प्रदेश २ सरकारले प्रस्ताव गरेको सञ्चारसम्बन्धी विधेयकका केही प्रावधान परिमार्जन गर्ने

 जेठ ३, २०७६ शुक्रबार ११:३४:२४ | उज्यालो सहकर्मी

धनुषा – प्रदेश २ सरकारले प्रस्तावित सञ्चारसम्बन्धी विधेयकका केही प्रावधान परिमार्जन गर्ने भएको छ । विधेयकमा १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान राखेपछि चौतर्फी विरोध भएको थियो । 

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले विज्ञप्ति निकालेर सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीले सम्प्रभुता विरुद्ध समाचार लेखेमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना गर्ने भन्ने प्रावधान संशोधन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।

यो प्रावधान त्रुटिका कारण विधेयकमा परेको मन्त्री यादवले बताउनुभएको छ । मन्त्री यादवले समाज रुपान्तरणको सारथी रहेको पत्रकारिता जगतलाई प्रतिकुल असर पर्ने कुनै पनि काम नगर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभएको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघले संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने भएकाले विधेयकका केही प्रावधान सच्याउन आग्रह गर्दै काठमाण्डौको नयाँ बानेश्वरमा रहेको संसद भवन बाहिर र जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्न लागेको महासँघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । 

पहिलो चरणको आन्दोलन सकिने र सरकारले अझै पनि मागको सुनुवाई नगरे दोश्रो चरणको आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया