शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद सजाय, वडाध्यक्ष निर्दोष सावित

 जेठ ३, २०७६ शुक्रबार १३:३०:४८ | राजु लामिछाने

रुकुम - रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-२ पेल्मामा रहेको आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक मखन केसीलाई बेपत्ता पारेको अभियोगमा दुई जनालाई पाँच वर्षको कैद सजाय हुने भएको छ ।

रुकुमकोट जिल्ला अदालतका न्यायधीश दुर्गाबहादुर भुसालको एकल इजलासले शिक्षकलाई कुटपिट गरी बेपत्ता पारेको ठहर गर्दै सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी निर्मला शर्माले जानकारी दिनुभयो ।

गएकाे साउन ३१ गते शिक्षक केसीलाई कुटपिट गरेर बेपत्ता पारेको अभियोगमा दोषी ठहर गर्दै त्यसै गाउँपालिका-१० का खिन्टे भनेर चिनिने विकास बुढामगर र वडा नं. २ का रामराज भनिने रामकृष्ण झाँक्रीलाई पाँच-पाँच वर्षको कैद सजाय हुने भएको हो । 

सूचना अधिकारी शर्माका अनुसार फैसलामा जनही पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना तोकिएको छ । अदालतले उनीहरुलाई गतएकाे कात्तिक ११ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । बुढा र झाँक्रीसहित वडा नं. २ का वडाध्यक्ष सतसिङ बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामीलाई पनि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । वडाध्यक्ष बुढा र अध्यक्ष कामीलाई निर्दाेष ठहर गर्दै सफाइ दिइएको छ । 

घटनाका कसुरदारलाई आश्रय दिएको भन्दै गाउँपालिका– २ पेल्माका विनोद खत्रीलाई नौ महिना कैद सजाय सुनाइएको छ । केसीलाई बेपत्ता पारेकै अभियोगमा त्यसै वडाका दुई अभियुक्त धर्मसुर बुढा र थकान पुन भने अझै फरार छन् ।

उनीहरु अदालतमा उपस्थित भएपछि मात्र फैसला हुने भएको छ ।

फैसलामा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत भराइदिन आदेश गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोट घर भएका शिक्षक केसीको अवस्थाका बारेमा अहिलेसम्म पनि कुनै जानकारी छैन ।

शिक्षक केसी जिवितै रहेकाे वा मृत्यु भएकाे कुनै जानकारी नभएको परिवारले बताएका छन् । शिक्षक केसीका दाजु मोहनको किटानी जाहेरीपछि उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको थियो । शिक्षक केसीलाई गएकाे भदौ १४ गतेदेखि बेपत्ता अवस्थामा हुनुहुन्छ । 

अदालतको फैसलापछि बुढा र झाँक्रीलाई रुकुम (पश्चिम)मा रहेको जिल्ला कारागारमा राखिएको छ । रुकुम (पूर्व)मा कारागार नभएका कारण(पश्चिम) पठाइएको प्रहरीले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया