बौद्ध–जाेरपाटी सडकमा कालोपत्रे सुरु

 जेठ २, २०७६ बिहिबार ११:१२:५६ | रासस
unn.prixa.net

काठमाण्डाै – लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र सुरु गरेको हो ।

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि कालोपत्र गर्न शुरु गरिएको हो ।

बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंका अनुसार आइतबारदेखि कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सवबेस, बेस बनाउने काम काम सुरु भएको थियो भने अहिले कालोपत्र भइरहेको छ । गएको साता स्थानीयवासीन्दाले सडकमा यातायात अवरोध गरेपछि ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाण्डाै महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्षसहित बसेको बैठकबाट कालोपत्र गर्ने सहमति भएको थियो ।

गएको चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा त्यसको प्रत्यक्ष असर उक्त सडकखण्डका स्थानीय तथा यात्रुलाई परेको स्थानीय विनिता कोइरालाले बताउनुभयो । चार वर्षदेखि निर्माण अलपत्र परेको चाबहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यापारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन् ।

सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया