विराटनगर–इटहरी ६ लेन सडकको लापरवाही: अन्तत: सडक बीचका पोल उखेलिने

 जेठ ९, २०७६ बिहिबार १७:२६:५४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडकका बीचमा रहेका बिजुलीका खम्बाहरु उखेलिने भएका छन् ।

नमुना व्यापारिक मार्ग निर्माणको काम एक त ढिला भएको  छ भने भएको काममा पनि मनलाग्दी हुन थालेको समाचार उज्यालो अनलाइनमा आएपछि विद्युत् प्राधिकरणकाे ध्यान आकर्षण भएको छ । 

६ लेन  सडकको बीच भागमा बिजुलीको खम्बा राखेर  कालोपत्रे गरिएकाे समाचार सार्वजनिक भएपछि प्राधिकरणकाे ध्यान आकर्षण भएकाे हाे । सडककाे ठेक्का सम्झौतामा नै नपरेको क्रसिङको विषय ठेक्का लगाउँदादेखि नै ध्यान नदिएको देखिएको छ । ठेक्कामा छुटेको कारण ठेकेदार कम्पनीले यो काम नगरेर कालोपत्रे गरेको भन्दै सडक बिस्तार आयोजना र विद्युत् प्राधिकरणसम्म यो बिषय पुगेको हो  ।

रानी–धरान ६ लेन सडक निर्माणको काम २०६९-७० को बजेट पछि शुरु भएको हो । तर बजेट आउने र निर्माण हुने क्रम लामै समय भएपनि अहिलेसम्म कुनै ठाउँमा काम पूरा भएको छैन । ठेकेदार कम्पनीकाे मनपरी तथा अनुगमनको काम पनि फितलो भएको स्थानीयको बुझाइ छ ।

टंकीसिनवारीका स्थानीय कपिल सुनारले काममा लापरवाही भएको बताउनुभयो । आधा दर्जन बढी खम्बाहरु सडकको बीचमा नै छाडेर कालो पत्रे गरिएपछि  परियोजना नै जिम्मेवार नदेखिएको उहाँले आरोप लगाउनुभयो । 

ठेकेदार कम्पनीले भने आएका समस्या समाधान गरिदिए काम पूरा गर्न समस्या नभएको बताउँदै आएको छ । अबको काम पूरा गर्दा डिभाइडरमा एउटा र दुई छेउमा  १-१ वटा खम्बा रहनेछन् जसकाे उचाइ भनेको १३ मिटरको हुनेछ । 

डिभाइडर भनेको सडकको बीच भाग भएकाले त्यहीँ खम्बा गाडेर तत्काललाई समस्या समाधान निकाल्ने दाउमा परियोजना र  विद्युत् प्राधिकरण छन् । आयोजनाका इन्जिनियर गौतम कुमार देवले तत्काल डिभाइडरमा खम्बा नगाडिए समस्याको समाधान ननिस्कले बताउनुहुन्छ । 

एकले अर्कोलाई आरोप लगाउने र  आफू पञ्छिने प्रवृत्तिका कारण निर्माणाधीन सडकका कामहरु बेला बेला विवादमा पर्दै आएका छन्  । ठेक्का लगाउने, सम्झौता गर्ने र कार्यान्वयन भए-नभएको सबै काम भनेको ६ लेन सडक आयोजनाको नै हो । तर समस्या आएपछि जोडिने भनेको सम्बन्धित कार्यालयहरु पनि  हुन् ।

विवादसँग जोडिएको विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले ठेक्का प्याकेजमा लगाइएकोले यो विषय आफ्नो नभएको दावी गर्दै आएको छ । कार्यालयका प्रमुख राजिवकुमार सिंहले  सुपरिवेक्षण र लाइन मिलाउने मात्र काम आफ्नो भएको बताउनुभयो ।

‘मेरो जिम्मेवारी हैन भनेर चुप लागेर बस्ने कुरा आउँदैन । काममा हेलचेक्र्याइँ भयो भने त्यसलाई व्यवस्थित गर्नैपर्छ । म यो समस्या चाँडै समाधान गर्नको लागि  लागिपरेको छु,’ सिंहले भन्नुभयो, ‘अबको केही दिन भित्रमा बीच सडकको खम्बा उखेलिने छ ।’ 

बिजुलीका पोलसँग सम्बन्धित निर्माण सामग्री समयमा उपलब्ध नगराउँदा पनि समस्या देखिएको बताइन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया