एकैछिन पुगेर रमाउनेलाई के थाहा ? छिसगाउँको व्यथा !

खरकाे छानो फालेर टिनले छाउने गाँउलेको सपना अधुरै

 जेठ २, २०७६ बिहिबार १२:२:१२ | देव पचभैया

पाल्पा - फुसले छाएका बुकुरा घर, घर वरिपरि ढुङ्गा छापेर बनाइएका बाटाहरु, २२ घर धुरी रहेको छिस गाउँनिकै सुन्दर र मनमोहक पनि छ । तर एकैछिन पुगेर रमाउनेलाई के थाहा यहाँको व्यथा ? 

झण्डै दुई सय जनसंख्या रहेको पूर्वखोला गाँउपालिका-१ छिसगाँउलाई अभावै अभावले घेरेको छ । न बाटो न बिजुली । अन्धकारमा पिल्सिएको छिसगाँउमा पानीको मुहान नभएपछि घण्टौं हिँड्नु पर्ने बाध्यता छ । सामान्य उपचारका लागि स्वास्थ्यचौकी पनि धेरै टाढा छ । 

दुःखले उब्जाएका अन्नबालीमा बाँदरले रजाइँ गर्ने भएपछि धेरैले त खेतीकिसानी पनि छोडिसके । ‘छोडेर जाने ठाँउ कहीँ छैन, दुखःमात्रै भोग्न लेखेको रैछ क्यारे, छिसगाँउका मान्छेहरुलाई’, ६३ वर्षीय रनबहादुर थापाले भन्नुभयो । 

‘खरको छानो फालेर टिन (जस्ता) टल्केको घरमा बस्ने रहर थियो’, ६८ वर्षीय दुर्गाबहादुर थापाले भन्नुभयो, ‘हामीले त सकेन, छोरा नातिको पनि भाग्य बलियो रैनछ क्यारे, जहाँ गए पनि हन्डरै खाएर घर फर्किन्छन् मात्रै ।’ 

छिसगाउँका प्राय सबै युवा भारत पसेका छन् । मुम्बईमा ११ जना, दिल्लीमा नौ जना, राजस्थानमा छ जना छन् । त्यस्तै साउदी, कतार र मलेसियामा पनि धेरै छन् । दुई महिनाअघि गाँउमा विद्यालय बनाउने भनेर मुम्बईबाट गाउँ फर्किनुभएका सूर्यबहादुर थापाले औँला गन्दै भन्नुभयो, ‘३०-३५ भन्दा धेरै छन्, परदेशमा केटाहरु ।’ 

पुरुषको नाउँमा हामी चार जना मात्रै बुढाहरु छौँ । केटाकेटी, बूढाबूढी र महिलामात्रै छौँ । अहिले गाँउमा विद्यालयको भवन बनाउन १५ जना युवाहरु भारतबाट गाउँआएका छन्, ६३ वर्षीय रन बहादुर थापाले भन्नुभयो । गाउँनजिक जापानिज समाजसेवी ओकेबाजे (काजामासु काकिमी) को सहयोगमा चलेको विद्यालयमा विद्यार्थी नभएपछि गाँउपालिकाले तल खोलाखेतमा विद्यालय सारिदिएको छ । 

भवन बनाउन मान्छे नपाएपछि मुम्बईमा रहेका १२ जनालाई गाउँ फर्काएर स्कुलको भवन तयार गरिएको छिसगाउँको पुष्पस्मृति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सूर्यबहादुर थापाले बताउनुभयो ।  

गाउँमा समाजवेजी ओकेबाजेको मात्रै टिनले छाएको घर छ । कहिलेकाहीँ उनी र उनका आफन्त (जापानिजहरु) आउँदा बस्ने घर गाउँलेहरुले नै बनाइदिएको हुमबहादुर थापाले बताउनुभयो । ‘ओके बाजेले छ ६ वर्षअघि नै गाउँमा सोलारको उज्यालो राखिदिएका छन् । पैसा कमाएर सोलार बाजेलाई फर्काइदिने वाचामा बत्ती बालेका हौँ’, ४१ वर्षीया हुमकान्ती थापाले भन्नुभयो । 

गर्मीयाममा शीतल हुने भए पनि खरको घरगोठमा आगलागीको डर हुने इन्द्रकुमारी रानाले बताउनुभयो । ‘यो बुढेसकालमा केही गर्न सकिँदैन, गाँउमा काम गर्ने मान्छे पनि छैनन्, छोरा बुहारी गाउँनबस्ने भएपछि चुहिएकै घरमा बस्नुपरेको छ’, इन्द्रकुमारीले आफ्नो रहर खुलाउँदै भन्नुभयो, ‘खर फालेर टिन लाउन पाए दुई चार दिन नखाएरै रमाउने थिए ।’ 

खरको छानो नफाल्ने स्थानीय सरकारको योजना 

हात्तीलेकको फेदमा रहेको छिसगाउँको सुन्दरता नै खरले छाएका घरगोठ भएको वडा अध्यक्ष भोगबहादुर सारुले बताउनुभयो । छिसगाँउका खरका घर गोठलाई बचाएर होम स्टे सञ्चालन गर्ने योजना रहेको अध्यक्ष सारुको भनाइ छ । 

‘छिसगाउँ आफैमा लोकसंस्कृतिले धनी मगर गाउँहो’, उहाँले भन्नुभयो, ‘त्यहाँ होमस्टे चलाउनुपर्छ, बरु टिनले छाएको घर बनाउने जनताको सपना हो भने अन्तै घर बनाउन स्थानीय सरकारले सहयोग गर्न सक्छ ।’ 

५२ सालदेखि जनप्रतिनिधि (तत्कालीन सिलुवा गाविसका अध्यक्ष) समेत रहनुभएका अध्यक्ष सारुले छिसगाउँमा बिजुली र बाटो पुर्याउन समेत पहल भैरहेको जानकारी दिनुभयो ।

गाउँपालिकाबाट झण्डै पौने घण्टा कच्ची सडकमा गाडी चढेपछि पुगिने खोलाखेतबाट झण्डै एक घण्टा उकालो पैदलयात्रामा पुगिने छिसगाउँमा कहिले गाडी पुग्ला ?

बिजुलीको उज्यालो अनि गाउँलेको खरको छाना फालेर जस्ताको छानो लाउने सपना कहिले पूरा होला ? वडा सरकारले भनेजस्तो छिसगाउँको होमस्टेमा पाहुनाहरु कहिलेबाट बस्न पाउलान् ? छिसगाउँ पुग्ने जो कोहीलाई यही प्रश्नले घेरिरहन्छ ।

 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया