साढे ३ हत्या

 जेठ ४, २०७६ शनिबार ८:२९:४ | रुपक अधिकारी
unn.prixa.net

दायाँ हातमा भर्खरै बजारमा आएको उपन्यास । बायाँमा पानीको बोतल । काँधमा झोला भिरेर अलमल्ल उभिएको मलाई कोही कसैले हेर्दै होला कि ? मलाई थाहा छैन । 

बाक्लो तुँवालोका कारण विमानले उडान ढिलो गरेकाले एयरपोर्टबाट बाहिरिएपछि बल्ल होसमा आएँ । आवेग साथमा थिएन । यताउता हेरेँ । कुहिरोले केही देखिनँ । मात्र एउटा अनुहार जुन मलाई नै हेर्दै मुस्कुराउँदै थियो । लट्ठ थियो मानौँ म कुनै जादु गरिरहेकी थिएँ । ‘आई एम अलाइभ’ गीतको रिङटोन बज्यो मोबाइल झिकें । तर अहँ, यो मेरो मोबाइलमा बजेको थिएन । आखिर अरूको थियो । जसको चाहना मसँग मिल्दै थियो । 

मलाई हेर्दै मुस्कुराउने केटो फोन झिकेर कुरा गर्न थाल्यो । सायद ऊ कसैको पर्खाइमा थियो । अघि उडेको हैन भनेझैँ सुनेँ । उताबाट सायद कुहिरोको कारणले अवतरण नभएको भन्ने जबाफ आएजस्तो छ । अब कहिले उड्छ रे ? भन्ने प्रश्न तेर्स्यायाे उसले । तर जवाफ चाहिँ पाएन पक्का पनि । किनकि मैले भर्खरै भित्र सोधपुछ गर्दा पनि जवाफ पाइनँ । 

म द्विविधामा परेँ । यताउता हेर्ने थालेँ, के गर्ने ? कहाँ गयो आवेग आखिर ? प्रश्न बढ्दै गए । यी आँखाले जबाफ भने पाएका थिएनन् । घरी पछाडि पो छ कि ! भन्दै फर्कन्छु, घरी कुहिरोको मौका छोपेर कहीँ पर्वतले त लगेन, भन्ने सोच्दछु । के गर्ने कहाँ जाने ? केही टुङ्गो भएन ।

त्यत्तिकैमा मेरो नजरमा एक प्रहरी जवान कैद भए । त्यतै बढ्न लागेको थिएँ । फेरि आई एम अलाइभ गीतको रिङटोन बज्यो । यसो पछाडि फर्केर हेरेँ, उसले मोबाइल झिक्यो । फेरि खल्तीमा राख्यो । तर पनि रिङटोन बजिरहेपछि चाहिँ यसपटक मेरै फोन आएको रहेछ भनी हत्तपत्त फोन झिकेँ । नयाँ नम्बरबाट फोन आएको छ । सधैँ त म उठाउँदिनँ । तर, आज पक्कै आवेगले गर्न लगाएको भन्ने सोचेर उठाएँ । म सही थिएँ । 

‘ओई दिदी कहाँ छेस् तँ ।’
‘म यहीँ गेटमा छु । तँ कहाँ छस् बाबु ।’
‘यहाँ मान्छेहरू टन्नै छन् । झोलाहरू छन् । कोही रुँदै पनि छन् । कोही फोटो खिच्दै छन् ।’
‘कहाँ हो.................त्यहाँ कसैलाई बोल्न देऊ त फोन ।’
‘हेल्लो’ , लोग्नेमान्छेको आवाज सुनेँ ।
‘हेल्लो तपाईँ कहाँ हो ? भन्नुस् त म आइहाल्छु, चिन्ता नलिनुस् तपाईँ । म बाहिर आउँदै छु, तपाईँ त्यहीँ गेटमै बस्दै गर्नुस् ।’ उताबाट आवाज आयो ।
‘हुन्छ छिटो गर्नुस् है ।’ 

फोन काटियो । अघिसम्म चिन्ताले रुन पनि पाएको रहेन छु । अहिले आवेग भेटिएपछि पो आँसु टिलपिलाए । 

कुहिरो खुल्दै गइरहेको थियो । आवेग एउटा भलादमी मान्छेको हात समाएर आउँदै थियो । मलाई देखेर दगुर्‍यो । मैले जुरुक्कै उचालेर अँगालो हालें अनि निधारमा चुमें । 

‘यति धेरै माया लाग्छ भने कसरी एक्लै छोड्न सक्नुभयो ?’ भलादमी मानिसले मलाई प्रश्न गर्नुभयो । म केही बोल्नै सकिनँ । 

आवेगले उसलाई हेर्दै भन्यो, ‘दिदीले छोड्नुभएको छैन । म सानो बच्चा देखेर आफैँ गएँ ।’ 

ऊ भद्र मुस्कान छाडेर उभिएको थियो । म चुप थिएँ । अनि आवेग पनि चुप लाग्यो । यत्तिकैमा अघि मलाई हेरिरहेको मान्छे मलाई चुप लाग्न इसारा गर्दै बिस्तारै हामीतिरै आयो । भद्र मानिसको आँखा छोप्यो । 
‘को हो ?’ भन्दै दुवै हात समातेर चिन्ने कोसिस गर्दै एकदम खुशी भएका थिए, भद्र मानिस । 

‘जय तँ यहाँ !’
त्यसपछि दुवैले एकअर्कालाई अँगालो हाले । अनि आँखा छोप्ने मान्छेले मलाई नमस्ते गर्दा मैले पनि फर्काएँ । तर जे सुनें अकमक्क परें, ‘नमस्कार भाउजू ।’ 
‘हैट के भन्छ यो गधा भाउजू, हैन । उहाँ................ए सरी साँच्ची मैले त तपाईँको नाम सोध्नै भुलेछु ।’ 
‘म आद्रता । तर तपाईँले नाम सोध्न मात्रै हैन भन्न पनि भुल्नु भयो’ मैले भनेँ । 
ए है भन्दै मुस्कुराएर ‘म सुयोग हुँ’, भन्नुभयो भद्र मान्छेले । हामी तीनैजना हाँस्यौ । ‘ऊ चाहिँ मेरो साथी जय । साढे तीन वर्षअघि गायब भएको थियो । आज फेला परेको छ’ सुयोगले भन्यो । 

साढे तीन वर्षअघि गायव बनेको कुराले मेरो अनुहारको रङ एकाएक फेरियो । तर, सायद कसैले मतलब नराखेको हुनुपर्छ । सुयोग र जय गफमा व्यस्त थिए । म केही नभनी चुपचाप त्यहाँबाट हिँडे । कुहिरो पातलिँदै थियो । अलिपर पुगेर पछाडि फर्किएँ । जय एकोहोरो मलाई हेरिरहेको रहेछ । 

***

‘तिमी किन आएको हो ? कस्तूरीको याद आयो हो ? पछाडिपट्टि तिम्रो आवाज सुन्नासाथ झस्किएँ, तिमी नै थियौ ।’ 
‘तिमी कहाँ गएकी थियौ ? अघि कुरा गर्दा गर्दै भन त पहिले ?’ मैले प्रश्न गरेँ । 

‘म कहाँ गएँ ? त्यो प्रश्नको कुनै औचित्य नै छैन । तिमी यहाँ किन ? त्यो हो मुख्य कुरा । भन किन आयौ यहाँ ?’ 
‘तिमीलाई थाहा छ, त्यो दिन पनि तिमी यही निलो कुर्तामा थियौ । औधी राम्री देखिएकी तिमी आहा ! अझ पनि सम्झन्छु, त्यो दिन आँखीभौं मास्तिर नजर पनि माथि गर्दै बायाँ हात दाहिने गालो हुँदै चिउँडोसम्म मुसारेँ ।’ 

‘तिमी बातलाई मोडेर बच्ने चेष्टा गर्दै छौ । भन किन आयौ ? नत्र म फेरि जान्छु नि । अब तिमीलाई उत्तर नदिएर कहाँ धर पाउँछु, मैले भनें, ‘तिमीले कहिले पो मलाई जित्न दिएकी छौ र ?’ यस्तै कुरा मनमा दौडन थाल्यो । 

‘सत्य केही छैन । अहँ तिमीले विश्वास नै गर्दिनौ । कसरी भनूँ ? केही पत्तो छैन भनेर म वागमतीमा उभिएर पशुपतिको दर्शन गर्दागर्दै कसरी यो चिडियाघरमा आइपुगें ? अहँ म स्वयम्लाई भ्रमजस्तै लाग्दै छ तिमीले कसरी पो विश्वास गरौली र ? तिम्रो मन राख्न केही झुट बोल्नुपर्दछ । अब तर के भनूँ ? जुन तिमीले विश्वास गर्न सकौली ।’ मनमा कुरा प्रवाह हुन थाले मानौं एकान्तमा बसेर कल्पना गर्दै छु । 

‘कहाँ हराएको हँ ?’ 
‘तिमी ठिक भन्दै छौ, कस्तूरीको याद आयो । तर, तिमीले हो मलाई यहाँ डोर्‍याएर ल्याएको सम्झना छ होला । तिमीलाई पनि मैले विगतमा पुर्‍याएँ ।’ 
‘मलाई पनि रे, मतलब तिमी पनि सम्झन्छौ र ?’
‘अहँ, तिमी झुट बोल्दै छौ तिमीलाई केही पनि याद छैन ।’ 
‘म सबै जान्दछु’ मैले आत्मविश्वास देखाएँ, ‘साढे तीन वर्षदेखि बेपत्ता बनेको कुरामा तिमी झस्किएकी थियौ । जुन कुराको जिकिर यहीँ भएको थियो ।’ मैले भनेँ । 

‘अब बल्ल तिम्रो आँखामा तिमी विश्वस्त भएको देख्दै छु । तिम्रो जन्मदिनमा मैले उपहार दिएको निलो रङको सेता बुट्टा भरिएको यो कुर्ता अहिले पनि पहिरिएकै छौ । त्यो दिन पहिलोपटक तिमी यसमा सजिएर आएकी थियौ । त्यो हाम्रो पच्चिसौं भेटघाट थियो । आजकलको हिसाबमा भन्दा पच्चिसौं, अहँ तेइसौं डेटिङ थियो । एअरपोर्ट र मेरो क्याफेमा भएको भेट त संयोग मात्र थियो । त्यसपछिका भेटहरू हाम्रो चाहनाअनुरूप बढ्दै गएको हो ।’ 

***

शनिबारको दिन भएकोले म अबेरसम्म सुतेको थिएँ । आई एम अलाइभ भन्दै फोन कराएपछि बिउँझिएँ । तिमीले फोन गरेकी थियौँ । दस बजेसम्म सुतिरहेको छु भनेपछि तिमी मज्जाले हाँसेकी थियौ । 

अनि तयार भएर एक घण्टाभित्र छक्कु बक्कु क्याफेमा आउनू भन्यौ । म उठेँ । सदाझैँ पानी पिएर दिन सुरु गरेँ । त्यसपछि बाथरुम गएँ । अनि आफैंले बनाएको एककप कफी पिउँदै के कपडा लगाउने भनेर सोच्दै थिएँ । यत्तिकैमा तिमीले म्यासेज गरेकी थियौ । त्यसपछि केही नसोची निलो टिसर्ट जसमा लेखिएको थियो ‘स्वतन्त्र म’ लगाएँ । अनि खैरो हाफपैन्ट र कन्भर्स जुत्ताका साथ म होस्टलबाहिर बाहिरिएँ । 

सिँढीबाट ओर्लंदै गर्दा घरबेटी बासँग जम्काभेट भयो । उहाँले मुसुक्क हाँस्दै भन्नुभयो, ‘के हो केटो आज, डेटिङसेटिङ छ कि क्या हो ?’ 

म पनि मुस्कुराएँ । हैन ऊ त्यहीँ बानेश्वरसम्म हो भन्दै निस्किएँ । तल आइसकेपछि बल्ल याद भयो, बाइकको चाबी र हेल्मेट त हतारका सिकार भएछन् । फेरि दौडँदै दोस्रो तला पुगेँ । आफ्नो कोठाबाट चाबी र हेल्मेट लिएर बाहिरिएँ । बाथरुमबाट तौलियामा निस्किएकी भाउजू मुसुक्क हाँस्दै ‘टाढै बाबु ?’ भन्नुभयो । 

‘हैन भाउजू साथीले बोलाएर बानेश्वरसम्म जान लागेको’, भन्दै निस्किएँ । 

त्यसपछि सरासर तल आएँ । आफ्नो बाइक लिएर बानेश्वरतिर हुइँकिएँ । हतारमा पार्किङ गर्न खोज्दा झण्डै लडेको थिएँ । छक्कु बक्कुभित्र तिमी पहिल्यै आइसकेकी थियौ । म बस्न नपाउँदै टेबलमा दुई कपचिया राखिए । म दोधारमा परें । पिऊँ कि नपिऊँ ? तिमीले मगाएको चिया केही नसोची उठाएँ । हतारमा मुख बिगार्दै पिएँ । मलाई हेरेर कति मीठो गरी हाँस्यौ । मानौं, म तिमीलाई हँसाउन त्यसो गर्दै थिएँ । तर चिनीको मात्रा बढी भएको चियाले गर्दा हो । 

‘किन हतार गरेको ? के अलि बिस्तारै पिउँदा हुन्न ?’ तिम्रो प्रश्न थियो । म केही बोलिनँ । अँ, अनि एउटा चुरोट मागें । एककप चिया अर्डर गरें, ‘चिनी कम है त ।’

चुरोट तान्दै कुर्सीमा बसेँ । तिमीले आश्चर्यमा आँखीभौँ उचाल्यौ तर त्यो आश्चर्य चुरोटको थियो कि गुलियोको ? म प्रष्ट थिइनँ । तिमीले एकछिन मलाई हेरिरह्यौ । 

‘अस्ति त गुलियो रसबरी मीठो भनेर खायौ त, आज चाहिँ किन ?’ तिमीले आश्चर्य पोख्यौ ।

‘कुनैकुनै कुरा गुलिया नै मीठा हुन्छन् । जस्तै तिम्रो मुस्कान, त्यो रसबरी अनि बाबाले पकाउनुभएको खिर । तर चियामा मलाई चिनी कम नै चाहिन्छ ।’

‘एककप चिया टेबलमा आसन ग्रहण गर्न आइपुग्यो । मैले उठाएँ । अनि आनन्दको चुस्की लिएँ । तिमीले प्रश्न ग¥यौ, मुस्कान पनि मीठो, तितो र टर्राे हुन्छ कहीँ ?’

‘अरूको थाहा छैन, तर तिम्रो हुन्छ ।’ मैले भनेँ, ‘तिमी जब झुटो हाँसो निकाल्छौ तब टर्राे र तीतो लाग्छ । जब मनदेखि हाँस्छौ आहा ! कति मीठो त्यो रसबरीभन्दा मीठो लाग्छ ।’ 

मैले उठेर फेरि एउटा चुरोट लिएँ । सल्काएको मात्र के थिएँ, तिमीले खोसेर भुईंमा फाल्यौ, ‘भर्खरै मात्र खाएको हैन, कति खानुपर्ने ? भन्दै काउन्टरमा पैसा तिर्‍यौ । हामी त्यहाँबाट चुपचाप निस्कियौँ । किनकि मेरो मनमा त्यो बेला त्यहाँ भएका सबैले मलाई हेर्दै होलान् भन्ने डर लागेको थियो । तिमी उठेपछि बल्ल थाहा पाएको थिएँ । तिमी कुर्तामा भएको कुरा तर त्यसलाई व्यक्त गर्ने मौकासम्म पनि पाइनँ भन्नुपर्दा गलत नहोला ।’ 

(रुपक अधिकारीको उपन्यास साढे ३ हत्या को एक अंश । २०७६ जेठ ४ गते विमोचन हुँदैछ ।)
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया