ढल मिसिएको बागमती र फोहोर मिसिएको राजनीति !

 जेठ १, २०७६ बुधबार १२:७:३८ | जानुका दुवाडी
unn.prixa.net

नागरिकको शासन भनिएको गणतन्त्र आएको झण्डै ११ वर्ष पुग्न केही दिन मात्र बाँकी रहँदा बागमती सफाई महाअभियान ३ सय १३ औं हप्तामा पुगेछ । यस बीचमा नागरिकले गणतन्त्र आइसकेपछि अब आफ्ना दिन फेरिन्छन् भन्ने सपना कम्तिमा  हजारौं पटक देखिसकेको अनुमान लगाउँदै गर्दा बागमतीमा पनि कम्तिमा ३ सय १३ भन्दा धेरै पटक सफाइ भइसकेको छ । औंला भाँचेर गणना जति नै पुर्‍याए पनि न बागमतीको पानी सङ्लो भएको छ, न देशको राजनीति नै ।

लगानी र श्रमको कुरा गर्ने हो भने बागमती सफाइमा हजारौं अभियन्ता र बागमतीप्रति आस्थावानहरुले करोडौंको लगानी गरेजस्तै यो देशमा परिवर्तन ल्याउन सयौंको बलिदानी र संघर्ष मिसिएको छ । त्योभन्दा धेरै नयाँ नेपाल बनाउने र परिवर्तनका नाममा ब्यानर झुण्ड्याएका दशौं पार्टी, पचासौं संगठन र सयौं सामाजिक संस्थाहरु पालिएका छन् । टाढाबाट सबै ब्यानरहरु एकदमै सुन्दर र साँच्चै नै क्रान्तिकारी देखिन्छन् । तर हेर्दै जाँदा प्रायः सबैजसो एकै किसिमको स्वार्थ र ‘म’ वादको रोगबाट ग्रस्त हुन्छन् ।

सरसफाइ महाअभियानको ३ सय १३ हप्ता पुगेको समाचार पढी र सुनिसकेपछि बागमतीको रुप हेर्न मन लाग्यो । हुन त बस चढेर मुख्य सडकबाटै पनि जान सकिने भए पनि मलाई बागमती किनार भएरै हिँड्न मन लाग्यो । नदी सफाईमा थुप्रै हप्ता आफू पनि प्रत्यक्ष सहभागी भएकोले होला साँच्चै बागमती कति सफा भएको रहेछ भनेर हेर्न हुटहुटी बढ्यो । 

मेरो मात्रै होइन मजस्ता फोटो खिच्न जाने पत्रकार, सफाइ गर्न जाने अभियन्ता, आफ्नो संस्थाको प्रचार गर्न ब्यानर बोकेर जाने एनजीओ आईएनजीओवाला, अभियानमा ऐक्यबद्धता जनाउन जाने नेता कार्यकर्तादेखि, फेसबुकमा सेल्फी चढाउन जाने सेल्फीवालासम्म लाखाैँ जनाको श्रम र लगानी लागिसकेको अभियानप्रति मेरो मात्रै होइन, जो कोहीको  पनि चासो रहनु स्वभाविकै हो ।

थापाथलीको पुलछेउबाट अगाडि लागेपछि म बाग्मती किनारै – किनार अगाडि बढें । बेलाबेला सडकमा आँखा घुमाए पनि मेरो नजर प्रायः बागमतीमै थियो । मैले विचार गरें, देशमा राणा र पञ्चायतकालमा जस्तो बोल्नै नपाइने र एउटाको सनकको भरमा चल्ने शासन नभएजस्तै बागमतीमा  पनि टाढैबाट देखिने फोहोरको डंगुर रहेनछ हिजोआज ।  परबाट हेर्दा बागमती बगिरहेको देखिन्थ्यो । मलाइ लाग्यो बागमती सफा भएछ क्यारे ।

एकछिन त म झुक्किएँ, राजनीतिक दलका घोषणापत्र पढेर मतादाता झुक्किएजस्तै । अलि अगाडि पुगेपछि म बागमती किनारमा गएँ । सकिनसकी बगिरहेको पानी नियालेँ अनि पो बल्ल थाहा पाएँ हिजोआज बागमतीमा देखिने फोहोरको डंगुर कम भए पनि नजिक जाँदा पानीको दुर्गन्ध उस्तै रहेछ  र मैले/हामीले खोजेको बागमती अझै भेटिने अवस्था रहेनछ ।

मलाई बागमती सङलो नभएकोमा भन्दा पनि अबको पुस्ताले बागमती भनेको फोहोरी खोला हो भन्ने परिभाषा बनाउने हुन कि भन्ने चिन्ता धेरै लाग्यो । जसरी आजको पुस्ताले राजनीति फोहरी खेल हो भन्न थालेका छन् । एकछिन अझै सोचें र सम्झिएँ, त्योभन्दा पनि ठूलो बिडम्बना, पशुपति किनारमा भएकै कारण र बागमतीको पौराणिक धार्मिक महत्व भएको कारण बागमती  थोरै पवित्र पानीसँगै हजारौ घरहरुको ढल पनि पुजिएको छ । जसरी हिजो अधिकार प्राप्तिको लडाईंमा अमूल्य योगदान दिएका बीपी, पुष्पलाल, मदन भण्डारी, गजेन्द्रबाबुहरुको पार्टीको सदस्यता लिएका कारण कयौं गुण्डा, अपराधी धमिलो विगत भएकाहरुलाईसमेत नेता मान्नु परिरहेको छ ।

ढल मिसिएको बागमती र बिचौलिया मिसिएको राजनीति

हामीलाई बागमतीमा धेरै होइन, सफा पानी चाहिएको हो । हामीलाई घरको ढलबाट निस्केको फोहर होइन कि बाग्द्वारबाट निस्कएको पवित्र जल चाहिएको हो  । जस्तै हामीलाई वर्षमा तीन/तीन जना प्रधानमन्त्री फेर्न र एकै पार्टीमा चार/चार गुट चलाउने नेताहरुको बगाल होइन कि देशलाई सही  नीति र दिशानिर्देश गर्न सक्ने असल नेता चाहिएको हो । 

तर बागमती हजारौं घरहरुको ढल मिसिएर प्रदुषित भएजस्तै सयौँ आपराधिक पृष्ठभूमीका व्यक्तिहरु र देशको अस्मितामाथि कुदृष्टि राख्ने व्यक्तिहरुको मिसिएको कारण देशको नेतृत्व गर्ने पार्टीहरु प्रदुषित हुन पुगेका छन् । ढलको पानीले बागमतिको पवित्र पानीलाई समेत दुषित बनाएजस्तै विभिन्न राजनीतिक दलहरुमा रहेका असल नीति र नियत भएका थोरै नेताहरुसमेत खराब मानिसको घेरामा उकुसमुकुुसको अवस्थामा छन् । 

बाग्मती सफा गर्न सबैभन्दा पहिले बागमतीमा मिसिने ढल रोक्नु पर्छ भने राजनीति सफा गर्न राजनीतिक दलहरुमा मिसिने व्यक्तिगत स्वार्थको भकारी बोकेका र अपराधको भारी बोकेकाहरुलाई रोक्नुपर्छ । अनि मात्र स्वच्छ बाग्मती र असल राजनीति पाउन सम्भव छ ।

यस्तै – यस्तै कुराहरु मनमा सोच्दैै किनारै–किनार अगाडि बढ्दै थिएँ, थाहै नपाइ निकै अगाडि पुगिसकेछु । विपरित दिशाबाट आएको गाडीले नजिकै आएर जोडले हर्न बजायो । सायद गाडीले मलाई छेउतिरबाट हिँड्न संकेत गर्दै थियो ।  म झसँग भए । अघि सोच्दै गरेका सारा कुराहरुबाट मेरो ध्यान भङ्ग भयो ।  तर मेरो मनमा एउटा प्रश्न भने अझै पनि बाँकी नै छ – हामी नेपालीले समय र हाम्रो आवश्यकताअनुसार देश चलाउने राजनीति र ढुक्कले छुन मिल्ने बागमती कहिले पाउने होला ? 

अन्तिम अपडेट: साउन ३१, २०७६

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया