२० वर्ष साउदीमा काम गरेका ‘चाउरे’ बाजेको अनुभव : जति दुःख भए पनि नेपालमै बेस

 बैशाख ३१, २०७६ मंगलबार १५:३७:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

‘दुई जना मान्छे भए भने बोल्छन् र समय खेर फाल्छन् भनेर एक जनालाई वल्लो कुनामा, अर्कोलाई पल्लो कुनामा राखिदिन्थ्यो, दिनभरि कोहीसँग पनि बोल्न नपाउने, जेलमा त बोल्न पाइन्छ बरु, तर त्यो फार्ममा भने कोहीसँग बोल्न नपाइने, त्यस्ता निर्दयी पनि मान्छे ।’

कास्कीको हेम्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको हाइटेक टनेल फार्ममा काँक्रा तौलँदै गरेका खड्कबहादुर छन्त्यालले २६ वर्षअघि साउदीको बसाइ सम्झनुभयो । 

अरु विदेशबाट फर्कने उमेरमा म्याग्दी मलम्पारका खड्कबहादुरलाई विदेश हानिनुपर्ने बाध्यता आइलाग्यो ।  ४० कटेपछि रमाउने भन्ने गीतको भाव विपरीत उहाँ ४० वर्षकै उमेरमा साउदी पुग्नुभयो । साउदीमा २० वर्ष काम गर्दाका दुःख यता नेपालमा सुनाउन मन त लाग्दैन । तर कहिलेकाहीँ उहाँलाई लाग्छ, दुःख सुनाए मन हलुको हुन्छ । 

खड्कबहादुरका पाँच भाइ कोही भारतीय सेनामा जागिरे, कोही बेलायती सेनामा  । तर उहाँ भने भैंसी गोठालो । छोराछोरीलाई कसरी पाल्ने र पढाउने भनेर उहाँलाई पर्नु पीर परेको थियो ।

खड्कबहादुर भन्नुहुनन्छ, ‘अरु सबै भाइ लाहुरे, मचाहिँ चाउरे भएँ, ४० को उमेरसम्म गाउँमा भैँसी गोठालो बसेँ, तर यसो सोच्दा यसरी पार लाग्दैन भनेपछि पासपोर्ट बनाएर म २०५० सालमा साउदी अरब हानिएँ ।’ 

म्याग्दीको मलम्पार लेकमा चिसो हावा खाँदै भैंसी चराउने र आँटोपिठो खाने खड्कबहादुर  साउदीको मरुभूमिमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा काम गर्नुपर्ने भएपछि पीडामै हुनुहुन्थ्यो । तर बाध्यताले परेको जे पनि गर्नुपर्ने भयो । 

‘मैले फागुनमा लेकतिर भैंसी लगेर जान्थेँ, पुसमा मात्रै गाउँ झर्थेँ, मलाई त्यही जिन्दगी रमाइलो थियो, तर त्यो रमाइलो छाड्नुको अर्को कुनै बाटो देखेको थिइनँ’, उहाँले सम्झनुभयो ।

पासपोर्ट बनेको १७ दिनमा त उहाँ साउदी पुगिसक्नुभएको थियो । मासिक ४ सय रियाल तलबमा काम पाउनुभएको थियो, एउटा तरकारी फार्ममा । ‘सुरुमा म त्यहाँको गर्मीले कति धेरै आत्तिएको थिएँ, यहाँ चिसो सिरेटोमा हुर्केको मलाई त्यहाँको गर्मीले झण्डै मार्‍यो, त्यही बेला थाहा पाएँ, नेपाल त स्वर्ग पो रहेछ भनेर’ उहाँले मरुभूमिमा काम गर्दाको पीडा सुनाउनुभयो । 

टनेलभित्र काम गर्दा उहाँलाई सकस थियो । तर बिस्तारै बानी पर्दै गयो । टनेलको काममा बिस्तारै हात बस्दै गयो । पहिले भन्दा काम सजिलो लाग्न थाल्यो । तर एकछिन हात खाली राख्न नपाइने । 

‘हुरुरु गाडी आउने, गाडी आउनेबित्तिकै टिपेका सागपात र फलफूल केके छन्, जम्मै गाडीमा राख्नुपर्ने । एउटा गाडी गयो, यस्सो विश्राम गरौं भनेको अर्को गाडी आइहाल्ने । मेरी आम्मै हात त खाली राख्नै नपाउने’,  मुसुक्क हाँस्दै छन्त्यालले साउदीको अनुभव सुनाउनुभयो । 

नेपालीले धेरै नै काम गर्छन् भनेर नै धेरै देशले नेपालीलाई नै लैजान जोडबल गर्छन् । छन्त्यालले पनि अरु देशका कामदारले भन्दा धेरै नै काम गर्नुहुन्थ्यो । तर उहाँलाई सबैभन्दा नमज्जा लागेको चाहिँ कामको बेला अरुसँग बोल्न पनि नदिने कम्पनीको नियम । 

‘काम गरेको गर्यै गर्नुपर्ने, गाडी आएको आयै, हर्न बजाएको बजायै, एकछिन फुर्सद नहुने । कुरा गरेर काममा बाधा पार्छन् भनेर साहुले एउटै देश र एउटै भाषा बोल्नेहरुलाई एकै ठाउँ राख्दैनथ्यो’, उ बेलाको कुरा सम्झेर छन्त्यालले गम्भीर हुँदै भन्नुभयो, ‘यहाँ त अरुसँग बात गर्न पाइन्छ, उता त पाउँदैन । बोलेको देख्यो कि खाउँला जस्तै गर्ने साहुजी ।  दुई जना छ भने एउटालाई एउटा टुप्पा, अर्कोलाई अर्को टुप्पोमा पुर्‍याइदिने ।’

साउदीमा नियमित काम सके पनि नचाहिने काम लगाएर साहुले हैरान पारेका घटना खड्क छन्त्याललाई अहिले जस्तै लाग्छ । ‘बसेको देख्यो भने यो साग उखेल्न पर्‍यो, साग पखाल्नुपर्‍यो, अंगुर टिप्नु पर्‍यो, अंगुरका हाँगा काट, टमाटरको हाँगा काट, पात बटुल यस्ता कति काम लगाउने हो कति लगाउने ।

सुरुमा ४ सय रियाल मासिक तलबमा सम्झौता गरेर साउदी गएका छन्त्यालको तलब बिस्तारै बढ्दै गएको थियो । २०७० सालमा त उहाँको तलब ६० हजार रुपैँयासम्म पुगेको थियो । 

‘तलब त बढ्दै गएको थियो, तर अब त बुढेसकाल लाग्यो, आफ्नै  देश जानुपर्छ भनेर नेपाल फर्किएँ, साउदीमा २० वर्ष बस्दाका कुरा तपाइँहरुसँग २÷४ घन्टामा बताउन कसरी सकिन्छ र ?’ उहाँ हाँस्नुभयो ।

साउदीको कमाइ : बुटवल र हेम्जामा घर, छोराछोरीको छैन भर

४० वर्षदेखि ६० वर्षको उमेरसम्म २० वर्ष साउदी अरबमा काम गरेका खड्कबहादुर छन्त्यालले रुपन्देहीको बुटवल र कास्कीको हेम्जामा घर बनाउनुभएको छ ।दुई वटा घर बनाए पनि घरमा बुढाबुढी मात्रै  । जेठा छोरा साउदीमै छन् । कान्छो छोरा र बुहारी काठमाण्डौ बस्छन् । ३ वटी छोरीको बिहे भैसक्यो । 

हेम्जाको म्याग्दे चोकमा रहेको घरमा केही आफन्त सहित छन्त्यालका श्रीमान श्रीमती बस्नुहुन्छ । ‘जति छोराछोरी भए पनि बुढेसकालमा एक्लै बस्नुपर्ने रहेछ, कोही कता कोही कता, यस्तै त रहेछ ’ छन्त्यालको अनुहार मलिन भयो । 

‘मरेर लैजानु केही छैन,  हातखुट्टा चलुञ्जेल काम गर्ने हो’

‘ए बाबु मान्छेलाई पैसाले कहिले पनि नपुग्ने रहेछ, मरेर सर्लक्क खोलामुनि गएपछि सकिन्छ, तर बाचुञ्जेल कहिल्यै पनि पैसाले नपुग्ने रहेछ, यो मन कहिले पनि बुझ्ने रहेनछ ।’  हेम्जाको हाइटेक टनेलमा काँक्रा छान्दै छन्त्यालले भन्नुभयो । 

टनेलमा उहाँले ३ वटा मेसिन चलाउने, पानी लगाउने, किरा मार्ने, तरकारी र फलफूल टिपेर  तौलने, बजार पुर्‍याउने,  बत्ती बनाउने र समग्र टनेलको रेखदेख गर्ने जम्मै काम गर्नुहुन्छ । ६६ वर्षको उमेरमा उहाँले मासिक १५ हजार रुपैयाँ कमाउनुहुन्छ । 

‘खाना खाजा खान नजिकैको घरमा जान्छु, दिनभरि घरमा बसेर पनि के गर्नु छ र, जानेको काम हो, दैलाको छेउमा पाएको जागिर ठिकै हो भनेर काम गरिरहेको छु’ हँसिलो अनुहारमा कपाल कन्याउँदै छन्त्यालले भन्नुभयो, ‘अझै ६, ७ वर्ष त काम गर्छु, हातखुट्टा चलुञ्जेल बसेर खाने होइन, बस्यो भने छिट्टै बुढो भइन्छ ।’

म्याग्दीका लेकमा भैँसी चराउनेदेखि २० वर्षे साउदीको बसाई अनि अहिले हेम्जाको घर अनि फेरि गाउँमै  जागिर खाएका खड्कबहादुरले छुट्टिने बेलामा भन्नुभयो,  ‘कहिले मर्ने हो थाहा छैन, तर बाचुञ्जेलका हण्डर ठक्कर सबैले भोग्नुपर्ने रहेछ, मेरो पनि त्यस्तै भएको हो ।’


 

अन्तिम अपडेट: जेठ १०, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया