नेपालको अर्थतन्त्र : व्यापार घाटा झण्डै १० खर्ब, विदेशी लगानी पोहोरभन्दा आधा कम

 जेठ ५, २०७६ आइतबार १६:५९:४५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षको नौ महिनामा सरकारका धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिनाको आर्थिक अवस्थाले आर्थिक सूचकको अवस्था निराशाजनक रहेको देखाएको हो । 

चालु अर्थिक वर्षको नौ महिनामा व्यापार घाटा झनै उकालो लागेको छ । पछिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको  छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिले व्यापार घाटा अचाक्ली बढेको देखाएको छ । राष्ट्र बैंकका अनुसार नौ महिनामा १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँको सामान विदेशबाट आयात हुँदा नेपालले भने जम्मा ६९ अर्ब ८२ करोडका सामान मात्रै निर्यात गरेको छ । 

गएको आर्थिक वर्षको नौ महिनाको तुलनामा यो आर्थिक वर्षको नौ महिनामा कूल वस्तु आयात २१ दशमलव ३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । वस्तु आयात गरिने देशका आधारमा भारतबाट भएको आयात १९ दशमलव २ प्रतिशत, चीनबाट भएको आयात ३५ दशमलव ३ प्रतिशत र अन्य देशबाट भएको आयात १९ प्रतिशतले बढेको छ ।

विगतका वर्षभन्दा निर्यातको दर पनि केही बढेको छ । तर आयात धेरै हुँदा व्यापार घाटाको बढ्दो ग्राफ घटेको छैन । वस्तु आयात गत वर्षको नौ महिनाको तुलनामा १६ दशमलव ९ प्रतिशतले बढेर ६९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको नौ महिनामा निर्यात ८ दशमलव २ प्रतिशतले बढेको थियो ।

गन्तव्यका आधारमा भारततर्फ २८ दशमलव ९ प्रतिशत र अन्य देशमा निर्यात ३.० प्रतिशतले वृद्धि भएको छ । तर चीनतर्फको वस्तु निर्यात भने २५ दशमलव ७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका बस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

पछिल्लो नौ महिनामा कुल वस्तु व्यापार घाटा पोहोरको तुलनामा २१ दशमलव ६ प्रतिशतले बढेर ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । 

शोधनान्तर घाटा झण्डै ६५ अर्ब, विदेशी लगानी पोहोरभन्दा आधा कम

नौ महिनामा चालु खाता घाटा विस्तार भएर २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको नौ महिनामा यस्तो घाटा १ अर्ब ७२ अर्ब ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा यो आर्थिक वर्षको नौ महिनामा १ अर्ब ७९ करोड पुगेको छ ।

अहिले शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको नौ महिनामा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा रहेको थियो ।अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनामा १४ करोड ४१ लाखले घाटामा रहेकोमा हाल ५६ करोड ८३ लाखले घाटामा रहेको छ ।

पछिल्लो नौ महिनामा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षका पहिलो नौ महिनामा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रहेको थियो रहेको थियो ।

सरकारी खर्च पनि निराशाजनक, राजश्व संकलन बढ्यो

पछिल्लो नौ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले खर्चको अवस्था पनि निराशाजनक देखाएको छ । बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कूल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड पुगेको छ ।

तर अघिल्लो वर्षको नौ महिनामा कूल सरकारी खर्च ६ खर्ब ४३ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । पछिल्लो नौ महिनामा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) १९ दशमलव ५ प्रतिशतले बढेर ६ खर्ब ४ अर्ब ६० करोड पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २० दशमलव ८ प्रतिशतले  धेरै हो । 

२०७५ चैत मसान्तमा सरकारका विभिन्न खाताहरुमा १ खर्ब ४४ अर्ब ९२ करोड (स्थानीय तहको खातामा रहेको रु.५१ अर्ब ४७ करोड समेत) नगद मौज्दात रहेको छ ।

पूँजी बजारमा सन्तुलन 

२०७४ चैत मसान्तमा १२ सय ७७ दशमलव ६ विन्दुमा रहेको नेप्से परिसूचक मा यो चैत महिनामा ११ सय ८४ विन्दुमा झरेको छ । धितोपत्र बजार २ दशमलव ४ प्रतिशतले घटेर १४ खर्ब ६२ अर्ब ५१ करोड कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य २०७५ चैत मसान्तमा ४ खर्ब ७ अर्ब ६४ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा २३ अर्ब ६० करोड बराबरको साधारण सेयर, ८ अर्ब ५९ करोड बराबरको हकप्रद सेयर, १५ अर्ब २ करोड बराबरको बोनस सेयर र ३५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ४७ अर्ब ५७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया