अपराध न्यूनिकरणका लागि प्रहरीका नयाँ सुरक्षा योजना

 जेठ १०, २०७६ शुक्रबार ९:४८:४९ | साजन सुबेदी

काठमाण्डाै - गएको वैशाख २४ गते काठमाण्डौ महानगरीय प्रहरी परिसर तथा महानगरीय अपराध महाशाखाको नेतृत्वमा परिवर्तन भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका साविक प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको ठाउँमा नेपाल प्रहरीका पूर्व प्रवक्ता प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुबेदी नियुक्त हुनुभएको छ । प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामा त्यसै दिनदेखि लागु औषध दुव्र्यसन नियन्त्रण महाशाखामा सरुवा हुनुभएको छ ।

त्यस्तै महानगरीय अपराध महाशाखामा साविकका प्रमुख धिरज प्रताप सिंहको प्रहरी मुख्यालयको तालिम महाशाखामा सरुवा भएपछि उहाँको ठाउँमा प्रहरी बरिष्ठ उपरीक्षक सहकुल थापाले पदभार सम्हाल्नुभएको छ ।

नयाँ प्रहरी प्रमुखहरुसँगै अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धमा नयाँ योजना तथा कार्यक्रमहरु पनि आउने गर्दछन् ।

कस्ता छन् अबका सुरक्षाका कार्यक्रम तथा योजना ?

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुबेदीका अनुसार हिजोआज पेशेवर अपराधीले घटाउने घटनाभन्दा पनि समाजिक विकृतिका कारण सिर्जित अपराधहरु, आर्थिक लेनदेनसम्बन्धी अपराधहरु तथा वैदेशिक राजगारीसम्बन्धी घटनाहरु बढ्दै गइरहेका छन् । 
यो नयाँ खालको तर जताततै रहेको समस्याबाट विश्लेषण गरेर केही योजनाहरु ल्याइएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुबेदी - प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाण्डाै

सामाजिक विकृति न्यूनीकरण

परिसर प्रमुख सुवेदीका अनुसार सार्वजनिक स्थलमा महिलाहरुलाई हुने हिंसा, पाकेटमारको समस्या, सार्वजनिक यातायातहरुमा हुने यौन हिंसा तथा दुव्र्यवहार आदि नियन्त्रणको लागि यो कार्यक्रम ल्याइएको हो । यस बाहेक भिडभाडमा हिँड्दा अश्लिल हर्कत गर्ने, ज्येष्ठ नागरिकहरुलाई हुने दुव्र्यवहार, टोले गुण्डाहरुलाई सम्झाइबुझाइदेखि प्रचलित कानुन बमोजिम कारबाही गर्ने मनसायले यो कार्यक्रमको आवश्यकता भएको हो । 

यो कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न सके समाजमा विद्यमान विकृति धेरै हदसम्म कम हुने सुवेदी बताउनुहुन्छ । 

सार्वजनिक यातायातहरुमा हुने विकृति न्यूनिकरण

समुदाय प्रहरी कार्यक्रममार्फत यौनजन्य हिंसा नियन्त्रणको लागि काठमाण्डौ जिल्लाभरका २५०० विद्यालयहरुमा विद्यार्थी तथा शिक्षक र अभिभावकहरुलाई सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

यसबाहेक प्रहरीले स्थानीय सरकार तथा संघसंस्थासँँग समन्वय तथा सहकार्य गर्दै यस्ता सामाजिक विकृति न्यूनिकरण गर्नका लागि पनि  काम गरिरहेको प्रहरी प्रमुख सुवेदी बताउनुहुन्छ । 

काठमाण्डौका धेरै भिडभाड हुने सुन्धारा, गोँगबु जस्ता ठाउँमा लुटपाट तथा जघन्य घटनाहरु नहोस् भनेर गस्ती तथा निगरानी कर्डन एण्ड सर्च को अभियान पनि प्रहरीे निरन्तर रुपमा अघि बढाइरहेको सुवेदीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया