गोक्यो हिमतालमा डुबेर हराएका किशोरहरुको खोजी फेरि सुरु (तस्बिरसहित)

 जेठ १, २०७६ बुधबार १९:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – गोक्यो हिमताल तेश्रोमा बेपत्ता भएका २ किशोरको खोजी कार्य बुधबारबाट सुरु भएको छ । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा रहेको तालमा किशोर बेपत्ता भएको झण्डै ९ महिनापछि विदेशी विशेषज्ञ र गोताखोरसहित सशस्त्र प्रहरी बलको संयुक्त टोलीले फेरि खोजी गर्न थालेको हो । 

मंगलबार गोक्यो ताल पुगेको टोलीले बुधबार बिहानैदेखि अत्याधुनिक उपकरणको प्रयोग गरी खोजी गरिरहेका टोलीमा सहभागी पत्रकार विक्रम श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकाको क्यालिफोर्नियाबाट आएका बिशेषज्ञ सहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पालगायतको टोलीले किशोरको शव रहेको सम्भावित ठाउँमा खोजी गरिरहेको छ । किशोरहरुको खोजी गर्नुअघि आज बिहानै लामा पाठ गराइएको थियो ।

गएको साउनमा खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणका गएका विद्यार्थीहरु गोक्यो तालमा नुहाउने क्रममा ३ जना बेपत्ता भएका थिए । २०७५ साउन १९ गते तालमा डुबेका पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पामध्ये पेम्बा नुरु शेर्पाको शव सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले निकालेको थियो । 

गोताखोर तथा नेपाली सेना र नेपाल प्रहरीले लामो समय खोजी गर्दासमेत अन्य दुईको शव नभेटिएपछि खोजी गर्न छाडिएको थियो । त्यसबेला चिसो बढ्नुको साथै प्रविधिको अभावमा खोजी कार्य रोकिएको थियो । 

अहिले तापक्रम बढ्नुको साथै अमेरिकाबाट उच्च प्रविधिसहित टोली आएपछि खोजी सुरु भएको हो । अमेरिकाबाट ल्याएको मेसिनले नै तालको तलसम्म गएर खोजी गर्नेछ भने शवलाई बाहिर ल्याउनसमेत सक्ने बताइएको छ । यदि मेसिनले शव पत्ता लगाएर बाहिर ल्याउन नसकेमा गोताखोरको टोलीले झिक्ने सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो ।

पेम्बा दोर्जी शेर्पाको आमा ल्हाक्पा डिकी शेर्पाले अब छोराको शव भए पनि भेटिने आशा लागेको बताउनुभयो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको गोक्यो ताल समुन्द्र सतहबाट ४,७०० मिटर उचाइमा रहेको छ ।

यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरुमध्ये पर्दछन । यी तालहरूमध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । किशोरहरु हराएको तालचाहिँ गोक्यो तेश्रो हो । 

सबै फोटो सौजन्य : विक्रम श्रेष्ठ


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया