ढोलाहिटी–लेले सडक कात्तिकसम्ममा कालोपत्र गरिने

 जेठ ३, २०७६ शुक्रबार ७:१:८ | रासस
unn.prixa.net

काठमाण्डौ – ढोलाहिटी–लेले सडकखण्डमा कालोपत्रको काम आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने सहमति भएको छ । झण्डै चार वर्ष पहिले सडक विस्तारको काम सुुरु भए पनि निर्माण अघि नबढेपछि अहिले भइरहेको चौडाइमा नै कालोपत्र गर्ने सहमति भएको हो । 

झण्डै १० किलोमिटरको यो सडक कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै स्थानीयवासीले एक सातादेखि सडक बन्द गरिरहेका थिए । सहमतिसँगै स्थानीयवासीले गएको सातादेखि ठप्प गरेको सडक सञ्चालनमा आएको छ ।

सडक विभागमा भएको बैठकमा विभागका प्रतिनिधि, गोदावरी नगरपालिका प्रमुख, ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदलगायत सहभागी थिए । बैठकमा अहिलेको चौडाइ बढाउन नसकिने हुँदा उपलब्ध चौडाइमा काम गर्ने सहमति भएको हो ।

काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले विभिन्न तीन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेकै कम्पनीलाई कालोपत्रको जिम्मा दिने सहमति भएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार सहमति भएलगत्तै नगरपालिका–११ टाहाखेलबाट सडक निर्माण शुरु भइसकेको छ ।
उहाँले भन्नुभयो, ‘चापागाउँबाट ठेचो हुँदै सुनाकोठीसम्म कालोपत्र गर्ने सहमति भएको हो ।’ सडक विस्तार कार्य चार वर्ष पहिले सुरु भए पनि अघि बढ्न नसकेपछि स्थानीयवासीले सडक मर्मतको माग गर्दै यातायात सेवा बन्द गराएका थिए ।

सडक कालोपत्र हुन नसक्दा चापागाउँ–सातदोबाटो सडकखण्डमा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन् । ‘धुवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो, समय हेर्‍याैँ पटक पटक, पछि हट्दैनाैँ हामी यो पटक’ नाराका साथ चापागाउँवासीले सडक ठप्प पारेका हुन् । बन्दका कारण यो क्षेत्रको जनजीवन प्रभावित भएको थियो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया