मिडियासम्बन्धी विधेयकको पार्टीमा छलफल भएन : नेता नेपाल

 जेठ ७, २०७६ मंगलबार ७:४९:५८ | रासस
unn.prixa.net

दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले गएको वैशाख २६ गते संसद्मा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल नभएको बताउनुभएको छ ।

उहाँले पार्टीमा छलफल विना नै विधेयक संसद्मा दर्ता गरिएको हुँदा केही विवाद सिर्जना भएको बताउनुभयो । प्रेस सङ्गठन दाङको आयोजनामा साेमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विधेयकलाई लिएर पत्रकारले असन्तुष्टि जनाइरहेकाले पत्रकारको हित विपरीत भए सच्याइने पनि उल्लेख गर्नुभयो । 

उहाँले पछिल्लो समय सञ्चार संस्थामा देखिएको मनपरीलाई भने सच्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । “मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन”, उहाँले भन्नुभयोे, “पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई रोक्नका लागि पत्रकारका नेता र राज्यका निकाय अग्रसर हुनुपर्छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले आफ्नै बारेमा पनि पटक पटक पत्रकारहरूले गलत सूचना दिने, गलत टिप्पणी, विश्लेषण गरेकाप्रति असन्तुष्टि जनाउँदै केही सञ्चारकर्मीले गरेको गलत कामको सजाय सबैले पाउन नहुनेमा जोड दिनुभयो ।  

देशको पछिल्लो अवस्थाका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, “जहाँसुकै बर्बाद भयो, भत्कियो, काम भएन, विकास भएन भन्नेको जमात बढेको छ, तर काम गरेको देख्ने प्रवृति छैन ।” उहाँले प्रतिपक्षलाई पनि कहिलेकाही सकारात्मक चिन्तनको विकास गरी जनतामा सही सन्देश लैजान आग्रह गर्नुभयो । सत्ता पक्षको विरोध गर्ने नाममा मनपरी बोल्ने र गलत सन्देश लैजाने परिपाटी ठिक नभएको उहाँको भनाइ थियो । 

उहाँले प्रतिपक्षी नेता कार्यकर्ताले राम्रोलाई राम्रो भन्दैमा प्रतिपक्षको अस्तित्व समाप्त नहुने उल्लेख गर्दै सत्य र यर्थाथ बोल्नेको उचाइ झनै बढेर जाने बताउनुभयो । नेकपामा भइरहेको पार्टी एकताको विषयमा नेता नेपालले पाटीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरका एकता प्रक्रिया टुङ्गिए पनि अन्य तमाम काम गर्न बाँकी रहेको जानकारी गर्नुभयो । 

उहाँले एकता प्रक्रियामा केही कमी कमजोरी एवं ढिलाइ भए पनि आत्ति हाल्नुपर्ने स्थिति नरहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया