प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ १४ गते: प्रदेशको मौलिकता र पहिचान समेटिने

 जेठ १०, २०७६ शुक्रबार ९:०:५५ | हरि हुमागाईं

मकवानपुर - प्रदेश नम्बर–३ सरकारले यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

नीति तथा कार्यक्रमका लागि सबैजसो तयारी पूरा भएको छ  भने केही बाँकी काम भइरहेकाे छ । जेठ १४ गतेको संसद बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । 

प्रदेश सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो । पहिलो वर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रका कामलाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।

यसको तयारीका लागि कर्मचारीहरु निरन्तर काममा खटिएको उहाँले बताउनुभयो । प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिने गरी नीति तथा कार्यक्रममा समेटिने मन्त्री ढुंगेलले बताउनुभयो । 

प्रदेशको सांस्कृतिक, भाषिक, सामाजिक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याइने उहाँको भनाइ छ । प्रदेश ३ का सातवटै मन्त्रालयले आफ्ना प्रस्तुति राखिसकेपछि यही आधारमा नीति तथा कार्यक्रम ल्याउने तयारी छ । नीति तथा कार्यक्रममा मासु, दूध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण वर्ष सफल पार्ने, पूर्वाधार विकासलगायतका काम समेटिने गरी नीति तथा कार्यक्रम तयार हुँदैछ । संघीय सरकारको नारालाई प्रदेश सरकारले साथ दिनेगरी नीति तथा कार्यक्रम ल्याइने पनि उहाँले बताउनुभयो । 

नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने, कृषिमा स्वरोजगार सृजना गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिने तयारी रहेको आर्थिक मन्त्रालयले जनाएको छ । यो कार्यक्रमका लागि आर्थिक मामिला मन्त्रालयका सबै महाशाखा कर्मचारीहरु बिहानदेखि बेलुकासम्म काममा खटिएका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया