सुरु हुन सकेन पोखरा–विराटनगर हवाई उडान

 जेठ १, २०७६ बुधबार ८:२२:४३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरबाट पोखरा जहाज उडानको विषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । प्रदेश सरकारले काम सुरु गरेसँगै विराटनगरबाट पोखरा उडानको विषयले चर्चा पाएको थियो । गएको जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका थिए ।

यो बिषय छलफल भएको एक वर्ष पूरा भएको छ । तर त्यसयता विमान पोखरा उडान गर्ने बारेमा कुनै पनि छलफल अगाडि बढेको छैन । यो विषय अहिले ओझेलमा परेको छ ।

७२ सिटे जहाजले विराटनगरबाट पोखरा उडान गर्न सक्नेछ । भारतीय पर्यटकलाई हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने उद्धेश्यकासाथ विराटनगर पोखरा उडान गर्न सकिने पर्यटन व्यवसायीको तर्क छ तर पर्यटन ब्यवसायी पनि यस विषयमा गम्भीर देखिएका छैनन् ।

के मा समस्या आयो ?

एक बर्ष अगाडि प्रदेश सरकार, संघीय सरकारका मन्त्री, नागरिक उड्ययन प्राधिकरण तथा सरोकारवाला एजेन्सीबीचमा भएको छलफलले विराटनगर–पोखरा उडान गर्न सक्ने निष्कर्ष निकाल्यो । तर एक वर्ष बित्दा समेत यसले सार्थकता पाउन सकेन । विराटनगरबाट पोखरा उडान भर्ने विषय चर्चामा मात्र आएर सेलाएको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाले कुनै पनि विमान कम्पनीले बिराटनगरबाट पोखरा उडान भर्नका लागि चासो नदिएको बताउनुभयो । संरचनामामा समस्या नभए पनि विमान कम्पनीहरु नै तयार नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विमान कम्पनीले इच्छा देखाउनु प¥यो  पूर्वाधार बढी चाहिँदैन, समय तालिका स्वीकृति गरेपछि पुग्छ ।’

विराटनगरबाट पोखरा उडानका लागि बंगलादेश, भारत लगायतका स्थानका यात्रु प्रशस्तै हुने छन् भने  एनजीओ, आईएनजिओ तथा कर्मचारीहरु र घुमफिरको लागि पोखरा जानेहरुले विमानको सहजै सेवा लिन सक्ने प्राधिकरणको ठम्याइ छ । तर समस्या विमान कम्पनीहरु उडानका लागि कुनै पनि तयार छैनन् ।

उनीहरुको समस्या भने नियमित उडानका लागि यात्रु नै नपाइएला भन्ने नै छ । कति यात्रु प्रदेश १ का विभिन्न जिल्लाबाट पोखरा जान्छन्, उनीहरु विमानमा यात्रा गर्न सक्षम छन् की छैनन् भन्ने तथ्यांक नै नहुँदा विराटनगर–पोखरा उडान सुरु हुन नसकेको बुद्ध एयर विराटनगरका म्यानेजर कौशल भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार,  अहिले बिराटनगरबाट पोखरा उडान गर्न सक्ने भनेका यती र बुद्ध एयर मात्र हुन् । तर तत्कालको लागि विराटनगरबाट  पोखरा उडानको सम्भावना छैन ।’

बुद्ध एयर नयाँ जहाज खरिद पछि मात्र चल्न सक्ने बताउँछ ।  बुद्ध एयरको एयर क्राफ्ट ७२ सिटे विमान आएपछि त्यसको ‘नाइट स्टे’ विराटनगर हुने र त्यसपछि पोखरा उडान हुनसक्ने भण्डारीको भनाइ छ ।  ‘अहिले तत्काल संभावना छैन’ भण्डारीले भन्नुभयो । 

पर्यटन व्यवसायी, ट्राभल्स एजेन्सीहरुले चासो दिएपछि पोखरा उडानको विषय चर्चामा आएको हो । तर अहिले पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्सीहरु पनि यस विषयलाई लिएर चासो दिइरहेका छैनन् ।

हार खाएका पर्यटन व्यवसायी 

विराटनगरका पर्यटन व्यवसायीहरु भने कसैले सहयोग नगरेपछि हार खाएर बसेका छन्  । पर्यटन व्यवसायीहरु मिलेर सुरु गरेको माउण्टेन फ्लाइट समेत नियमित हुन सकेन । ४ पटक माउण्टेन फ्लाइट उडाएका स्थानीय पर्यटन व्यवसायीले त्यसपछि खर्च धान्न सकेनन् र बन्द भयो । 

पर्यटन ब्यवसायी भविश श्रेष्ठले माउण्टेन फ्लाइट सुरु गरे पनि कसैले सहयोग नगरेको गुनासो गर्नुभयो  । 

पोखरा उडानको विषय हल्लाको विषयमात्र बनाइयो । श्रेष्ठले भन्नुभयो ‘यो विषयलाई कसैले पनि चासो दिएनन् ।’ पहिला उत्पादन बजारमा ल्याएपछि त्यसको बजार खोज्ने काममा आफूहरु लाग्ने पर्यटन व्यवसायी बताउँछन् । अहिले तत्काललाई विराटनगरबाट पोखरा हप्तामा एउटा शुक्रबार मात्र उडान गर्ने हो भने शुक्रबार गएर शनिबार बसेर आइतबार फर्कने यात्रुहरु प्रसस्तै रहेको श्रेष्ठले तर्क गर्नुभयो ।

उडान हुन नसकेको पहाडी रुट

प्रदेश १ का धेरै विमानस्थलहरु अहिले घाँसे मैदान बन्ने तयारीमा छन् । विराटनगरबाट पहाडी रुटका तुम्लिङटार बाहेक कतै पनि उडान हुँदैन । बुद्धले संखुवासभाको तुम्लिङटार उडान गर्ने गरेको भए पनि त्यो बाहेक ११ वटा विमानस्थलहरुमा विराटनगरबाट उडानै हुँदैन ।

सुकेटार, लामीडाँडा, रुम्जाटार, फाप्लु, थामखर्क, खानीडाँडा, लुक्लालगायतका कुनै पनि विमानस्थलहरुमा विराटनगरबाट उडान हुँदैन । सोलु, खोटाङ, ताप्लेजुङ, भोजपुर तथा ओखलढुङ्गाका विमानस्थलहरुमा पनि विराटनगरबाट उडान हुन सकेको छैन । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया