के २०१९ काे चुनावमा म पनि हारेकाे हुँ ?

 जेठ ११, २०७६ शनिबार १२:१६:६ | रवीश कुमार
unn.prixa.net

२३ मे २०१९ का दिन जब चुनावको परिणाम आइरहेको थियो, मेरो ह्वाट्स एपमा तीन प्रकारको म्यासेज आइरहेको थियो । अहिले म केवल दुई प्रकारका म्यासेजको चर्चा गर्छु, अन्तिममा तेस्रो प्रकारको ।

बहुत धेरै म्यासेज यस्त थिए कि आज रवीश कुमारको अनुहार ओइलाएको छ कि छैन । एकजनाले लेखे, त्यो रवीश कुमार तिरस्कृत भएको हेर्न चाहन्छु । लाजले डुबेर मरेको हेर्न चाहन्छु । पञ्चर टाल्दै गरेको हेर्न चाहन्छु । कसैले सोध्छ, बर्नोलको ट्यूब छ कि पठाइदिऊँ ? कसैले आफ्नो अनुहारको तस्बिर पठाउन न हेर्न चाहन्छौँ समेत लेखे । मैले सबैलाई जितको शुभकामना दिएँ । लाइभ कभरेज गर्दै गर्दा यी म्यासेज उल्लेख गरेँ आफैप्रति खुब हाँसे ।  

मानिसहरु सत्यवादी रवीश कुमार कहाँ गयो भन्दै व्यङ्ग्य गर्छन् । कहाँ गयो पत्रकारिता गर्ने रवीश कुमार भन्छन् । ममा पनि कमीकमजोरी छ । म आदर्श होइन । मैले कहिल्यै दाबी पनि गरेको छैन । 

दोस्रो प्रकारको म्यासेजमा लेखिएको थियो, तपाईँ रोजगारीको समस्या, किसानका पीडा तथा पानीको दुःखका बारेमा देखाउन छाड्दिनुस् । यी नागरिक यसैका लायक छन् । बोल्नै छाड्दिनुस् । के तपाईँलाई लाग्दैन, तपाईँ पनि रिजेक्ट हुनुभयो । तपाईँ समीक्षा गर्नुपर्छ कि किन तपाईँको पत्रकारिताले मोदीलाई हराउन सकेन । म धोका पाल्दिनँ । यस बारेमा मैले लेखिसकेको पनि छु कि बरु बाख्रा पाल्नुहोस् तर धोका नपाल्नुस् ।

२०१९ को जनादेश मेरोविरुद्ध कसरी आयो । मैले पाँच वर्षमा जे लेखेँ, जे बोलेँ, त्यो पनि के दाउमा गुम्यो । लाखौँ नागरिकको जे पीडा मैले देखाएँ के त्यो गलत थियो । मलाई थाहा थियो युवा पुस्ता, किसान तथा बैंकमा गुलामजस्तै काम गर्नेहरु बीजेपीका समर्थक हुन् । उनीहरुले मसँग कहिल्यै झुट बोलेनन् । सबैले ढिलोचाँडो आफू नरेन्द्र मोदीको समर्थक भएको बताए । तर उनीहरुको समस्या वास्तविक थियो त्यही देखाएँ । आज एक जना सांसदले भन्न सक्दैन कि उनलेल पचास हजारभन्दा बढी मानिसलाई नियुक्ति पत्र दिलाए ।

मेरो रोजगारीमा केन्द्रित शृङ्खलाका कारण दिल्लीदेखि बिहारसम्मका नागरिकले नियुक्ति पत्र पाएका छन् । कैयौँ परीक्षाका नतिजा प्रकाशित भएका छन् । उनीहरुमध्ये धेरैले नियुक्ति पत्र पाएपछि  पहिले गाली दिने गरेको भन्दै मसँग माफी पनि मागे । मसँग सयौँ पत्र तथा म्यासेजको स्क्रीनसट छ जसमा नियुक्ति पत्र पाएपछि पहिले गाली गरेकोमा मसँग माफी मागेका छन् । यीनीहरुमध्ये एक जनाले पनि यो प्रमाण पेस गर्न सक्दैनन् कि मैले नरेन्द्र मोदीलाई भोट नदेउ भनेँ । मैले यो अवश्य भनेँ कि आफ्नो मनबाट भोट दिनू । भोट दिएपछि नागरिक बन्नू ।

पचास हजारभन्दा नियुक्ति पत्रको सफलता त्यो सफलता हो जुन मोदी समर्थकहरुबाट तिरस्कृत भए पनि छातीमा ब्याच लगाएजस्तै गरी लगाउँछु । किनकी उनीहरुले मलाई तिरस्कार गर्ने छैनन्, उनीहरुले मलाई आफ्नो समस्या सुनाउने मोदी समर्थकलाई नै तिरस्कार गर्नेछन् । 

रोजगारी शृङ्खलाकै दबाबमा नरेन्द्र मोदीको प्रचण्ड बहुमत भएको सरकारले रेल्वेमा लाखौँ रोजगाररी सिर्जना गर्यो । यसलाई मुद्दा बनायो । नत्र पूरा पाँच वर्षमा रेल्वेमा कति भ्याकेन्सी खुल्यो र अन्तिम वर्षमा कति विज्ञापन खुल्यो भन्ने कुरा गोदी मिडियाले उठाएको थियो कि रवीश कुमारले ? प्राइम टाइममा रोजगारी शृङ्खलाअन्तर्गत स्वतन्त्रता सेनानी एक्सप्रेसजस्ता रेल समयमै चलाउनु भनेको मोदीको विरोध थियो । के बिहारका कलेजमा तीन वर्षे बीए कोर्सका लागि ५–५ वर्ष फसिरहेका युवाहरुको कुरा उठाउनु मोदीको विरोध थियो ?

यो पाँच वर्षमा मलाई करोडौँले पढे । हजारौँको संख्यामा आएर सुने, टीभीमा देखे । बाहिर भेट्दा अँगालो हाले । त्यसमा नरेन्द्र मोदीका समर्थक पनि थिए । संघका मानिस पनि थिए र विपक्षी पनि । बीजेपीका मानिस पनि चुपचाप बधाई दिन्थे ।

मलाई एउटा कुरा थाहा भयो मोदीका समर्थक हुन् वा विपक्षी ती गोदी मिडिया र पत्रकारिताप्रति फरक व्यवहार गर्छन् । किनकी गोदी मिडियाका एंकर मोदीको लोकप्रियताका आडमा ममाथि आक्रमण गर्छन्, त्यसैले मोदीका समर्थक चुप लाग्छन् । भारतजस्तो देशमा इमान्दार तथा नैतिक बनाउने कुनै सामाजिक तथा संस्थागत संरचना नै छैन । यहाँ इमान्दार हुनलाई एक्लै लड्नुपर्छ र हार्नुपर्छ । 

मानिसहरु सत्यवादी रवीश कुमार कहाँ गयो भन्दै व्यङ्ग्य गर्छन् । कहाँ गयो पत्रकारिता गर्ने रवीश कुमार भन्छन् । ममा पनि कमीकमजोरी छ । म आदर्श होइन । मैले कहिल्यै दाबी पनि गरेको छैन । 

मलाई थाहा छ म आफ्नो पेसामा हार्नलाई लडाइँ लडिरहेको छु । यति ठूलो सत्ता र कोर्पोरेटसँग लड्ने शक्ति केवल गान्धीसँग थियो । मजस्ता पत्रकार स्वतन्त्र रुपमा कम आम्दानीमा पत्रकारिता गर्ने प्रयास गर्दैछन् भने मलाई अझ बढी गर्नुपर्छ जस्तो लाग्यो । 

मोदीका लागि मानिस मोदी बन्नु त्यही श्रेष्ठ अवस्थाको प्रतीक हो । घर–घर मोदीको सट्टा तपाईँ जन–जन मोदी भन्न सक्नुहुन्छ ।

मैले हिन्दी पाठकलाई हरेक बिहान अंग्रेजीबाट अनुवाद गर्दै लेखेको मोदीको विरोध गर्नलाई थिएन । मैले हिन्दी पाठकलाई सक्षम बनाउन त्यसो गरेको थिएँ ।  मैले यसैमा घण्टौँ खर्चिएँ । मलाई थाहा थियो लामो समयसम्म यो काम म एक्लै गर्न सक्ने छैन । यो मोदी विरोधको सनक थिएन । आफ्नो पेसासँग अलि बढी नै प्रेम थियो त्यसैले आफूलाई दाउमा राखेँ । आफ्नै पेसामाथि प्रश्न गर्नु एउटा जोखिम नै थियो । खाइ आएको जागिर गुमाउनु थियो । तर पनि जीवनमा केही समय गरी हेरेँ । यो आफ्नै लागि तनावपूर्ण थियो । जोखिम त हुन्छ तर जो सिकिरहेको हुन्छ त्यो दूर्लभ हुन्छ । कचौरावाला प्रश्न सोधेर म मोदी समर्थकसँग त बच्न सक्छु तर तपाईँ पाठकहरुको अगाडि आउन सक्दिनँ ।

साम्प्रदायिकताविरुद्ध सबैको बीचमा आएर मैले बोलेकै हो । आज पनि बोल्छु । तपाईँभित्र धार्मिक तथा जातीय पूर्वाग्रहले जरा गाडेर बसेको छ । तपाईँ मेसिन बन्दै जानु भएको छ । म फेरि भन्छु कि धार्मिक तथा जातीय पूर्वाग्रह र साम्प्रदायिकताले तपाईँलाई एकदिन मानव बममा परिणत गरिदिनेछ ।

स्टुडियोमा नाचिरहेका एंकरलाई देख्दा तपाईँलाई पनि लाग्दो हो कि यो पत्रकारिता होइन । बैंकमा गुलामजस्तै काम गर्ने सयौँ महिला अधिकृतले आफ्नो गर्भ खेर गएको कुरादेखि शौचालयको डर देखाउँदै काम लगाएको बारेका मलाई पत्र लेखेको के मोदीको विरोधका लागि हो । उनीहरुको पत्र अहिले पनि मसँग जस्ताको त्यस्तै छ । 

मैले उनीहरुको समस्यामा आफ्नो आवाज दिएँ । कैयौँ बैंकका शाखामा महिलाका लागि अलग शौचालय पनि बने । मैले मोदीको एजेण्डा चलाइनँ । त्यो मेरो काम पनि थिएन । यदि तपाईँ मबाट त्यसको अपेक्षा गर्नुहुन्छ भने म यही भन्छु कि एक पटक होइन, सयौँ पटक सोच्नुहोस् । 

पत्रकारितामा पनि ‘विगतका गल्तीको स्मृतिहरु’ छन् । जसलाई मोदीले बेला–बेलामा ब्युँताउने गर्छन् । तर उनी भुल्छन् कि उनको समयको पत्रकारिताको मोडल पनि विगतकै गल्तीको स्मृतिमा आधारित छ । म यो मान्दिनँ कि पत्रकारिताले हारिसक्यो । पत्रकारिता समाप्त होला, त्यो अलग कुरा हो । जब पत्रकारिता नै रहेको छैन भने तपाईँ मतर्फ किन हेर्नुहुन्छ । के तपाईँले सम्पूर्ण समाप्तिको संकल्प लिनु भएको छ ? जब म आफ्नो कुरा गरिरहेको हुन्छु त्यसमा संघर्षरत सबै पत्रकारको आवाज समेटिएको छ । पत्रकारिता संस्थानमा सञ्चित अनैतिक बलका कारण पत्रकारिता समाप्त भएको छ ।  त्यसलाई केवल एकजनाले मात्रै बचाउन सक्दैन ।

यस्तोमा हामीजस्ता मानिसले के नै गर्न सक्छौँ र ? तर पनि यस्तो कामलाई केवल मोदी विरोधको चश्माबाट हेरिनु गलत कुरा हो । यो आफ्नो पेसामा आएको गिरावटको विरोध धेरै हो । यो कुरा मोदी समर्थकहरुले यसबेला बुझ्नु पर्ने कुरा हो । मोदी समर्थकलाई पनि यो अपिल गर्छु कि तपाईँ गोदी मिडिया च्यानल हेर्न छाड्दिनुस् । अखबार पढ्न छाड्दिनुस् । योबिना पनि मोदीको समर्थन गर्न सकिन्छ ।

२३ मेमा आएको आँधी सकिएको छ तर हावा अहिले पनि तेज चलिरहेको छ । नरेन्द्र मोदीले भारतका नागरिको मनमस्तिष्कमा एकछत्र राज कायम गरेका छन् । सन् २०१४ मा उनलाई मनबाट भोट प्राप्त भएको थियो । २०१९ मा मन र तन दुवैबाट उनलाई भोट प्राप्त भयो । तनमा आएको तमाम समस्या झल्दै मानिसहरुले मोदीलाई मनले भोट दिए । उनको यो जितलाई उदारतापूर्वक स्वीकार गर्नुपर्छ । म पनि स्वीकार गर्छु ।

जनको मन अमिलो बनाएर तपाईँ लोकतान्त्रिक हुन सक्नुहुन्न ।  त्यो खुशीमा भविष्यका लागि खतरा हुन सक्छ तर त्यसलाई देख्न तपाईँ त्यसमा सहभागी हुनुपर्छ । आखिर के हो त त्यस्तो कुरा जसले मानिसहरुलाई मोदी बनाइरहेको छ । मानिसहरु मोदी बन्नु भनेको एक प्रकारले नेतामा एकाकार हुनु नै हो, विलीन हुनु नै हो । यसलाई अन्धभक्तीको रुपमा हेर्न पनि सकिन्छ तर यसलाई भक्तीको सर्वश्रेष्ठ रुपमा हेर्नु आवश्यक छ । मोदीका लागि मानिस मोदी बन्नु त्यही श्रेष्ठ अवस्थाको प्रतीक हो । घर–घर मोदीको सट्टा तपाईँ जन–जन मोदी भन्न सक्नुहुन्छ ।

मैले सधैँ भन्ने गरेको छु कि २०१४ पछि यो देशको अतीत र भविष्यलाई बुझ्ने सन्र्भ विन्दु(रेफरेन्स प्वाइन्ट) परिवर्तन भएको छ । चुनावअघि नै मोदी नयाँ भारतको कुरा गर्न लागेका थिए । त्यो नयाँ भारत उनको सोचको भारत बनेको छ । हरेक जनादेशमा सम्भावना र आशंका दुवै हुन्छ । यसबाट मुक्त कुनै जनादेश हुनै सक्दैन । नागरिकले थुप्रै आशंकाका बीच  एउटा सम्भावना चुनेका छन् भने ती आशंकासँग जुध्नलाई साहस पनि छ । उनीहरु भयभित छैनन् । न त यो भयको जनादेश हो, न त यो जनादेशबाट भयभित हुनु जरुरी छ । ऐतिहासिक कारणले नागरिकका बीचमा कैयौँ सन्दर्भ विन्दुहरु हराइरहेका छन् । 

मैले सधैँ भन्ने गरेको छु कि जसमा नैतिक शक्ति छ त्यही नै नरेन्द्र मोदीको विकल्प बन्नेछ ।  तपाईँ मेरो अनुमानमा नैतिक बलको कुरा देख्नुहुन्छ । नरेन्द्र मोदीको पक्षमा अनैतिक शक्ति र संसाधनको विपुल भण्डार छ भन्ने कुरामा शंकै छैन । तर नागरिक त्यसलाई ‘अतीतको असन्तोषको स्मृति’ का गुण दोषका रुपमा हेर्छन् । त्यसलाई सहन्छन् । नरेन्द्र मोदी त्यो ‘अतीतको असन्तोषको स्मृति’ बचाइराख्छन् पनि । तपाईँ देख्न सक्नुहुन्छ उनी हर पल यसलाई रेखांकित गरिरहेका हुन्छन् । नागरिकतालाई ‘अतीतको वर्तमान’ मा राख्छन् ।

नागरिकलाई यो पनि थाहा छ कि विपक्षमा पनि त्यही अनैतिक शक्ति छ जुन बीजेपीमा छ । विपक्षीलाई यो महसुस भयो दुइटा अनैतिक शक्तिमध्ये नागरिकले आफूलाई चुन्नेछन् । त्यसैले उसले पनि रहलपहल अनैतिक शक्तिको भरपुर सहयोग लियो । नरेन्द्र मोदीले ती अनैतिक शक्तिलाई कमजोर बनाए । विपक्षका नेता पनि बीजेपीतर्फ नै दौडन थाले । विपक्ष मानव तथा आर्थिक संसाधनमा रित्तो हुन थाल्यो । दुवैको आधार अनैतिक शक्ति नै थियो । तर यस परिस्थितिले विपक्षलाई नयाँ अवसर पनि दियो । उसले चुनावलाई छाडेर आफ्नो राजनीतिक तथा वैचारिक पुनर्जीवन प्राप्त गर्ने बाटोतर्फ अग्रसर हुनुपर्थ्यो । तर उसले त्यसो गरेन । 

अतीतको असन्तोषका लागि विपक्षीले माफी माग्नुपर्थ्यो । नयाँ भरोसा दिलाउनुपर्थ्यो कि अब आयन्दा त्यस्तो हुँदैन । यसका लागि चर्को घाममा पैदल हिँड्नै पर्थ्यो । तर उसले यसो गरेन । २०१४ पछि चार वर्षसम्म घरमै बसे । नागरिकका बीच, नागरिकमा घरमा गएनन् । नागरिकका समस्याका बारेमा तदर्थ रुपमा आवाज उठाए र घरमा आएर बसे । जब २०१९ आयो रहलपहल अनैतिक शक्तिको समीकरणका माध्यमबाट विशालकाय अनैतिक शक्तिपुञ्जलाई टक्कर दिने सपना देख्न थाले ।

विपक्षीले अलग–अलग दलको राजनीतिक प्रासंगिकता समाप्त भएको बुझ्न सकेन । समाजवादी पार्टी तथा बहुजन समाज पार्टी वा राष्ट्रिय जनता दलका माध्यमबाट लोकतन्त्रमा जुन सन्तुलन आएको थियो त्यसको आज कुनै भूमिका रहेन । 

यी दलले समाजमा पिछडिएका तथा वञ्चित वर्गलाई सत्ता–चक्र घुमाएर शीर्ष स्थानमा ल्याउने काम त गरे तर यसै क्रममा समाजमा पिछडिएका र वञ्चित अवस्थामा रहेको दोस्रो वर्गलाई बिर्सने काम गर्यो । यी दलमा उनीहरुको प्रतिनिधित्व पनि त्यसरी नै बेइमानी बन्दै गयो । अब यी दलको प्रासंगिता बचेको छैन । अब ती दल भङ्ग गर्ने साहस पनि हुनुपर्छ । आफ्ना पुराना महत्वाकांक्षा पनि भङ्ग गर्ने बेला आएको छ । भारतका नागरिक अब नयाँ दल र नयाँ विचारको स्वागत गर्नेछन् । त्यतिबेलासम्म उनीहरु नरेन्द्र मोदीकै विचारमा हिँड्नेछन् । 

समाज र राजनीतिको हिन्दूकरण भएको छ । यो स्थायी रुपले भएको छ भन्ने कुरा म मान्दिनँ । जसरी बहुजन शक्तिको उत्थान स्थायी छैन त्यसरी नै यो पनि स्थायी छैन ।  यो इतिहासको एउटा चक्र हो जुन घुमेको छ । 

जसरी मायावती सवर्णहरुको समर्थनमा मुख्यमन्त्री बनिन् त्यसरी नै आज संघ बहुजनको समर्थनबाट हिन्दू राष्ट्र बनाउँदैछ । जुन सवर्ण आफ्नो जातीय पूँजीका बलमा सपा, बसपा तथा राजदको मञ्चमा आफ्नो सहारा खोजिरहेका थिए, उनीहरु अब सर्वजनका लदागि बनाइएको मञ्चतिर सरेका छन् ।

जातीय संयोजनको राजनीति भएका कारण संघले पनि जातीय संयोजनकै राजनीति खडा गर्यो । क्षेत्रीय दलले पछि विकासको राजनीति गरे । काम पनि गरे । तर उनीहरुले राष्ट्रिय स्तरमा आफ्नो भूमिकालाई हाइवे बनाउनेमा मात्रै सीमित भए । चन्द्रभान प्रसादको एउटा कुरा सम्झना आउँछ । उनी भन्ने गर्थे कि मायावती किन आर्थि मुद्दामा आवाज उठाउँदिनन् । किन विदेश नीतिमा बोल्दिनन् । सकै क्षेत्रीय दलको अवस्था यस्तै छ । उनीहरु प्रदेशको राजनीति त गर्न सकछन् तर देशको राजनीति गर्न सक्दैनन् । 

मैले यत्रो ठूलो भारी नउचाल्नुपर्थ्यो । त्यो मेरो मात्रै भारी थिएन । तर पनि महसुस भयो कि हरेक नागरिक र लोकतन्त्रमा विपक्ष भएन भने सबै रित्तो हुन जान्छ । मेरो यो सोच भारतकै भलाईका लागि थियो । 

बहुजनका रुपमा आएका दल पनि आफ्नो विचारधारको किताब फालिसकेका छन् । उनीहरुसँग अम्बेडकरजस्ता सबैभन्दा तार्किक व्यक्ति त छन् तर तीनै अम्बेडकर अब प्रतीक र अहंकारको कारण बनेका छन् । सानो–सानो गुट चलाउने भएका छन् । मेरा मित्र राकेश पासवान ठिक भन्थे कि अब दलित राजनीतिका नाममा अब संगठनलाई राष्ट्रिय अध्यक्ष त प्राप्त हुन्छ तर राजनीति प्राप्त हुँदैन । दलित राजनीति अब एउटा पसल भएको छ । जस्तो गान्धीवाद एउटा राजनीतिक दोकान बनेको छ । यस विचारधाराबाट कोही पनि आजसम्म एउटा राजनैतिक विकल्प बन्न सकेको छैन । सबैले आ–आफ्नो हितका लागि संगठन बनाएका छन् । आफ्नो जातिको पसल लिएर उनीहरु एउटा दलबाट अर्को दलमा आउने गर्छन् । उनीहरु बसपा तथा बहुजन दलका कमीकमजोरीबारे बोल्न छाडेका छन् ।

त्यो एउटा अहंकार नै थियो मैले लेखेका कुरालाई पनि जातीय आधारमा खारेज गर्न थालियो । म आफ्नो प्रतिबद्धताबाट  टसको मस भइनँ । तर प्रतिबद्धताको पसल चलाउनेहरुले अम्बेडकरको नाम हतियारका रुमिा प्रयोग गर्न थाले । उनीहरु मानिसहरुलाई आदेश दिन थाले कि कसले के लख्न पर्छ । जसरी बीजेपी समर्थक राष्ट्रवादको सर्टिफिकेट बाँड्दछन् अम्बेडकरवादीमध्ये पनि केही व्यक्तिले सर्टिफिकेट बाँड्न थाले ।

हामीले यो बुझ्नु पर्छ कि बहुजन पक्षमा कोही काशीराम छैनन् । काशीरामको प्रतिबद्धताको सामना गर्ने पनि कोही छैनन् । त्यो एक वैचारिक प्रतिबद्धता थियो । अब हामीबीच प्रकाश आंबेडकर छन्  जो अंबेडकरको नाममा सानो उद्देश्यको राजनीति गर्छन् । यही अवस्था लोहियाको पनि भएको छ ।  जो अंबेडकरलाई लिएर प्रतिबद्ध छन् उनीहरुको अवस्था पनि गान्धीलाई लिएर प्रतिबद्ध हुनेहरुको जस्तै भएको छ । विकल्प गठजोड होइन, विकल्प विलय हो । पुनर्जीवन हो ।  आउँदो चुनावका लागि होइन, भारतको भविष्यका लागि हो ।

तपाईँले देख्नुभयो होला यी पाँच वर्ष मैले यी दलका बारेमा धेरै कम लेखिनँ । लेफ्टको बारेमा चाहिँ लेखिनँ । मलाई लाग्छ वाम दलको विचारधारा आजको दिनमा पनि प्रासंगिक छ तर उनीहरु आफ्नो दलमा समय मात्रै व्यतित गरिरहेका छन् । वाम दलमा राजनीतिक मानव संसाधन प्रासंगिक छैन ।  त्यसको भूमिका समाप्त भएको छ । उनीहरुसँग अब केवल कार्यालय मात्रै बचेको छ । काम गर्नलाई केही बचेको छैन । वामपन्थी दलका व्यक्तिहरु गुनासो गरिरहे कि मेरो कार्यक्रममा उनीहरुलाई समेटिँदैन । वास्तवमै भन्नेहरु उनीहरुको दलीय भूमिका समाप्तथ भैसकेको छ ।

मेरा सहकर्मी साथीहरु चुनावी कभरेज गर्न देशका अलग–अलग ठाउँमा पुगेका थिए । फर्किँदा उनीहरु भन्थे कि मोदीका फ्यान पनि तपाईँलाई पढ्छन् र हेर्छन् । त्यसो त संघकै मान्छे पनि एक पटक चेक गर्छन् कि मैले के बोलेँ ।

महाराष्ट्रको किसान आन्दोललाई स्थापित गर्नका लदागि बीजू कृष्णनजस्ता व्यक्तिकै हात छ । यो त्यही विचारधाराको उपयोगिता पनि हो । दलको होइन । दलहरु भङ्ग गर्ने समय आएको छ । केही नयाँ सोच्ने समय हो यो । म दलीय विविधताको समर्थक नै हुँ तर उपयोगिताबेगरको त्यो विविधताको केही काम छैन । यो सब कुरा कांग्रेसमाथि पनि लागु हुन्छ । बीजेपी कार्यकताहरुमा तपाईँ बीजेपी देख्नुहुन्छ । कांग्रेस कार्यकर्तालाई हेर्नुभयो भने कांग्रेस छाडेर अरु सबै चिज देखिन्छ । कांग्रेस कि चुनाव लड्नै छोड्दियोस् कि चुनावलाई जीवन मरणको प्रश्न बनाउन छोडोस् । त्यस्तो कांग्रेस बनोस् । 

कांग्रेसले नेहरुलाई बचाउन सकेन । उसले पटेलदेखि बोससम्मलाई बचाउन सकेन । स्वतन्त्राको लडाइँको विविधता र सुन्दरतासँग जोडिएको ‘अतीतको स्मृति’ बचाउन सकेन । गान्धीको विचारलाई स्थापित गर्न सकेन उसले । आज बीजेपीको एक सामान्य कार्यकर्तासँ ग तपाईँ दीनदयाल उपाध्यायका बारेका एउटा गलत टिप्पणी गर्नुभयो भने उसले सयौँ कुरा सुनाउन सक्छ ।

पाँच वर्षमा कांग्रेसले नेहरुलाई लिएर समानान्तर विमर्श पैदा गर्न सकेन । यसै सन्दर्भमा म कांग्रेस ढल्दै गरेको देख्छु । राजनीतिक विचारधार जमिनसँग जोडिएको हुन्छ । नेताको सम्भावनामाथि होइन । अब एउटै बाटो बचेको छ । भारतका अलग अलग राजनीतिक दलमा बचेका मानव संसाधन आ–आफ्नो दल छोडेर कुनै एउटा दलमा आउनु आवश्यक छ । जहाँ विचारको पुनर्जन्म होस्, नैतिक बलको सिर्जना होस् र मानव संसाधनको हस्तान्तरण । यही कुरा २०१४ मा पनि भनेको थिए । फेरि आफैमाथि हाँसो ठ्छ कि म आफूचाहिँ कुन विचारक हो र यो सब भन्दै छु । यो सब लेख्दैछु ।

यति हुँदा हुँदै पनि विपक्षप्रति सहानुभूति किन रह्यो । उनीहरुको राजनीतिक पक्ष कमै देखाइयो । तर उनीहरुमाथि लेखेँ, बोलेँ किनकी २०१४ पछि हरेक स्तरमा नरेन्द्र मोदी नै प्रमुख भएका थिए । केवल सरकारको स्तरमा मात्रै होइन, सांस्कृतिकदेखि धार्मिक स्तरसम्म मोदीका अलावा हरु केही देखिएन ।

जब भारतका ९९ प्रतिशत मिडियाले लोकतन्त्रको मूल भावनालाई कुल्चिन थाले मैले एउटा सन्तुलन पैदा गर्न खोजेको हुँ । असहमति र विपक्षीको हरेक आवाजको सम्मान गरेँ । त्यसको मजाक उडाइनँ । यो मैले विपक्षी दलका लागि गरिरहेको थिइनँ । मैले त आफ्नो बुझाइका माध्यमबाट भारतको लोकतन्त्र लज्जित हुनबाट बचोस् भन्ने उद्देश्यले यो सब गरिरहेको थिएँ । मैले यत्रो ठूलो भारी नउचाल्नुपर्थ्यो । त्यो मेरो मात्रै भारी थिएन । तर पनि महसुस भयो कि हरेक नागरिक र लोकतन्त्रमा विपक्ष भएन भने सबै रित्तो हुन जान्छ । मेरो यो सोच भारतकै भलाईका लागि थियो । 

नरेन्द्र मोदीको प्रचण्ड जित भयो । मिडियाको जित भएन । हरेक जितमा एउटा हार अवश्य हुन्छ । यो जितमा मिडियाको हार भयो । उसले लोकतान्त्रिक मर्यादालाई पालना गरेन । आज गोदी मिडियाका मान्छे मोदीले पाएको जितलाई आफ्नै जित बताइरहेका छन् । वास्तवमा भन्ने हो भने उनीहरुसँग केवल मोदी मात्रै बचेका छन् । पत्रकारिता बचेको छैन । पत्रकारिताको धर्म समाप्त भएको छ । यो पनि सम्भव छ कि भारतका नागरिकले पत्रकारिता पनि खारेज गरिदिए । उनीहरुले यो जनादेश दिए कि हामीलाई मोदी भए पुग्छ पत्रकारिता चाहिँदैन । यसका बाबजुद पनि तीनै मोदी समर्थकसँग मेरो आशा छ । उनीहरु मोदी र मिडियाको भूमिकामा फरक देख्छन् । बुझ्छन् ।

सायद उनीहरुलाई यस्तो भारत चाहिँदैन जहाँ जनताको आवाज पत्रकार आफ्नो पेसागत धर्म छाडेर कुनै नेताको चरणमा परोस् । मलाई यो राम्रो लाग्छ कि कैयौँ मोदी समर्थकले लेख्छन् कि उनीहरु मसँग असहमत छन् तर मेरो पत्रकारिता मन पराउँछन् । उनीहरु भन्छन्, तपाईँ आफ्नो काम त्यसै गरी जारी राख्नुहोस् । ममाथि विश्वास गर्ने यस्ता सबै समर्थकलाई धन्यवाद । मेरा सहकर्मी साथीहरु चुनावी कभरेज गर्न देशका अलग–अलग ठाउँमा पुगेका थिए । फर्किँदा उनीहरु भन्थे कि मोदीका फ्यान पनि तपाईँलाई पढ्छन् र हेर्छन् । त्यसो त संघकै मान्छे पनि एक पटक चेक गर्छन् कि मैले के बोलेँ । मलाई थाहा छ कि रवीश रहेन भने उनीहरु रवीशलाई मिस गर्नेछन् ।

दुई वर्ष पहिले दिल्लीमा बस्ने एक जना ८० वर्षीय वृद्धले मलाई सानो गीता पठाए । लामो पत्र लेखेर मेरो दीर्घायूको कामना गरे । उनले त्यो गीता सधैँ साथमा राख्न आग्रह पनि गरे । मैले उनको कुरा मानेँ । जब मान्छेहरुले तपाईँ सुरक्षित हुनुहुन्न । आफ्नो ज्यानको ख्याल राख्नुहोस् भने । आजै त्यही गीता पल्टाइरहेको छु । त्यसको एउटा सूत्र तपाईँसँग प्रस्तुत गर्दैछु । 

अथ चेत्त्वमिमं धर्म्यं संग्रामं न करिष्यसि, तत: स्वधर्मं कीर्ति च हित्वा पापमवाप्स्यसि..

मलाई माया गरिरहनुस् । मलाई तिरस्कार गरेर तपाईँले के पाउनुहुन्छ ? यो महान भारतको एउटा पत्रकारलाई साथ दिन नसक्दा तपाईँकै स्वाभिमान गुम्न सक्छ । मजस्तो व्यक्तिले तपाईँलाई यो अपराधबोधबाट मुक्त हुने अवसर दिएको छु । यो अपराधबोधले तपाईँलाई त्यसरी नै थिच्नेछ, जसरी विपक्षीलाई उसको अतीतको अनैतिकताले थिचेको छ । त्यसैले मलाई बलियो बनाउनुस् । मजस्ता सबैको साथ दिनुहोस् ।

तपाईँले मोदीलाई बलियो बनाउनु भयो । तपाईँको धर्म हो कि पत्रकारितालाई पनि बलियो बनाउनुस् । हामीसँग जीवनमा दोस्रो विकल्प छैन । यदि अर्को विकल्प हुन्थ्यो भने यो पेसा छाडिसकिन्थ्यो । त्यसको कारण यो होइन कि म हारिसकेँ । कारण यो हो कि म थाकिसकेँ । केही नयाँ गर्न चाहन्छु । तर जबसम्म यो ज्यान रहन्छ, यसै प्रकारले अघि बढ्नेछु । किनकी जनताले मलाई हराएका होइनन्, मोदीलाई जिताएका हुन् । प्रधानमन्त्री मोदीलाई बधाई ।

–खबर एनडीटीभी डट कममा प्रकाशित रवीश कुमारको ब्लगको अनूदित अंश

याे पनि पढ्नुहाेस् 

केवल साढे दुई महिना न्यूज च्यानल नहेर्नूस् !

 

अन्तिम अपडेट: कात्तिक ३०, २०७६

रवीश कुमार

रवीश कुमार चर्चित भारतीय टिभी एंकर, लेखक र पत्रकार हुन् । उनले भारतीय राजनीति र समाजका विभिन्न पक्षमाथि कार्यक्रम चलाउने तथा लेख्ने गर्छन् । उनी भारतीय टेलिभिजन एनडिटिभी इन्डियाका वरिष्ठ कार्यकारी सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया