गोक्यो तेश्रो तालबाट खोजी टोली फर्कियो, एक जनाको शव भेटिएन

 जेठ ७, २०७६ मंगलबार १७:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेका तीन किशाेरमध्ये एक जनाको शव रोबाेटले पनि पत्ता लगाउन सकेन । रोबाेटसहित विशेषज्ञको टोलीले गोक्यो तालमा डुबेकामध्ये सुनिल बराइलीको शव गएको बिहीबार निकालेको थियो । 

तालको सम्भावित क्षेत्रमा खोजी गर्दा पनि पेम्बा दोर्जी शेर्पाको शव भने नभेटिएको खोजी टोलीमा सहभागी विक्रम श्रेष्ठले बताउनुभयो । शव नभेटिएपछि खोजी गर्न गएको टोली खोजी कार्य बन्द गरेर म‌ंगलबार फर्केर काठमाण्डाै आइसकेकाे छ ।

टोली फर्किएसँगै अब पेम्बा दोर्जी शेर्पाको शव भेट्ने आशा निकै कम भएको आफन्तको भनाइ छ । 

गएको साउनमा पौडी खेल्ने क्रममा किशाेरहरु डुबेपछि परिचालन भएको खोज तथा उद्धार टोलीले पेम्बा नुरु शेर्पाको शव निकालेको थियो ।

त्यसबेला खोजी कार्य बन्द गरिएकोमा खुम्बु घुम्न आएका एक पर्यटकको सहयोगमा अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले रोबाेट तथा अन्य उपकरण प्रयोग गरी यस पटक शवको खोजी गरेको थियो । 

गएको असोजमा खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । २०७५ साउन १९ गते खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तेश्रो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र डुबेर हराएका हुन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया