धनबहादुर आले मगर : श्री अन्तुमा 'होमस्टे' सञ्चालन गर्ने पहिलो व्यक्ति

सूर्याेदय सिजनमा दैनिक सात हजार पाहुना

 जेठ ११, २०७६ शनिबार १३:३६:५३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - इलाम जिल्लाको सूर्योदय नगरपालिका-५ मा रहेको श्री अन्तु नेपाली तथा भारतीय पाहुनाहरुका लागि आकर्षक पर्यटकीय स्थल हो । 

यहाँ अधिकांश पाहुनाहरु सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि आउने गर्दछन् । यसरी सूर्योदयको आनन्द लिने यस ठाउँमा सुरुका दिनहरुमा निकै समस्या थियो । 

तर अहिले गाउँका सबै मिलेर ४४ वटा ‘होमस्टे’ सञ्चालनमा ल्याएका छन् ।  आन्तरिक तथा बाह्य पाहुना प्रबर्द्धन गर्नका लागि ‘होमस्टे’ ले महत्वपूर्ण पनि भूमिका खेलेको छ । 

‘होमस्टे’ सञ्चालनमा ल्याएर पर्यटन प्रबर्द्धनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरु मध्येका एक हुनुहुन्छ, धनकुमार आले मगर । उहाँले ‘होमस्टे’ सञ्चालन गर्नुभन्दा पहिला विभिन्न सामाजिक काममा व्यस्त हुनुहन्थ्यो । 

धनकुमार आले मगर गाउँमा ‘होमस्टे’ सञ्चालन गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले २०५५ सालमा ‘होमस्टे’ सञ्चालन सुरु गर्दा ‘होमस्टे’ लाई ‘पेइङगेष्ट’ भनिन्थ्यो । ‘पेइङगेष्ट’ को नामबाट सुरु भएको व्यवसाय प्रबर्द्धनका लागि सरकारले कार्यविधि बनाएपछि ‘होमस्टे’ भन्न थालिएको हो ।  

२०६८ सालदेखि घरबासको रुपमा ‘होमस्टे’ सञ्चालन गर्दै आएको आले मगरले बताउनुभयो । स्थानीयले ‘होमस्टे’ प्रबर्द्धनका लागि २०६० सालमा ‘अन्तु पर्यटन महोत्सव’ सुरु गरेपछि यो थप चर्चामा आएको हो । 

२०४० साल अघि यहाँ पर्यटन व्यवसाय भनेको के हो ? कसैलाई थाहा थिएन । त्यो बेलासम्म गाउँमा सूर्य नारायण भगवानको दर्शन गर्ने भन्दै विभिन्न ठाउँबाट मान्छेहरु आउने गर्थे । 

‘सूर्यको भाकल गरेर पूजा गरे आफ्नो मनोकामना पूरा हुन्छ’ भन्दै मानिसहरु टाढा टाढाबाट आउने अनि गाउँलेहरुसँग बास माग्ने चलन थियो । ‘घरमा बास बस्ने, अनि उनीहरु नै ल्याएको चामल गुन्द्रुक त्यही घरको बाहिर पकाएर खान्थे, घरका मान्छेले दिएको गुन्द्रीमा सुत्थे र बिहानै सुर्योदय हेरेर फर्किन्थे,’ आलेले भन्नुभयो । 

अब यसरी आएका पाहुनालाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सबैको चासो जान थाल्यो । आएका पाहुनालाई व्यवस्थित गर्ने भन्ने सोचेर नै आलेले २०५५ सालमा ‘होमस्टे' सञ्चालनमा ल्याउनुभयो ।  

‘अन्तु पर्यटन विकास केन्द्र भनेर २०५४ सालमा संस्था सञ्चालन गर्ने तयारी गरेँ र २०५६ सालमा संस्थाको विधान तयार भयो र काम सुरु गरेको हुँ,’ उहाँले भन्नुभयो ।  

२०५८ साल कात्तिकमा इलाम जिल्ला सदरमुकाममा रहेका सबै कार्यालय प्रमुख, राजनैतिक दल र संघ संस्थालाई बोलाएर औपचारिक रुपमा अन्तुमा पर्यटन विकासको काम सुरु भएको आलेले सम्झनुभयो ।   

२०६० सालदेखि १० वटा पर्यटन महोत्सव अन्तुमै गरिएको थियो र त्यही १० वर्षको महोत्सवले श्री अन्तुलाई चिनाएको आले मगरले बताउनुभयो ।  

सूर्याेदय सिजनमा दैनिक सात हजार पाहुना 

श्री अन्तुमा अहिले पाहुनाको भिड लाग्ने गरेको छ । बेसिजनमा पनि दैनिक २ हजार देखि २५ सयसम्म पाहुनाहरु आउने गरेका छन्  । 

सूर्याेदय सिजन अर्थात् असोज २२ देखि पुस मसान्तसम्ममा शुक्रबार र शनिबार मात्र पाँचदेखि ६ हजारसम्म पाहुना सूर्योदय हेर्नका लागि आउने गरेका छन्  । गर्मीको सिजनमा पनि थुप्रै पाहुनाहरु श्री अन्तु आउने गरेको आले बताउनुभयो । तराईमा गर्मी बढ्ने बित्तिकै धेरै पाहुनाहरु बास बस्ने गरि नै आउँछन्  ।

‘बेमौसममा आउने पाहुना मध्ये अहिले पनि १५ सय भन्दा बढी बासै बस्ने गरी आउने गरेका छन् भने सिजनमा त यहाँका 'हाेमस्टे'ले धान्नै गाह्रो हुन्छ,’ आलेले भन्नुभयो ।  

आर्थिक अवस्थामा सुधार

१० वर्ष अघि र अहिलेको अवस्थालाई हेर्दा धेरैको आर्थिक अवस्थामा सुधार भएको छ । आले पनि अहिलेको आर्थिक आम्दानीबाट खुशी हुनुहुन्छ । आर्थिक कारोबारको हिसाबमा पाहुना नआएकै दिन पनि तीन हजार कारोबार हुने गरेको उहाँले भन्नुभयो । 

‘अझ पाहुना आएको बेला त छ हजारभन्दा माथिको आर्थिक कारोबार हुन्छ, उहाँ भन्नुहुन्छ । ‘पहिले खान लगाउन धौ धौ भएका मानिसहरु 'हाेमस्टे'सञ्चाल गरेपछि अहिले दुई चार लाख आवश्यक पर्दा निकाल्न सक्ने हैसियतमा पुगेका छन्,’ आलेले थप्नुभयो ।  

दैनिक न्यूनतम तीन हजारदेखि ६० हजारसम्मको आर्थिक कारोबार हुने गरेको छ । अहिले 'हाेमस्टे' सञ्चालन गर्नेले मात्रै आम्दानी गरेका छैनन्, धेरैलाई रोजगारीको माध्यम बनेको छ । 

'हाेमस्टे'सञ्चालनका लागि यस्तो नियम –

सबैको घरमा एकै किसिमको पाहुना नहुँदा सामुदायिक 'हाेमस्टे'सञ्चालक समितिलाई समस्या हुन्छ । कसकोमा बढी पाहुना बसे, कसकोमा कम पाहुना छन्, त्यो सबै लेखाजोखा राख्ने काम सामुदायिक 'हाेमस्टे' सञ्चालक समितिको हो । 

सामुदायिक 'हाेमस्टे'सञ्चालक समितिका अध्यक्ष समेत रहेका आले मगरले भन्नुभयो, ‘आज कसको घरमा पाहुना कम छ भोलि उसको घरमा पठाउनु पर्छ, आज पाँच जना हुने घरलाई भोलि १० जना पठाउनै पर्छ ।’  

सामुदायिक 'हाेमस्टे' सञ्चालक समितिले कति पाहुना आए, कति कहाँ बसे भन्ने समितिलाई थाहा हुन्छ । आलेका अनुसार, अब एक वर्षमा कति पाहुना आए, कति बसे भनेर दैनिक मात्र हैन, मासिक रुपमा पनि निकाल्न सकिन्छ । 

फरक–फरक स्वभावका पाहुना 

घरमा नै खान र बस्नका लागि बासको व्यवस्था गरिएका होमस्टेहरुमा जाने पाहुनाको स्वभाव भने फरक–फरक हुन्छ । व्यापारी, निजामति कर्मचारी, समाजसेवी, राजनीतिक दललगायत सबै क्षेत्रका व्यक्तिहरुको फरक-फरक स्वाभाव हुने गरेको उनको अनुभव छ । 

पाहुनाहरुको हाउभाउबाट यो मान्छे यस्तो स्वाभावको हो भनेर थाहा भइसक्ने आलेले सुनाउनुभयो । ‘पाहुना भनेको हाम्रा भगवान हुन्, पाहुना बेगर हाम्रो 'हाेमस्टे'चल्दैन, उहाँले भन्नुभयो, राम्रा–नराम्रा सबैलाई एकै खालको व्यवहार र कारोबार हुन्छ ।’

कोही कोही पाहुना त छोरी, चेली देख्ने बित्तिकै अश्लिल शब्द बोल्ने खालका पनि हुन्छन् । आलेका भन्नुहुन्छ, ‘अश्लिल शब्द बोल्छन्, असहज हुन्छ, अप्ठेरो लाग्छ । सुरुमा त निकै नै गाह्रो भयो तर त्यो सबै पचाउनु पर्ने रहेछ ।’ 

लोपोन्मुख लेप्चा जातीको नाचगान, मगर, लिम्बू, तामाङलगायतका धेरै संस्कृति अन्तुमा हुँदाहुँदै पनि आउने पाहुना त्यो हेर्न चाहँदैनन् । बजारमा आएका गीत गाउने, नाच्ने र बजाउनेमा नै केन्द्रित हुन्छन् । पाहुनाले जसरी रमाइलो लिन्छन्, त्यही अनुसार नै हुने गरेको आलेको भनाइ छ । 

स्थानीय उत्पादनको खोजी

गाउँमा सञ्चालित होमस्टेहरुले स्थानीय उत्पादनलाई समेत प्रयोग र प्रचार गर्छन् । श्री अन्तु गाउँमा चामल छैन, धान उत्पादन हुँदैन, त्यो बाहेक सबै सागसब्जी अर्गानिक रुपमा नै खुवाउने गरिएको 'हाेमस्टे' सञ्चालकहरु बताउँछन् । स्थानीय उत्पादन फापर, कोदोलगायतलाई  खाजाको रुपमा खुवाइने गरिएको छ । 

यहाँको उत्पादन यहीँ नै खुवाउनुपर्छ भनेर नै त्यही अनुसार काम भएको आलेले सुनाउनुभयो । श्री अन्तुमा आएर बस्नेहरु स्यालको रक्सीको खोजीमा हुन्छन् । 

तर सबै त्यो खालका पनि हुँदैनन्, कोही चियापानी खाएर रमाइलो गर्छन, कोही क्याम्प फायर गर्छन्, रातभरी बस्छन्, नाचगान गरेर पनि रमाइलो गर्ने पाहुना आउने गरेका छन् । तर आचार संहितामा भने १० बजेसम्म समयसीमा तोकिएको छ । 

यस्ताे छ आउने पाहुनाको स्थिति 

सबैभन्दा बढी आउने पाहुनाहरुमा क्रमशः झापा, मोरङ र सुनसरीका छन् । त्यस्तै भारतका पाहुनाहरु दोस्रो नम्बरमा पर्छन् । भारतको पश्चिम बंगाल, बिहार, सिक्किम, दिल्ली र मुम्बइका पाहुना पनि आउने गरेका छन् । 

पश्चिम बंगालका पाहुना निकै रमाइला हुन्छन् । भारतीयहरु पनि नेपालीले जतिकै खर्च गर्छन् । तर विदेशी (समुद्र पारका) पाहुना भने खर्च नै गर्न लोभ गर्ने खालको हुने गरेको आलेको गुनासो छ । ट्राभल एजेन्सीबाट आउने विदेशी पाहुनालाई तिनै एजेन्सीले खर्च गराउँछन् । 

४४ वटा सञ्चालनमा, अरु थप्ने तयारी

अहिले ४४ घरहरुमा ‘होमस्टे’ सञ्चालन गरिएको छ । केही घरहरु थप हुने तयारीमा छन् । अहिले भएका ४४ वटा घरले पाहुना धान्न सकेका छैनन् । श्री अन्तु भञ्ज्याङमा सम्पर्क कार्यालय राखिएको छ भने अब व्यवस्थित कार्यालय सञ्चालनको तयारीमा सामुदायिक ‘होमस्टे’ सञ्चालक समिति जुटेको छ ।

आचार संहिता, मूल्यसूची हरेक घरमा टाँसिएको छ । सूर्योदय नगरपालिकाको वडा नम्बर ४ र ५ मा ‘होमस्टे’ सञ्चालन गर्नको लागि एउटै समितिले काम गर्ने गरेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया