प्रदेश पाँचका सबै स्थानीय तहमा बैंकका शाखा, देशका २८ स्थानीय तह अझै बैंकविहीन

 जेठ ६, २०७६ सोमबार ११:५२:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – अझै पनि २८ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तिय स्थितिको रिपोर्टले अझै पनि २८ वटा स्थानीय तह बैंकका शाखाविहीन रहेको देखाएको छ ।

सरकारले यो वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गर्ने जनाए पनि ७ सय ५३ वटा स्थानीय तहमध्ये अहिले सम्म ७ सय २५ स्थानीय तहमा मात्रै बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश १ का १ सय ३७ वटा स्थानीय तह मध्ये  १ सय ३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३४ स्थानीय तहमा, प्रदेश ३ का १ सय १९ मध्ये १ सय १७ स्थानीय तहमा र गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये ८३ वटा तहमा बैंकका शाखा पुगेका छन् । यस्तै प्रदेश पाँचका सबै १ सय ९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

कर्णाली प्रदेशका ७९ मध्ये ६७ वटा स्थानीय तहमा मात्रै बैंकका शाखा पुगेका छन् भने सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । बैंकका शाखा नपुगेका स्थानीय तहमा छिट्टै नै शाखा पुर्‍याउने तयारी भैरहेको राष्ट्र बैंकले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया