विश्वकप क्रिकेटमा ४ सयभन्दा बढी रनकाे कीर्तिमान

 जेठ ७, २०७६ मंगलबार १२:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपमा १२ ‌औँ संस्करण सुरु हुन अब केही दिनमात्र बाँकी छ । इंग्ल्याण्ड र वेल्समा हुने प्रतियोगितामा ठूलो स्कोर बन्ने अपेक्षा गरिएको छ । तुलनात्मक रुपमा सानो बाउण्ड्री भएका कारण इंग्ल्याण्ड र वेल्समा ४०० भन्दा माथिको स्कोर बन्न सक्नेछ ।

यसै कारणले गर्दा इंग्ल्याण्ड र वेल्सको क्रिकेट बोर्डले फ्यानहरुका लागि यस्तो स्कोरकार्ड डिजाइन गरेको छ जसमा ५०० रन सम्म भर्न सकिन्छ । ५०० रनको स्कोर विश्वकपमा बन्न सक्छ की सक्दैन त्यो केही समयपछि नै थाहा हुन्छ । अहिले भने विश्वकपमा ४०० रनभन्दा बढी स्कोर बनाउने टिमको बारेमा जानौँ ।

भारतको ४१३ रन

विश्वकपमा चार पटक ४०० भन्दा बढीको स्कोर बनेको छ । दक्षिण अफ्रिकाले दुई पटक चार सय रनको आँकडा पार गरेको छ । विश्रवकपमा चार सयभन्दा बढी स्काेर गर्ने पहिलाे टिम भारत हाे ।

सन् २००७ मा बरमुडाविरुद्धको खेलमा भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै ४१३ रन बनाएको थियो । राहुल द्रविडको कप्तानीमा रहेको भारतले २५७ रनको अन्तरले जित हात पारेको थियो ।

यो म्याचमा वीरेन्द्र सहवागले ११४, सौरभ गांगुलीले ८९, युवराज सिंहले ८३ र सचिन तेन्दुलकरले अविजित ५७ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाको ४०८ रन

भारतपछि दक्षिण अफ्रिकाले ४०० रनको आँकडा पार गरेको थियो । सन् २०१५ को विश्वकपमा वेष्ट इण्डिजविरुद्धको खेलमा दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाउँदै ४०८ रन बनाएको थियो । सो म्याचमा एबी भिलियर्सले विसफोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो १५० रन बनाउने रेकर्ड बनाएका थिए ।

उनले ६४ बलमा १५० रन बनाएका थिए । कुल ६६ बल खेलेर डि भिलियर्सले १७ वटा चौका र आठ छक्का प्रहार गरेका थिए । उनले कुल ६६ बलमा १६२ रन बनाएका थिए । हसिम अमलाले ६५, फाफ डू प्लेसीले ६२ र रिली रोसोले ६१ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाले सो म्याचमा वेष्ट इण्डिजविरुद्ध २५७ रनको शानदार जित हात पारेको थियो ।

दक्षिण अफ्रिकाको उत्कृष्ट फर्म

सन् २०१५ कै संस्करणमा दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्ध पनि ४०० रन पार गर्‍यो । उसले ५० ओभरमा चार विकेट गुमाउँदै ४११ रन बनाएका थिए । यस म्याचमा हसिम अमलला चम्किए । उनले १५९ रन बनाएका थिए । डू प्लेसीले पनि १०९ रन बनाए भने रिली रोसोले ६१ रन जोडे । यो म्याचमा दक्षिण अफ्रिकाले २०१ रनको जित निकालेको थियो ।

अष्ट्रेलियाको कीर्तिमानी स्कोर

अष्ट्रेलियामा भएको विश्वकपमा तीनवटा खेलमा ४०० रन भन्दा बढीको स्कोर बन्यो । अफगानिस्तानविरुद्धको खेलमा घरेलु टिमले ४१७ रन बनाउँदै भारतले बनाएको ४१३ रनको कीर्तिमान तोडेको थियो ।

यस म्याचमा डेविड वार्नरले १३३ बलमा १९ चौका र ५ छक्का प्रहा गर्दै १७८ रन बनाएका थिए । वार्नरसँगै स्टिभ स्मिथले ९५ र ग्लेन म्याक्सवेलले ८८ रनको इनिङ खेलेका थिए । यस खेलमा अष्ट्रेलिया २७५ रनले विजयी भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया