सन्दीप आईपीएलको बलिङतर्फ शीर्ष स्थानमा

 जेठ ५, २०७५ शनिबार १३:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ५ – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को जारी संस्करणमा २ खेल मात्रै खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन् । 

दिल्लीले ११ ओटा खेलमा त सन्दीपलाई बेन्चमै राख्यो । १२ औँ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग सन्दीपलाई मौका दियो दिल्लीले । आफ्नो डेब्यू खेलमै सन्दीपले पार्थिव पटेलको विकेट लिए । उनले बेंग्लोरसँगको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिए । पहिलो खेलमै थोरै रन दिएर एक विकेट लिएपछि विश्व प्रख्यात क्रिकेटरदेखि विश्लेषकसम्मले सन्दीपको प्रशंसा गरे । 

अझ शुक्रबार भएको चेन्नईविरुद्धको खेलमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान सुरेश रैना सन्दीपको बलमै आउट भएपछि उनको चर्चा एकाएक चुलिन पुगेको छ ।

सुरेश रैनाले सन्दीपको पहिलो बल नै फेस गर्न सकेनन् । सन्दीपले गुगली बल फ्ँयाक्दै रैनालाई विजय शंकरबाट क्याच आउट गराउन सफल भए । चेन्नईसँगको खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । उनले स्टाइलिस प्लेयर्स अफ् द म्याच समेत पाए । हिजोको खेलसँगै सन्दीप आईपीएलमै सबैभन्दा कम रन दिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४६ रन दिएर २ विकेट लिएका छन् । उनको बलिङ औसत ५ दशमलब ७५ रहेको छ । 

 

सबैभन्दा कम रन दिने बलरको सूचीको दोस्रो स्थानमा छन् राजस्थान रोयल्सका इश सोधी । उनले चार खेलमा १५ ओभर बलिङ गर्दै ८९ रन खर्चेका छन् । उनको बलिङ इकोनोमी रेट ५ दशमलब ९३ रहेको छ । 

त्यस्तै सनराजर्स हैदराबादका बलर सन्दीप शर्मा बेस्ट बलिङ इकोनोमीमा तेस्रो स्थानमा छन् । उनले ९ म्याचमा ३५ ओभर बलिङ गर्दै २२१ रन दिएर ९ विकेट लिएका छन् । उनको बलिङ इकानोमी रेट ६ दशमलब ३१ रहेको छ । त्यस्तै राजस्थान रोयल्सका डी आर्की शर्ट चौथो स्थानमा रहेका छन् । उनले दुई खेलमा तीन ओभर बलिङ गर्दै १९ रन दिएर एक विकेट लिएका छन् । उनको बलिङ इकोनोमी रेट ६ दशमलब ३३ रहेको छ । 

त्यस्तै टी–२० क्रिकेटमा उत्कृष्ट बलरका रुपमा रहेका जसप्रीत बुमराह तालिकाको पाँचौ स्थानमा रहेका छन् । उनले १३ खेलमा ५० ओभर बलिङ गर्दै ३४३ रन दिएर १६ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी रेट ६ दशमलब ८६ रहेको छ । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया