सरकारले दिएको रकम भग्नावशेष पन्छाउँदै सकियाे: प्रमुख प्रजापति

 बैशाख ३१, २०७६ मंगलबार २०:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्पबाट पीडितहरुलाई सरकारले दिएको अनुदान रकम भग्नावशेष पन्छाउनै नपुगेको बताउनु भएको छ । 

मंगलबार भक्तपुर नगरमा क्षति भएका निजी घरहरु पुनःनिर्माण सम्बन्धमा भक्तपुर नगरपालिका, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, केन्द्रीय  अनुदान व्यवस्थापन तथा पूर्वाधार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गुठी संस्थान र सम्बन्धित परामर्शदाताहरुको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । 

कार्यक्रममा उहाँले सरकारले उपलब्ध गराएको अनुदानको पहिलो किस्ताको रकम भग्नावशेष पन्छाउन नै अपुग भएको बताउदै सरकारले दिने सहुलियतमा घर बनाउन नसक्ने भूकम्पपीडित लक्षित कार्यक्रम सरकारले ल्याउनुपर्ने बताउनु भयो । भूकम्पपीडित जनतालाई प्रदान गरिने अनुदानको रकम ३ लाखबाट बढाउनु पर्ने र निजी घर पुनःनिर्माण गर्न एकमुष्ठ रकमको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । 

भक्तपुर नगरपालिकाले मापदण्डअनुसार घर बनाएका भूकम्प पीडितहरुले घर निर्माण गर्दा माटो जोडाइमा १०० प्रतिशत र सिमेन्ट जोडाइमा ७५ प्रतिशतसम्म नक्सा दस्तुर छुट दिँदै आएको बताउँदै उहाँले नगरको पुरानो बस्तीमा परम्परागत शैलीमा घर निर्माण गर्नेलाई मोहडामा इँटा र काठमा लाग्ने कूल खर्चको ३५ प्रतिशत नगरपालिकाले अनुदान दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रकृष्ण श्रेष्ठले मुद्दा भएका भूकम्प पीडितलाई घर बनाउन नगरपालिकाले अभिलेखीकरण गरी सहयोग गनुपर्ने बताउदैसामूहिक स्वामित्वका घर भएका भूकम्प पीडितलाई सोही बमोजिम घर पुनःनिर्माण गर्न सकिने गरी अनुदानको व्यवस्था मिलाउने प्रक्रियामा सरकार रहेको बताउनुभयो । 
    
त्यस अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरका प्रमुख ध्रुव गैंडा, गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदी, भक्तपुर नपा वडा नं- ७ का वडाध्यक्ष उकेश कवां, वडा नं- ८ का वडाध्यक्ष महेन्द्र खायमली लगायतले पुर्ननिर्माणमा आइपरेका समस्या र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया