भारतीय राजनीतिमा पूर्व क्रिकेटर गम्भीरकाे सुखद डेब्यू, पूर्वी दिल्लीबाट जितनजिक

 जेठ ९, २०७६ बिहिबार १६:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले राजनीतिमा सफलता हात पारेका छन् । लोकसभामा पूर्वी दिल्लीबाट बीजेपी  उम्मेदवार बनेका गम्भीर जितनजिक पुगेका छन् ।

उनले खसेकाे मतमध्ये अहिलेसम्म लगभग ५३ प्रतिशत  मत प्राप्त गरिसकेकाले उनको जित निश्चितजस्तै देखिएकाे छ । उनले अहिलेसम्म ४ लाख ७९ हजार मत प्राप्त गरेका छन् । दाेस्राे स्थानमा रहेका कांग्रेस उम्मेदवार अरबिन्दर सिंह लभ्लीले २ लाख ३५ हजार मत प्राप्त गर्दा आम आदमी पार्टीकी उम्मेदवार आतिशीले १ लाख ६४ हजार मत प्राप्त गरेकी छिन् । पूर्वी दिल्ली लाेकसभा क्षेत्रमा अहिलेसम्म झण्डै ९ लाख मत गनिएकाे छ ।

गम्भीर राष्ट्रवादी छविका कारण दिल्लीको राजनीतिमा चर्चित छ । क्रिकेटको मैदानमा आक्रामक पारी खेलेका गम्भीरले राजनीतिमा पनि दमदार डेब्यू गरेका छन् । २००७ को टी–२० विश्वकप जिताउँदा महत्वपूर्ण भूमिका खेलेका गम्भीरले २०११ को आईसीसी विश्वकप जिताउँदा फाइनलमा ९७ रन बनाएका थिए ।

यसैगरी पूर्व भारतीय क्रिकेटर कीर्ति आजाद पनि चुनावी मैदानमा छन् । झारखण्डमा कंग्रेसबाट उम्मेदवार बनेका आजाद भने चुनावी पारीमा सम्हालिएर प्रदर्शन गर्न सकेका छैनन् । अहिलेसम्म उनी भाजपाका उम्मेदवारभन्दा पछाडि रहेका छन् । उनले २०१४ को लोकसभा निर्वाचनमा बीजेपीबाट उम्मेदवार बन्दै सांसद बनेका थिए ।

तर भाजपा छाडेर कंग्रेसमा गएकै कारण उनलाई अहिले मुश्किल परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया