नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व, कुन संगठनमा काे ?

 जेठ २, २०७६ बिहिबार १९:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पार्टी एकतापछि भंग भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठनहरुको नेतृत्वको टुंगो एक वर्षपछि लागेको छ । 

एक वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा जनवर्गीय संगठनहरु विघटन गरिएको थियो । एक वर्षसम्म विघटन गरिएका जनवर्गीय संगठन पुनर्गठन नगरेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको थियो । 

पार्टी एकता भएको एक वर्षको उपलक्ष्यमा जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाउने गरी बिहीबार बसेको नेकपाको सचिवालय बैठकले विघटित जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागबण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजकमा सहमति जुटेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले उज्यालोलाई जानकारी दिनुभयो । 

छलफलबाट टुंगो लागेका जनवर्गीय संगठनका पदाधिकारीको औपचारिक घोषणा भने शुक्रबार विशेष कार्यक्रम गरेर सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो । 
विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् । 

सहसंयोजक तोकिएका रञ्जित माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष हुनुहुन्थ्यो । रञ्जित सहसंयोजक बन्न तयार नभए सुरेन्द्र बस्नेतलाई बनाउने सहमतिसमेत भएको सचिवालय स्रोतको दाबी छ ।

युवा संगठनमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएका छन् । दीपशिखा तत्कालीन माओवादीको वाईसीएलका अध्यक्ष हुन् ।  

महिला संगठनको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुर संगठनको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।  

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारीको नाममा सहमति जुटाइएको छ । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजीवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।

यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहयात्री सहसंयोजकमा सहमति जुटेको छ । 

यसैगरी मुस्लिम संगठनमा सराज महमद फारुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्माको नाममा सहमति जुटेको छ ।

 यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक हुने भएका छन् भने सहसंयोजकको नाममा सहमति भएको छैन ।  
 

अन्तिम अपडेट: भदौ ३, २०७६

तपाईको प्रतिक्रिया