फ्रेन्डस् क्लबलाई हराउँदै एपीएफ क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

 बैशाख ३१, २०७६ मंगलबार १९:२०:१५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटामा सञ्चालन भइरहेको शहीद भीमनारायण गोल्डकप प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा एपीएफ क्लब काठमाण्डौ विजयी भएको छ ।
    
पहिलो चरण अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा एपीएफले ३–० को अन्तरमा फ्रेन्डस् क्लब ललितपुरलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हाे । पहिलो हाफको इन्जुरी समयमा एपीएफका १० नम्बर खेलाडी रवि थिङले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । उनले पहिलो हाफको ४५ औं मिनेटमा गोल गरेका थिए । खेल निक्कै प्रतिस्पर्धात्मक भए पनि फ्रेन्डस् क्लबको फितलो प्रर्दशनको फाइदा उठाउँदै एपीएफले सेमिफाइनलको बाटो तय गरेको हो । 

पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफको ५ मिनेटमा रबि थिङले व्यक्तिगत गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । 

खेलको ३० औं मिनेटमा एपीएफका १५ नम्बर खेलाडी कमल दोङले अर्को गोल गर्दै टीमको जित सुनिश्चित गरे । खेलको म्यान अफ् द म्याच एपीएफका रवि थिङ घोषित भए । 

बुधबारको पहिलो सेमिफाइनल खेल वसन्ध्यावासिनी फुटबल क्लब मोरङ र दाउफिन्स फुटबल क्लब क्यामरुनबीच हुनेछ ।

प्रतियाेगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख नगद प्राप्त गर्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया