बर्दिया निकुञ्ज क्षेत्रकाे पर्यटन प्रवर्द्धन गर्न पाेखरासम्म सप्ताहव्यापी कार र्‍याली

 जेठ ५, २०७६ आइतबार १०:२७:८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रवर्द्धनका लागि कार र्‍यालीमा निस्केका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल बनाउन बर्दियाका पर्यटन व्यवसायी र संरक्षणमा आवद्ध व्यक्तिहरु कार र्‍यालीमा सहभागी भएका हुन् ।

आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरमा ठाकुरबाबा नगरपािलकाका नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा तथा प्रतिनीधि सभा सदस्य सन्तकुमार थारु, संजय गौतम, विमला विक, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्य, पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीलगायतकाे सहभागितामा बर्दियाको समग्र पर्यटन विकासका लागी आयोजना गरिएको सप्ताहव्यापी कार र्‍यालीको उद्घाटन गरी र्‍याली पूर्वतर्फ पोखरासम्म प्रस्थान गरेको छ ।  

आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयबाट निस्किएको र्‍यालीले बर्दिया हुँदै बाँके, दाङ, कपिलवस्तु, बुटवल पाल्पा हुँदै पोखरासम्म पुगेर पर्यटन प्रवर्द्धन विषयमा त्यहाका संरक्षणकर्मीहरुसंग अन्तरक्रिया गर्नेछ । फर्किँने क्रममा चितवन समेत पुग्ने जनाइएकाे छ ।

देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारासहित २०७६ लाई बर्दिया भ्रमर्ण वर्ष घोषणा गरिएको छ । बर्दियाको समग्र पर्यटन विकासमा टेवा पुर्याउने र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल पार्ने उद्देश्यसहित सप्ताहव्यापी कार र्यालीकाे आयोजना गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो । 

कार र्‍यालीमा पर्यटन व्वसायी र संरक्षणमा आवद्ध करिब ८० जना सहभागी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जलाई नेपालमा मात्रै नभएर विश्वभर चिनाउन संरक्षणमा आवद्ध संरक्षणकर्मीहरुले महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

देशको शान, अन्तर्राष्ट्रिय पहिचान बोकेको बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तुहरु र थारु समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्न संरक्षण र पर्यटन सबैले बुझ्न जरुरी रहेको बताइएको छ । 

समग्र बर्दिया जिल्लाको भ्रमण गरी बर्दिया भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण बर्ष सन २०२० लाई सफल पार्न समेत सम्पूर्ण पर्यटकहरुमा आग्रह गरिएको छ । कार र्‍याली १२ गते बर्दियाको सदरमुकाम गुलरिया पुगेर समापन गरिने बर्दिया टाइगर रिसाेटका प्रवन्धक रेशम थापाले बताउनुभयाे ।

पछिल्लो समय बर्दियाका धेरै ब्यक्तिहरु संरक्षण र पर्यटन व्यवसायमा आवद्ध रहेका छन् । वन वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्नुपर्छ भन्ने तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ । पर्यटन सबैको चासोका विषय पनि हो । पर्यटन प्रवर्द्धन विषयमा सबैलाई सचेत गराउन सकिएमा र पर्यटन व्यवसायको बजारीकरण गर्न सकिएमा आर्थिक रुपमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाकै मुख्य पर्यटकीय गन्तब्य हो । निकुञ्ज भ्रमण गर्दा जंगल पदयात्रा, जीप सफारी, हात्ती सफारी, जलयात्रा, क्याम्पिंग, फिसिंग, थारु सांस्कृतिक नाच, थारु समुदायको मौलिक परिकारहरु, आदीको अवलोकन गर्न सकिन्छ । 

बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसँगै बाघ हेर्न बर्दिया आउने पर्यटकको संख्या समेत बढ्दो छ । आन्तरीक तथा बाह्य पर्यटकहरु बाघ हेर्न चितवन पछि बर्दिया आउने परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ रहेका छन् ३७ वटा एक सिँगे गैँडा छन भने १ सय बढि हात्ती रहेका छन् । यस्तै निकुञ्जमा ५ सय १३ प्रजातीका चराचुरुङ्गीहरु लगाएत अन्य थुप्रै वन्यजन्तुहरु रहेको निकुञ्ज श्रोतले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया