बिहे भनेको प्रेमको अन्त्येष्टि हो : डा. योगी विकाशानन्द

 जेठ ७, २०७६ मंगलबार १९:७:३४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मनोक्रान्ति प्रवर्तक हुनुहुन्छ, डा. योगी विकाशानन्द । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क बृहत् योग शिविरमा प्रमुख प्रशिक्षकको रुपमा लमजुङको सुन्दरबजार पुग्नुभएका उहाँसँग योग, ध्यान, अध्यात्म र प्रेमका विषयमा केन्द्रित रही उज्यालोका लमजुङ सहकर्मी श्यामशितल परियारले संक्षिप्त कुराकानी गर्नुभएको छ । 

नमस्कार । कुराकानीमा यहाँलाई स्वागत छ ।

धन्यवाद । 

आराम हुनुहुन्छ ?

अद्भूत् छु । (लामो हाँसो...)

यहाँको हाँसो बडो लोभलाग्दो छ है ?

हजुर । लोभ लगाउनु हुँदैन, हाँसिहाल्ने । (हाँसो...)

मान्छे कुनै न कुनै रुपमा मनमा पीर, व्यथा, दुःख–पीडा बोकेर बाँचिरहेका छन् । आखिर मान्छे दुःखी हुनुका कारण के रहेछ ?

धेरै लोभ, धेरै इच्छा । अनियन्त्रित इच्छा जब बढदै जान्छ, त्यति नै दुःख नि बढ्दै जान्छ । त्यसकारण दुःखबाट मुक्त हुनुछ भने लोभबाट मुक्त हुनुपर्छ । 

दुःख–पीडा, तनाव भुलेर हाँसीखुशी साथ जिन्दगी कसरी जिउन सकिएला त ?

बिहान उठ्नासाथ योग गर्ने । ध्यान गर्ने । प्राणायम गर्ने । यसले तपाईँलाई भित्रबाट ऊर्जा थप्छ । ‘केमिकल चेञ्ज’ गराउँछ र तृप्तिको अनुभूति दिन्छ । जब मन तृप्त हुन्छ । तृप्त मनले नचाहिने कुरा खोज्दैन । किनकी तृप्ति भनेकै अब मलाई केही चाहिँदैन भनेको हो । (हाँसो...)

पछिल्लो समय योग र अध्यात्मबारे खुबै चर्चा हुने गर्छ । योग र अध्यात्मलाई अर्थ्याइदिनुस् न ।

अध्यात्म भनेको एउटा ठूलो विषय भयो । यो अध्यात्मभित्र थुपै आध्यात्मिक यात्रा गर्ने माध्यममध्ये एउटा हो, योग साधना । जुन हामी योग आसन भनेर अहिले चिनिरहेका छौँ । त्यो योगको एउटा सानो ‘पार्ट’ मात्रै हो । त्यसपछि, प्राणायम, ध्यान, मुद्रा, प्रार्थनाका कुरा हुन्छन् । यी सबै कुरा अध्यात्मको शाखा प्रशाखा हुन् । यसरी बुझौँ ।

योग र ध्यानको विषयमा जानकारी गराउन यहाँ देश–विदेशका विभिन्न ठाउँमा पुगिरहनुहुन्छ । मानव जीवनमा योग र ध्यानको आवश्यकता किन छ ?

पहिलो कुरा त मान्छेलाई यो आधुनिक समाज, आधुनिक संस्कृतिले स्वस्थ बनाउन सकिरहेको छैन, शारीरिक रुपमा । किनकी नसर्ने रोगबाट मान्छे मुक्त भइरहेको छैन । मानसिक रुपमा कुरा गर्ने हो भने मान्छे आफैचाहिँ दुःखी छ । 

पीडित छ । सन्तुष्ट छैन । यो मानसिक समस्या छ । अनि सामाजिक समस्याको कुरा गर्ने हो भने परिवारभित्रै एकआपसमा सौहार्दतापूर्ण सम्बन्ध बिग्रँदै गएको अवस्था छ । यो सबै कुरालाई सम्बोधन गर्ने माध्यम योग, ध्यान, प्राणायम आध्यात्मिकता नै हो । 

त्यसकारण आधुनिक समयमा मानिसको अभाव भनेकै स्वास्थ्य, शान्ति, आनन्द हो । यी सबै कुरालाई फेरि जोड्ने चिजचाहिँ योगले नै गर्छ । ध्यानले गर्छ ।

प्रगति गर्न सकिएन, भएन भनेर मनमा निराशा पाल्नेहरु प्रशस्तै भेटिन्छन् । साच्चै जीवनमा प्रगति कसरी हासिल गर्न सकिन्छ ?

प्रगतिले सुखी हुने हो प्रगति गरेका थुप्रै मान्छे छन् । उनीहरु पनि दुःखी छन्  भिखारीले मात्र कमाइरहने, मागिरहने हैन । विनोद चौधरी यो देशका सबैभन्दा धनी मान्छे । उस्ले पनि कमाइरहेको छ नि । कसलाई पुगेको छ र । (हाँसो...)

कमाएर खुशी हुने हो भने त कमाइसकेकाहरु खुशी हुनुपर्ने । त्यसकारण प्रगतिबाट मानिस खुशी हुँदैन । प्रगतिबाट भौतिक उन्नति हुन्छ । मानसिक शान्ति, आनन्द जस्ता कुरा प्राप्ति हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । 

प्रगति कसरी गर्ने ? भन्ने जुन यहाँको प्रश्न छ । यहाँ हामीले दुई कुरा ‘सिरियस्ली’ बुझ्न सकिन्छ ।

मैले मनले खाएको मेरो विषयलाई मैले व्यवसाय बनाउन सक्नुपर्छ । ‘प्यासन’ र ‘प्रोफेसन’ एउटै हुनुपर्यो । त्यसरी एउटै भइसकेपछि प्रगति गर्दा पनि, नगर्दा पनि उ खुशी हुन्छ ।

किनकी उसलाई आफ्नो प्यासनमा काम गर्दा आनन्द आउँछ । त्यसैले हामीले ‘गोल ओरियण्टेड’ होइन कि ‘प्रोसेस ओरियण्टेड’ काम गर्नुपर्छ । कुनै दिन म लक्ष्य हासिल गरौँला, खुशी होउँला । यो ‘गोल ओरियण्टेड’ भयो ।

‘प्रोसेस ओरियण्टेड’ भनेको, होइन कुनै दिन छोडौँ अहिलेबाट यो काम गर्दा मलाई आनन्द आउँछ । यो बाटोबाट हिँड्दा मलाई आनन्द आउँछ, पुग्न नपग्नु बेग्लै कुरा । हिँड्नुमा आनन्द लिनुपर्छ । 

जब हाम्रो मानसिकता ‘प्रोसेस ओरियण्टेड’ हुन्छ नि तब मात्रै मान्छे खुशी रहन्छ । प्रगति पनि गर्छ । 

चित्रकलामा औधी रुची भएको मान्छे । व्यावसायिक चित्रकलाबाटै राम्रो नाम, दाम कमाएको मान्छे । पछि फेरि योग, ध्यान अध्यात्मतिर तानिनुभयो, किन ?

कब्जियत । कब्जियत । मलाई रोग लागेको थ्यो बीचमा । मलाई कब्जियत नभएको भए म कलाकार नै बन्थे । कब्जियत भइसकेपछि डा. कहाँ जाने हो । औषधि, अस्पताल खोज्ने हो । उनीहरुले निको नपारेपछि वैकल्पिक कुरा खोज्दै जाँदा योगमा ठोक्किएँ । 

योगमा प्राणायम, ध्यान गर्दै जाँदा मेरो रुपान्तरण भयो । मैले नाम–दाम कमाएको थिएँ, त्यो बेला पनि पेन्टिङको माध्यमबाट । त्योभन्दा कयौँ गुना ज्ञान, आनन्दी, शान्ति त योग, ध्यानमा छ । त्यो कुरा बुझिसेकपछि यतातिर लागेँ । ठूलो कुरा प्राप्त गरेपछि सानो कुरा आफै छुटेर जाने कुरा हो ।

अब प्रसंग बदलौँ, प्रेमलाई कसरी बुझ्नुहुन्छ ?

प्रेम पानी जस्तै हो । पोखरी जस्तै हो । मान्छेले पौडी खेल्न जानेन भने पोखरीले डुबाएर मारिदिन्छ । पौडी खेल्न जान्यो भने त्यो पोखरीले हामीलाई आनन्द, सुख दिन्छ । ‘कम्पिटिसन’ पर्यो भने ‘प्राइज’ पनि दिन्छ

(लामो हाँसो...) प्रेम पनि त्यस्तै हो ।

जीवनमा हामीले जसलाई प्रेम भनिरहेका छौँ । त्यो प्रेम नभइकन प्रेमको विकृति भयो । त्यसलाई ‘कण्डिसनल् लभ’ भनिन्छ । जस्तै, आमाबाबाले छोराछोरीलाई, श्रीमती, श्रीमानलाई हामी प्यार गर्छौ नि, माया भन्छौ नि । यसलाई माया भनिदैन, मोह भनिन्छ । मोहले नहुँदा नि दुःख हुने भो । माया नपाउँदा पनि । माया पाउँदा पनि पुगेन भन्ने गनासो हुने भो । 

अब कति दिने ? त्यसकारण यो प्रेम होइन, यो मोह हो । प्रेमको नाउँबाट हामीले मोहलाई उठाएर ल्याएर बसेका छौँ । र मोहले त दुःख दिन्छ । 

मैले भनिसकेँ, यदि माया पाइएन भनेपनि दुःखी हुने भो । पाए पनि कम भयो भनेर दुःखी हुने भो । अझ तुलना गर्छ, उसले । पहिलाजस्तो माया गरेन, फलानोलाई जस्तो माया गरेन भनेर उ खाली तुलना मात्रै गरेर बस्छ । अनि माया दिँदा तुलना गरेर सानो पारिदिने, नदिँदा दिएन भनेर दुःखी हुने । 

जीवनको केन्द्रविन्दु नै माया हो, प्रेम हो । तर यो केन्द्रविन्दु ‘अनकण्डिसनल लभ’ हुनुपर्यो । त्यो भनेको मलाई प्रेम गर्नुमा आनन्द आउनुपर्यो । उसले दुःख दिओस् या सुख । मैले भनेको मानोस् या नमानोस् । जे गरुन् त्यो उसको मर्जीको कुरा । तर प्रेम गर्नुमा आनन्द आउनुपर्यो । यस्तो आनन्द आउने प्रेमलाई ‘अनकण्डिसनल लभ’ भनिन्छ ।

यो लभ जीवनको प्राण हो । यो लभ ‘हिलिङ’ पनि हो । 

फेरि यो ‘दे दे प्यार दे’ भनेर माग्ने चीज होइन । यो दिने चिज हो । तपाईँले दिएपछि त्यो फर्किन्छ आफै । फर्किएन भने ठिकै छ । यसरी ‘प्रेमलाई अनकण्डिसनल’ बनायो भने त्यो जीवनको लागि सबैभन्दा मिठो र सार्थक बन्न जान्छ ।

र अन्त्यमा, एकअर्काको प्रेममा रहेका प्रेमी र प्रेमिकाबीच बिहे भएमा त्यसलाई सफल र कारणवश प्रेममा बिहे भएन भने त्यसलाई असफल प्रेम भनेर बुझ्ने, प्राय: आम बुझाइ छ । के बिहेसम्म पुग्ने प्रेमलाई मात्रै सफल प्रेम मान्ने ? के प्रेम बिहेसम्मै पुग्नै पर्ने हो र ?

बिहे गर्यो भने प्रेम सकियो भनेर बुझ्ने हो । बिहे भनेको प्रेमको अन्त्येष्टि हो ।

(हाँसो...)

किनकी जहाँ नियम हुन्छ,त्यहाँ प्रेम हुँदैन । जहाँ प्रेम हुृन्छ, त्यहाँ नियम हुँदैन । बिहे गर्नुअघि नियम हुँदैन नि, त्यसकारण बडो मस्ती हुन्छ । बिहे गरिसकेपछि नियम मात्र हुन्छ, प्रेम मरिसकेको हुन्छ । 

संसारभरिकै कहानी पल्टाउने हो भने, ‘रोमियो जुलियट’ ‘मुनामदन’, ‘लैला मज्नु’ जस्ता अमर प्रेम कहानी छन् । ती प्रेम कहानी किन अमर प्रेम कहानी भए तपाईँलाई थाहा छ ? किनकी उनीहरु सबै मरेर गइसके ।

बिहे भनेको प्रेमको अन्त्येष्टि हो, हाम्रो समाजमा ।
(लामो हाँसो...)

विकाशानन्दसँगकाे कुराकानी सुन्नुहाेस् 

 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • Anil Neupane

    May 22, 2019, 1:01 p.m.

    बिहे भनेको प्रेमको रोमाञ्कारी सुरुवात हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया