चट्याङले लमजुङमा २८ भेडा मरे

 जेठ २, २०७६ बिहिबार १३:१२:२७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् ।

गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिनुभयो ।

चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए ।

‘भेडा मरेको खबर पाएसँगै १५ जनाको टोली भेडीगोठमै पुग्यौँ । चट्याङ लागेर २८ वटा भेडा मरेको पायौँ । धेरै माउ भेडा मरेका छन्’, दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक गुरुङले भन्नुभयो, ‘भेडा मर्दा झण्डै साँढे ५ लाख बढिको क्षति भएको छ ।’  

सहयोग पाउने आशामा किसान  

भेडा मर्दा किसान चिन्तित बनेका छन् । सम्बन्धित निकायबाट केही सहयोग पाउने आशामा किसानहरु रहेका छन् ।

गुरुङका अनुसार लमजुङको दूधपोखरी गाउँपालिका–६, र दोर्दी गाउँपालिका–५ का किसानहरुले संयुक्त रुपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गरेका हुन् ।

उनीहरुले सञ्चालन गरेको यस भेडीगोडमा ६ सय ४० बढी भेडा रहेका छन् । दूधपोखरी गाउँपालिकाकाको ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिम्रुङ र पाचोकका गरी २५ जना बढी किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै छन् । यस भेडीगोडमा ४ जना भेडीगोठाला रहेका छन् ।    

स्थानीय किसानले भेडीगोठमा भेडा पाल्न दिन्छन् । उत्पादन बेचेर आएको निश्चित रकम भेडीगोठालाले लिन्छन् । बाँकी रकम भेडा धनीलाई बुझाउँछन् । गुरुङका अनुसार दूधपोखरी गाउँपालिकामा १० वटा भेडीगोठ रहेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया