गलत रगत चढाएर निधन भएकी बालिकाका बुवा भन्छन् : न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन

 जेठ १, २०७६ बुधबार १५:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापर्वाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरी सरकारले न्याय दिलाउनुपर्ने माग गर्नु भएको छ । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौँ । तर, न्याय पाएका छैनौँ । यसले हामीलाई अझै पीडा दिएको छ ।’

शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मिर्गौला ठिक रहेको तर शल्यक्रियापछि दुवै मिर्गौला फेल भएको रिपोर्ट देखाइएको पनि बुवाले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘शल्यक्रिया गरेलगत्तै मिर्गौला  फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेर पनि न्यायका लागि हारगुहारसमेत गरेको उहाँले बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोख्नुभयो । 

उहाँले भन्नुभयो, ‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् ।’उहाँले सोध्नुभयो, ‘अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ?’ 

कार्यक्रममा बालिकाका आफन्त सुरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मुटुको शल्यक्रिया हुँदा मिर्गौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ ।’ 

उहाँले भन्नुभयो, ‘शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा बिरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो । तर, निधनपछि त्यही ठाउँमा टिपेक्स लगाएर २० देखि ३५ प्रतिशत बनाइएको छ ।’

प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदा पनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाउनुभयो । उहाँले थप्नुभयो, ‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौँ । तर, हाम्रो उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन् ।’

आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भए पनि मुद्दा दर्ता नभएको पनि उहाँले सुनाउनुभयो । उहाँले प्रहरी वृत्त महाराजगञ्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाउनुभयो । त्यस्तै, उहाँले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महसुस भैरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरी पनि सँगै थिए ।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारबाही नगरेको उहाँले गुनासो सुनाउनुभयो । 
यस्तो लापर्वाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ । 

तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई त इन्साफ चाहिएको छ । तर, खुरुक्क शव लिएर जान, बढी बोलिस भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो । 

कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घटनामा लापर्वाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृतकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिने पनि जनाउनुभयो । 

भण्डारीले आफूहरुले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाउनुभयो । उनले भने, ‘कानुनको शासनलाई धज्जी उडाउने काम भएको छ ।’ प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उहाँले जोड दिनुभयो । 

अभियन्ता अधिवक्ता घिमिरेले पनि यो घटनाको अनुसन्धानको दायरा अघि बढ्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीले उजुरी लिनुपर्छ ।’घिमिरेले भन्नुभयो, ‘उपचारको क्रममा गलत प्रवृत्ति, गलत उपचार र गलत ग्रुपको रगत दिएर गलत उपचार गरेर लापर्वाहीको कारण निधन भएको भन्ने कुरा आएको छ । ए

उटा अस्पताल, जहाँ नागरिकहरु उपचार गर्न बसेको छ । उनीहरुको लापर्वाहीको कारण कसैको ज्यान जाने अवस्था आउँछ भने उनीहरुले उन्मुक्ति पाउने अवस्था हुँदैन । यसले दुई चार वटा कुरा र फौजदारी आचारसंहिता आकर्षण हुन्छ ।’

 


 

अन्तिम अपडेट: चैत ७, २०८०

2 Comments

  • Binod budhathoki

    May 16, 2019, 3:31 a.m.

    ग़लत र सही ज़ान्ने भएको भए किन हास्पिटल लगेको बहाना ! अर्कों मांछे को कूरा सुनेर डाक्टर सांब माथि लान्छना लगाउंछस् !

  •  0 Reply
  • Gautam Lamichhane

    May 15, 2019, 10:32 p.m.

    धम्की दिनेलाई कारवाही गर्नुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया