अहिँसा र सत्यको बिगुल बजाउने गौतम बुद्ध

 जेठ ४, २०७६ शनिबार ७:५:४८ | बलराम उपाध्याय खकुरेल
unn.prixa.net

भगवान् गौतम बुद्धलाई सनातन धर्ममा भगवान् विष्णुको विशेष अवतार मानिन्छ । शान्तिका अग्रदूत भगवान् बुद्धलाई नेपालले आजभन्दा २५६३ वर्ष अगाडि नै छोराको रुपमा कपिलवस्तु जिल्लामा पाएको थियो । जन्मिने बित्तिकै उहाँले पाइला सार्नुभएको इतिहास छ । त्यसबेला हालको कपिलवस्तु जिल्ला तिलौराकोट राज्यमा पर्दथ्यो । भगवान् बुद्धलाई आफ्नो छोराको रुपमा पाउनु यो निकै गौरवको कुरा हो । त्यसकारण विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र नेपाल हो । 

भगवान् बुद्धकाबारेमा भन्नुपर्दा धार्मिक ग्रन्थहरुमा धेरै आख्यानहरु बताइएको छ । भगवान् बुद्धले पिता सुद्धोदन र माता मायादेवीका छोराको सिद्धार्थ गौतमको रुपमा शाक्य वंशमा जन्म लिनुभएको थियो । १६ वर्षको उमेरमा भगवान् बुद्धको विवाह यशोधरा नामकी कन्यासँग भयो । त्यसपछि सन्तानको रुपमा एक छोरा राहुलको जन्म भयो । 

यस संसारमा कोही पनि मानिस यस्तो छैन कि जसलाई दुःख नै नपरेको होस् । दुःखलाई हटाउन सके मात्र निर्वाण वा शान्ति पाउन सकिन्छ भन्ने ज्ञानका प्रवर्तक नै भगवान् बुद्ध हुन् । 

भगवान् बुद्धको जीवन निकै अद्भूत देखिन्छ । यो संसारमा सायदै कम मानिसको जन्म र मृत्यु एकै दिन हुन्छ । भगवान् बुद्धको जन्म, ज्ञानप्राप्ति र मृत्यु यी तीनैवटा कुरा वैशाख पूर्णिमाको दिन भएको थियो । त्यसकारण शान्तिका अग्रदूत भगवान् बुद्धको सम्झनामा उहाँमा श्रद्धा अर्पण गर्दै प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन नै बुद्धजयन्ती मनाइन्छ । नेपालमा नै भगवान् बुद्धको जन्म भएता पनि सार्वजनिक पर्वको रुपमा भने वि.सं. २००८ साल जेठ ८ गतेको बुद्धजयन्तीका दिनदेखि सार्वजनिक बिदा दिनथालिएको थियो । शान्तिका अग्रदूत गौतम बुद्धको  जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघले पनि सन् २००२ देखि सार्वजनिक बिदा दिँदै आएको छ । 

भगवान् बुद्धको बारेमा नेपाली तथा विदेशी विद्वान्हरुले धेरै पुस्तकहरु लेखेका छन् । धेरै भाषामा ती पुस्तकहरु छापिएका पनि छन् । भगवान् बुद्धले आफ्नो जीवनको ८० वर्षे कालखण्डमा ८४ हजार पटक प्रवचन दिए । यस कुरालाई विनय, सुत्त र अभिधम्मपिटक जस्ता पुस्तकहरुमा संग्रह गरिएको छ । सम्राट् अशोकले इसापूर्व २४९ मा हितबुद्धजातेती लुम्बिनीग्रामे , भनी ब्राह्मी लिपिमा नेपाली भाषमा लेखिएको  अशोक स्तम्भ लुम्बिनीमा पत्ता लागेको थियो ।  यो स्तम्भलाई सन् १८९६ मा तत्कालीन पश्चिम क्षेत्रका कमाण्डर खड्ग शमसेर राणाले पत्ता लगाएका थिए भने त्यसपछि नेपालमा बौद्ध भ्रातृत्व सम्मेलन जस्ता कार्यक्रमहरु नेपालमा हुँदै आएका छन् । 

गौतम बुद्धले आफ्नो आफ्नो जीवन कालमा २९ वर्ष राज्यको सुख सयलमा बिताउनुभयो । राजाको छोेरा भए पनि मानिसहरु दुःखी भएको देखेर निकै चिन्तित थिए । दुःखको कारण के हो ? दुःखलाई कसरी निवारण गर्न सकिन्छ ? मानिस किन रोगी हुन्छ र कुन कारणले भन्ने विषयहले नै बैरागी बनायो । यही बैराग्यले नै २९ वर्षको उमेरमा राति घर छाडी सुटुक्क बुद्धत्व प्राप्तिको लागि हिँड्नुभएको थियो ।

विभिन्न क्षेत्रमा ध्यान र तपस्या गर्दै भारतको बोधगया भन्ने ठाउँमा पुग्नुभयो । त्यहाँ एउटा पिपलको रुखमुनी ध्यान गर्दा गर्दै उहाँलाई ज्ञान प्राप्त भयो र उहाँ बुद्धको रुपमा परिचित हुनुभयो । बुद्धत्व प्राप्तिपछि उहाँले आफ्नो जीवनको सबै भाग बुद्धत्वको उपदेश गर्दै समाजसेवामा बिताउनुभयो । 

धर्मका १० वटा लक्षण हुन्छन् :
धतिःक्षमादमो, स्तेयं शौचमिन्द्रियनिग्रहः । 
धीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणम् ।।

सहनशिलता, क्षमा, चोरी नगर्नु, इन्द्रियलाई वशमा गर्नु, धैर्यता, सत्यताजस्ता कुराहरु धर्मका लक्षण हुन् । भगवान् बुद्धले यी १० वटा कुरालाई नै जीवनभर अपनाउनुभयो । अहिँसा र सत्यको बिगुल बजाउनुभयो । शान्त स्वभावले कसैप्रति पनि राग र प्रतिशोध नलिई सबैलाई आफ्नो स्वभावले नै सहि मार्गमा हिँड्न प्रेरित गरिरहनुभयो । 

त्यसबेलाको समाजमा धर्मका नाममा धेरै गलत कुराहरुले ठाउँ पाएको थियो । धर्मको लागि बलिजस्ता हिँसाका कार्यहरु पनि गरिन्थ्यो । त्यसकारण उहाँले शान्ति र अहिँसाका लागि धेरै प्रयासहरु गर्नुभयो । त्यस समयमा भगवान् बुद्धको धेरै विरोधहरु पनि भयो । तर सत्यका लागि आफ्नो पाइला अघि बढाउनु भएको हुनाले बिस्तारै मानिसहरु बुद्धका भक्त हुँदै गए ।

भगवान् बुद्धलाई मार्न भनेर गएका व्यक्तिहरु पनि बुद्धका शिष्य भएर उहाँकै अनुशरण गर्न थाले । यसरी त्यसबेलाको समाज सुधारका लागि धेरै उपदेश दिई समाजलाई सही बाटोमा हिँडाउनु हुने भगवान् बुद्धले ८० वर्षको उमेरमा भारतको कुशीनगरमा इसापूर्व ४८३ मा आफ्नो शरीर त्यागेर निर्वाण प्राप्त गर्नुभयो । उहाँले आफ्नो सम्पूर्ण जीवन नै समाजका लागि दिनुभयो । समाजका लागि जे जति दिनुभयो उहाँ त्यस कारणले नै आजसम्म पनि विश्वका धेरै मानिसको आस्था र श्रद्धेयको रुपमा रहनुभएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया