बंगलादेश : ६५ दिन माछा मार्न प्रतिबन्ध

 जेठ ६, २०७६ सोमबार २०:३६:४७ | एजेन्सी
unn.prixa.net

बंगलादेशको सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउनका लागि बंगलादेशकाे तटीय क्षेत्रमा अब ६५ दिनसम्म माछा मार्न पाइने छैन । 

सबै प्रकारको माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइने बंगलादेशको सरकारले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई बताएको छ । तट रक्षकहरुले सोमबारदेखि यो नियम लागू गर्दैछन् । 

तर हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने सरकारी निर्णयको विरुद्धमा उत्रने तयारी गर्दैछन् । उनीहरुले अरु आम्दानीको स्रोत नभएको बताएका छन् । प्रतिबन्ध २० मेदेखि २३ जुलाईसम्म लागू हुनेछ ।

‘हामीले यसलाई संयमतापूर्वक उपयोग गरेनौं भने एकदिन यो संशाधन समाप्त हुनेछ । हामीहरुले माछाको संख्या बढ्न र प्रजनन पनि गर्न दिनुपर्छ । नभए भविष्यमा ठूलो क्षति बेहोर्नुपर्छ’, मत्स्यपालन र पशुधन मन्त्री अशरफ अलीले भने । 

सरकारका अनुसार, तट रक्षक र जलसेनाले बंगालको खाडीमा माछा मार्नबाट प्रतिबन्ध लगाउनेछन् । बंगलादेशको सरकारले अब प्रत्येक वर्ष २० मेदेखि २३ जुलाईसम्म माछा मार्न प्रतिबन्ध लगाउने जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया