानी पर्दा पाल टाँगेर सुत्न बाध्य भएको कैदीबन्दीको गुनासो रहेको छ । कैदीबन्दी बढी भएका कारण शौचालय जान पनि पालो कुर्नुपर्ने अवस्था छ । 

नयाँ भवन निर्माण गर्न समय लाग्ने भएका कारण तत्काल मर्मतका लागि आफूले नगरपालिकाको तर्फबाट पहल गर्ने नगरप्रमुख मञ्जु मलासीले बताउनुभएको छ । डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले कारागारको अवस्था हेर्दा आफू जहिले पनि भावुक हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भवनको अवस्था दयनीय छ, कतिबेला भत्किन्छ र दुर्घटना निम्तिन्छ भन्ने चिन्ता छ, नयाँ भवन नबनाइ नहुने अवस्था छ ।’
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया