कोरिया जान भन्दै ९० हजार रुपैयाँ तिरेका डेढसय युवा अन्योलमा, ठगी भएको आशंका

 जेठ ४, २०७६ शनिबार १४:३६:३२ | उज्यालो सहकर्मी

सुर्खेत – गएको माघ २५ गते पञ्चपुरी नगरपालिकामा मौसमी प्रशिक्षार्थी कामदार कोरिया पठाउने भन्दै आवेदन माग गर्दै सूचना प्रकाशित भयो । सूचनामा नगरपालिका १ देखि ११ वडाका बासिन्दाले मात्र सम्बन्धित वडा कार्यालय  र नगरपालिकाको कार्यालयमा निवेदन दिन पाउने उल्लेख गरिएको थियो । सूचनामा पञ्चपुरी नगरपालिकाको समन्वयमा भनिए पनि संस्थाको नाम उल्लेख गरिएको थिएन । 

सूचनामा सम्पर्कका दुई वटा नम्बर थियो । यही सूचनाका आधारमा दुई हजार युवाले आवेदन दिए  । निवेदन दिएकामध्ये झण्डै ३ सय जनाको छनोट भएको सूचना निस्कियो । पहिलो चरणमा एक सय ४५ जना कोरिया जान पाउने भन्दै सबैलाई राहदानी बनाउन भनियो । सबैले काठमाण्डौ गएर राहदानी बनाए । स्वास्थ्य परीक्षणसँगै उनीहरुले प्रहरी कार्यालयबाट रिपोर्ट पनि तयार पारे । भाषा पनि सिकाउन थालियो । अहिले पनि सोमबार र शुक्रबार भाषा सिकिरहेका छन् उनीहरुले । 

आउन जानका लागि दुईतर्फी टिकटका लागि भन्दै ९० हजार रुपैयाँका दरले पैसा उठाइयो छनोट भएका १ सय ४५ जनासँग । तर २०७५ को चैतमै पठाउने भनिएका व्यक्तिलाई अहिलेसम्म पठाउने प्रक्रिया नै सुरु भएको छैन । यसकारण आफूहरु ठगिएमा परिएको युवाहरुको आशंका छ ।

चैतको महिनामै लाने भनिएका व्यक्तिलाई पठाउन पञ्चपुरी नगरपालिकाले प्रदेश सरकार हुँदै संघीय सरकारसँग पनि अनुमति लिनुपर्ने बताएपछि पैसा तिरेका व्यक्ति जान पाउने या नपाउने अन्यौल भएको हो । कोरियाको कृषि फर्मको मुख्य व्यक्ति हुँ भन्दै नेपाल आएकी वान मिमि मौसमी प्रशिक्षार्थी कामदार लाने प्रक्रिया मिलाउन भन्दै कोरिया फर्किसकेकी छन् । उनले आफू मौसमी कामदार कार्यक्रमको निर्देशक भएको बताएकी छिन् ।

‘सूचना पाएपछि हामीले फारम भ¥यौं । नाम पनि निस्कियो । त्यसपछि कोरिया जाने भनेर सबै कागत्रपत्र बनायौं । तर यताको प्रक्रिया नबुझ्दा अन्यौल भएको छ’आफ्नो नाम नबताउने शर्तमा एक युवाले भने, ‘९० हजार बुझाएको एक महिना भन्दा बढी भइसक्यो । अहिले ब्याज तिरिरहेको छु । उताबाट स्वीकृति पत्र आएपछि काम हुन्छ भनेका छन् । मार्चको ४ मा जाने भनेर भनेका थिए । अहिले प्रक्रिया पूरा नभएर ढिलो भएको छ भनेर भनेका छन् ।’

पञ्चपुरी ५ कै अर्का एक युवाले पनि ९० हजार रुपैयाँ बुझाएका छन् । ‘जान मिल्ने हो कि होइन भन्ने केही थाहा छैन्’ उनले भने, ‘आफ्नै गाउँका केटाहरु हुन । फसिन्छ की भन्ने डर त छैन ।’नेपालबाट हुुने प्रक्रिया सकिएको र अब कोरियाबाट पत्र आएकाले यताबाट स्वीकृत भएको पत्र यहाँको नगरपालिकामा आएपछि जान मिल्ने आफूलाई जानकारी गराएको उनले बताए । 

कोरिया पठाउनका लागि पञ्चपुरी नगरपालिकाले दक्षिण कोरियाको पोछन सिटीसँग आपसी मित्रता र पारस्परिक सहयोगका लागि भगिनी सम्बन्ध कायम गर्न लागि पत्र प्रदेश सरकारलाई पठाएको थियो । प्रदेश सरकारले गएको चैत १८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिसका लागि पठाएको थियो । संघीय मामिलाबाट यो पत्र परराष्ट्र मन्त्रालयमा पठाएको र भगिनी सम्बन्धका लागि प्रक्रिया भइरहेको संघीय मामिला मन्त्रालयले जनाएको छ । तर यसमा भगिनी सम्बन्ध कायमका लागि मात्रै भनिएकाले मौसमी प्रशिक्षार्थी कामदार लाने विषयमा कुनै जानकारी गराइएको छैन । 

भगिनी सम्बन्ध कायम भएपछि नगरपालिकाका नागरिकमध्येबाट छनोट गरिएका व्यक्ति पठाइने भएकाले अहिले त्यसको प्रक्रिया सुरु नभएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले उज्यालोलाई बताउनुभयो । ‘अहिले दुवै नगरपालिकाबीच मित्रता कायम गर्ने मात्र हो । पोछन सिटीले बैमौसमी तरकारी खेतीको बारेमा तालिम दिने भएकाले यसका लागि दुई वटा नगरपालिकाबीच मित्रता कायम गरिदिनका लागि प्रदेश मन्त्रालयलाई सिफारिस गरीपाउँ भनेर पत्र पठाएका थियौँ । प्रदेशले केन्द्रमा पठाएको छ ।’ उहाँले भन्नुुभयो, ‘उताबाट स्वीकृत गरेको पत्र आएको छैन । स्वीकृत भएपछि हामीले यहाँबाट जाने हाम्रा मान्छेले पाउने सेवासुविधा, जीवन बिमा, औषधि उपचार सबैका बारेमा सम्झौता भएपछि र सबै बुझेर मात्र पठाउछौँ ।’

नेपालमा कोरियाको पोछन नगरपालिकाको आधिकारिक व्यक्ति भन्दै झंकरबहादुर बान्तोलाले युवाहरुसँग पैसा उठाएका छन् । उनीसँगै युवराज गिरीले भाषा सिकाइरहेका छन् । उनलाई पैसा दिएकामध्ये एक युवाले पैसा दिँदा लिएको भरपाई नै उपलब्ध गराएका छन् । भरपाईमा कोरिया जान दुइतर्फी हवाई टिकटका लागि भन्दै पहिलो किस्तामा ५० हजार रुपैयाँ लिइएको उल्लेख छ । ती युवाले ४० हजार रुपैयाँ अर्को पटक दिएको बताएका छन् । 

नेपालबाट सहयोगी रुपमा काम गरिरहेका झंकर बान्तोलाले कोरियाबाट सबै प्रक्रिया पुरा भइसकेको र नेपालबाट काम हुन बाँकी रहेको बताउनुभयो । । ‘यो राम्रो कार्यक्रम हो भनेर हामीले सफल गराउन लागेका हौँ । यही नगरपालिका एक जनाले त्यहाँको कृषि फर्ममा काम गर्ने साथीको अनुरोधमा यो कार्यक्रम यहाँ आएको हो ’ उहाँले भन्नुभयो,  ‘यहाँ प्रक्रियामार्फत जाँदा ढिलो भएको हो । छिट्टै नै हुन्छ भन्ने आश गरेका छौँ ।’

मार्च २० तारिखबाट लैजान सुरु गर्ने भएकाले पैसा उठाएको उहाँले बताउनुभयो । तर यहाँ प्रक्रिया लामो भएको ढिलो भएको उहाँको भनाई छ । तर पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले भने बान्तोलाले पैसा उठाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले यस बारेमा बुझ्ने बताउनुभएको छ । 

भनेको समयमा नपठाएको भन्दै पैसा बुझाएका १ सय ४५ जनामध्ये आफ्नो कागजपत्र र पैसा फिर्ता लिएका छन् । 

मौसमी कामदार चाहिँ हुने रहेछ, तर नेपाली जाने बारेमा जानकारी छैन: ईपीएस कोरिया शाखा 

ईपीएस कोरिया शाखाले यस बारेमा जानकारी नभएको बताएको छ । ‘मौसमी प्रशिक्षार्थीका रुपमा जाने प्रक्रियाका बारेमा हामीलाई थाहा छैन, ’ शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले उज्यालोलाई भन्नुभयो, ‘मौसमी प्रशिक्षार्थी भनेर कोरियाले लैजाने चाहिँ रहेछ तर यसको अवधि तीन महिनाको मात्रै हुन्छ भन्ने चाहिँ नेपालमा रहेको जापानी दूतावासले जानकारी दिएको थियो ।’

तर तीन महिनाको भिसामा जाने व्यक्तिले कामदारले जस्तो कमाउने अनि पटक पटक जान पाउने कुरा सत्य नभएको पनि ईपीएस शाखाले बताएको छ । एक पटक यस्तो भिसामा गएको व्यक्तिले फर्किएपछि फेरि प्रक्रिया गरेर नै जानुपर्ने शाखाले स्पष्ट पारेको छ । यस्तो भिसामा गएको व्यक्तिले एक सिजनको खेतीमा तीन महिना मात्रै काम गर्न पाउने नियम छ । त्यो बाहेक भाषा परीक्षा पास गरेर गएकाहरुले जसरी उद्योग कलकारखामा काम गर्न पाउँदैनन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया