धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकनका लागि जानै पर्ने बर्दिया

 जेठ ११, २०७६ शनिबार १८:५१:२८ | भावुक योगी
unn.prixa.net

बर्दिया –  नेपालको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र अहिलेको प्रदेश नम्बर ५ अन्तर्गत पर्ने बर्दिया जिल्ला २०२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । ऐतिहासिक हिसाबले नयाँ मुलुक भनेर चिनिने बर्दिया जिल्लाको आफ्नै ऐतिहासिक र मौलिक पहिचान रहेको छ ।

राज्यको पुनर्संरचनासँगै अहिले बर्दिया जिल्लामा ६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् । वि.स. २०६८ सालको जनगणना अनुसार बर्दियामा झण्डै साढे ४ लाख जनसंख्या रहेको छ ।

विविध जातजाति, भाषा, धर्म तथा संस्कृतिले परिचित बर्दिया जिल्ला जैविक विविधताको दृष्टिकोणले नेपालमै सबैभन्दा धनी जिल्ला हो । पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गसँग जोडिएको बर्दिया प्रवेशका लागि सुविधायुक्त बस र नेपालगञ्ज विमानस्थलबाट ओर्लेर झण्डै आधा घण्टाको समयमा बर्दिया प्रवेश गर्न सकिन्छ ।

बर्दिया जिल्ला संरक्षण र पर्यटनसँगै कृषिका लागि प्रसिद्ध जिल्ला हो । वन वातावरण संरक्षण, पर्यटन, कृषि तथा सांस्कृतिक सम्पदाको विशेषताले भरिपूर्ण बर्दिया जिल्लामा नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यहाँ प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र लोपोन्मुख वन्यजन्तुहरु अवलोकन गर्न सकिन्छ ।

त्यस्तै बर्दियामा बढैयाताल, सतखलुवा ताल, ताराताल, भगरताल लगायतका थुप्रै प्राकृतिक सिमसार क्षेत्रहरु रहेका छन् । नेपालकै एकमात्र प्राकृतिक बासस्थानमा पाइने कृष्णसार बर्दियामा हेर्न सकिन्छ । त्यस्तै एउटा मात्र खम्बामा अडिएको कर्णाली चिसापानी पुल, कोठियाघाटमा रहेको नेपालकै लामो पुल, ऐतिहासिक मठ मन्दिर, विभिन्न विविधता झल्कने कला संस्कृतिसंग जोडिएका होमस्टेहरु पनि बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरु हुन् ।

बर्दिया जिल्लाको प्राकृतिक, सांस्कृतिक विविधताको संरक्षण र प्रवद्र्धन गर्दै विभिन्न सम्भावना र अवसरलाई अघि बढाउने उद्देश्यका साथ बर्दिया जिल्लालाई राम्रो र हाम्रो बर्दिया बनाउन बर्दियाका सम्पूर्ण स्थानीय तहलगायत अन्य सरोकारवाला निकायहरु अग्रसर भएर लागिपरेका छन् । 

बर्दिया जिल्लाका स्थानीय तहभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यहरु :

बर्दिया राष्ट्रिय निकुञ्ज :


 
बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्रभित्र रहेको बर्दिया राष्ट्रिय निकुञ्ज एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा संसारभर परिचित रहेको छ । पाटे बाघको प्रमुख वासस्थान, एकसिँगे गैँडा, जंगली हात्ती, घडियाल गोही, झुण्ड–झुण्डमा देखिने मृग, अनेकौँ प्रजातिका चरा तथा वनस्पतिले बर्दिया राष्ट्रिय निकुञ्ज अत्यन्तै सम्पन्न छ । बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी, जीप सफारी र टे«किङ्ग, फिसिङ्ग, क्याम्पिङ्ग गरेर अवलोकन गर्न सकिन्छ ।

निकुञ्ज क्षेत्र भएर पश्चिममा कर्णाली र मध्य भागमा बबई नदी बगेका छन् । बबई नदीको तटीय क्षेत्र अत्यन्तै मनमोहक एवं वन्यजन्तुको वासस्थानको रुपमा रहेको छ । दुर्लभ वन्यजन्तुको बासस्थान रहेको एकमात्र बबई उपत्यकामा ठूला ठूला फाँटहरु र फाँटको मध्य भाग हुँदै बग्ने बबई नदीका कारण यो उपत्यका आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्न पुगेको छ । बर्दिया निकुञ्ज घुम्न आउने पर्यटकहरुका लागि ठाकुरद्वारा क्षेत्रमा पर्यटकीय स्तरका ३० भन्दा बढी सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा हालसम्म ५६ प्रजातिका स्तनधारी (१० वटा संरक्षित सहित), ४३८ भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरु (६ वटा संरक्षित सहित), ५२ प्रजाति भन्दा बढी घस्रिने वन्यजन्तु सरिसृप (३ वटा संरक्षित) र १२१ प्रजातिका माछा पहिचान भएका छन् । 

सन् २०१८ को बाघ गणनाको नतिजा अनुसार बर्दिया निकुञ्ज र आसपासका वन क्षेत्रमा ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । यस्तै ३७ वटा एकसिँगे गैडा र झण्डै एक सयको संख्यामा जंगली हात्ती रहेका छन् ।

एउटा मात्र पिलरमा अडिएको कर्णाली चिसापानीको पुल पनि पर्यटकहरुका लागि प्रमुख आकर्षणको केन्द्र हो । पुलको तलतिरबाट हुँदै कर्णाली नदीमा प्राकृतिक सुन्दरता नियाल्दै र्याफ्टिङ्गको मजासमेत लिन सकिन्छ । चिसापानी कर्णाली नदीबाट र्याफ्टिङ्ग गर्दै कोठियाघाट तथा बर्दिया निकुञ्जको हात्तीसार नजिक खौराह खोला पिकनिक स्थलसम्म पुग्न सकिन्छ ।

कलात्मक निर्माण शैली र अत्यन्त ठूलो आध्यात्मिक महत्वको ठाकुरद्वारा मन्दिरमा टाढा–टाढादेखि मानिसहरु दर्शन गर्न आउने गर्दछन् । विशेषगरी यस मन्दिरमा पूजाआजा गर्दा आफूले मागेको वर पूरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण यस मन्दिरमा माघे संक्रान्तिमा भक्तजनहरुको ठूलो घुँइचो लाग्ने गर्छ ।

यस मन्दिरमा विशेषगरी हरेक वर्ष माघे संक्रान्तिका दिन पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ । हरेक वर्ष माघे संक्रान्तिका दिनदेखि ४ दिनसम्म मन्दिर परिसरमा परम्परागत माघी मेला पनि लाग्ने गर्छ । थारु सांस्कृतिक नाचसँगै देउडा नाचगानको आयोजना गरेर पनि मेलालाई थप रौनक बनाउने गर्छन् ।

यसका साथै अन्य धार्मिक रितिरिवाज, विवाहपञ्चमी, रामनवमी, शिवरात्री, एकादशी आदिमा समेत भक्तजनहरु आउने गर्दछन् । बर्दिया जिल्लाको गौरवको रुपमा रहेको यो मन्दिर नेपाल सरकारद्धारा हुलाक टिकट समेत प्रचलनमा आएको छ । करिब २५ हेक्टर क्षेत्रफल रहेको यो मन्दिरको धार्मिक वन समेत रहेको छ ।

ठाकुरबाबा नगरपालिको वडा नम्बर ९ मा पर्ने घना जङ्गलको मध्य भागमा रहेको ठाकुरद्वारा मन्दिर धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण स्थल हो । यो क्षेत्रले धार्मिक तथा ऐतिहासिक रुपमा विशेष महत्व बोकेको छ । विशेषत विष्णु भगवानको मूर्ति रहेको यो मन्दिर क्षेत्रलाई ठाकुरजीको द्वारको रुपमा वर्णन गरिँदा गरिँदै यस क्षेत्रको नाम नै ठाकुर द्वारा रहन गएको भन्ने भनाइ छ । 

यो मन्दिर कहिले स्थापना भएको हो भन्ने खासै लिखित प्रमाण नभेटिए पनि झण्डै ५०० वर्षअघि किसानले खेत जोत्ने क्रममा आठ ओटा हात भएको विष्णु भगवानको मूर्ति फेला परेपछि यो मन्दिर स्थापना भएको धार्मिक किम्वदन्ती छ । पहिले सानो खरको झुपडीमा रहेको यस मन्दिरलाई वि.स. २०३६ सालमा जीर्णोद्धार गरी पुनः निर्माण गरिएको हो ।

मन्दिरको चारै कुनाका पिलरमा पाङग्रा जडान गरिएको छ । गुडाउन मिल्छ कि जस्तो लाग्ने यो मन्दिर निकै आकर्षक गजुर शैलीमा निर्माण गरिएको छ । मन्दिरको परिसरमा ढुङ्गाका विभिन्न कलात्मक लिच्छवीकालीन मूर्तिहरु रहेका छन् ।

त्यस्तै ठाकुरबाबा नगरपालिका ५ मा रहेको गोविन्दपुर होमस्टेमा पारिवारिक वातावरणमा स्थानीय थारु कला संस्कृति एवं खानपानको मजा लिँदै बास बस्न सकिन्छ । 

‍बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि निकुञ्जको मुख्य प्रवेशद्धार ठाकुरद्वारासँगै पूर्व पश्चिम राजमार्गमा पर्ने आम्बासा पोष्टबाट पनि नयाँ प्रवेशद्वारा खुल्ला भएको छ । निकुञ्ज अवलोकनका लागि आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले यस प्रवेशद्वारबाट प्रवेश गरी निकुञ्जका वन्यजन्तु र रमणीय स्थलहरु सहजै अवलोकन गर्न सक्छन् । 

ठाकुरबाबा नगरपालिका १ मा रहेको पूर्व पश्चिम राजमार्गसँग जोडिएको विकासोन्मुख भुरिगाउँ बजार राजमार्ग किनारको पुरानो बजार हो । 

मधुवन नगरपालिका क्षेत्रमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतमा रहेको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका वन्यजन्तु आवत जावत गर्ने मुख्य मार्गका रुपमा रहेको खाता जैविक मार्ग वन्यजन्तुका लागि चर्चित मार्ग हो । 

मधुवन नगरपालिका वडा नम्बर १ मा रहेको जैविक मार्ग होमस्टे डल्ला गाउँ नेपालकै प्रसिद्ध होमस्टे हो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत खाता जैविक मार्ग नजिक डल्ला होमेस्टे सञ्चालन गरिएको छ । २०६७ साल देखि सञ्चालनमा आएको होमस्टे डल्ला गाउँमा २२ वटा घरलाई होमस्टे बनाइएको छ । डल्ला होमस्टे आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको छ । डल्लागाउँमा होमस्टे सञ्चालन गर्ने सबै थारु समुदाय छन् । 

डल्ला गाउँको होमस्टेमा थारु परिकारका साथै पाहुनाको रुची अनुसार साँझपख विभिन्न प्रकारका थारु नृत्यहरुले पाहुनालाई मनोरञ्जन दिने गरिन्छ । स्थानीय सामुदायिक वनमा गैँडाको संरक्षण गर्दै होमस्टे सञ्चालन गरिएको डल्ला गाउँको सामुदायिक वनमा नै लोपोन्मुख गैँडा, बाघ लगायतका वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । बेलायतका राजकुमार ह्यारीले समेत यो होमस्टेको अवलोकन गर्नुभएको छ ।

कर्णाली नदीको भँगालो गेरुवा नदी कोठियाघाट बर्दिया जिल्लाको अन्नको भण्डार भनेर चिनिने साविकका ११ गाविस हालको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकासंग मधुवन नगपालिका जोडिएको छ । राजापुर नगरपालिका र मधुवन नगरपालिकासंग जोडिएको नेपालकै लामो १ हजार १५ मिटर लम्बाई रहेको कोठियाघाट पुल पनि पर्यटकीय गन्तव्य हो ।

राजापुर नगरपालिकाको मुटुमा रहेको पश्चिम नेपालको सबैभन्दा पुरानो ऐतिहासिक बजार राजापुर बजार हो । विक्रम सम्वत् १९५० को सन्धीपछि राजापुर हुँदै भारत आउने जाने कतर्निया नाका चल्नु अघिको राजापुर बजार कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता नुन, तेल, कपडा खरिद गर्न आउने पुरानो बजार हो ।

सडक सञ्जालको विकाससँगै यस बजारको महत्व बिस्तारै घट्दै गएको थियो । विशेष गरी कर्णाली प्रदेशका जनता पैदलै राजापुर बजार आएर किनमेल गरी फर्कने गर्दथे । 

एसियाकै ठूलो आधुनिक चामल कारखाना राजापुरको मुख्य बजारमा छ । ५५ हजार क्विन्टल धान स्टोर गर्न सक्ने क्षमता भएको चामल कारखानामा राजापुर क्षेत्रका किसानबाट धान खरिद गरी चामल उत्पादन गर्ने र स्थानीय सँगै देशका विभिन्न ठाउँमा चामल पठाइन्छ । 

बर्दियाको सदरमुकाम गुलरियाबाट झण्डै ३८ किलोमिटर पश्चिममा रहेको गणेशथान मन्दिर राजापुर क्षेत्रको पुरानो ऐतिहासिक मन्दिर हो । पीपलको रुखमा गणेश भगवानको जस्तो आकार देखिएपछि स्थानीयवासीले पुजापाठ गर्दै संरक्षण गरेर सुरु गरिएको गणेशथान मन्दिर २०३६ साल भन्दा अगाडि निर्माण गरिएको हो । मनोकांक्षा पूरा हुने जनविश्वास रहेको यस मन्दिरमा हरेक वर्ष माघ महिनाको प्रत्येक मंगलबार श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । 

बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको कर्णाली नदीमा डल्फिनको डुबुल्की हेरिरहुँ जस्तो लाग्छ । जति हेर्यो हेरिरहुँ लाग्ने डल्फिनको डुबुल्की कर्णाली नदीको दौलतपुरदेखि नंगापुरको बीचमा प्राय सँधै हेर्न सकिन्छ ।

गेरुवा

विक्रम सम्वत २०४८ सालदेखि २०५६ सालकोबीचमा कर्णाली नदीको पानी किसानको खेत खेतमा पुर्याउन चिनिया कम्पनीले निर्माण गरेको गेरुवा गाउँपालिका १ ओखरियामा रहेको आकर्षक स्थान हो गेरुवा । बर्दिया निकुञ्जसँग जोडिएको रमणीय स्थानमा रहेको गेरुवाबाट प्राकृतिक सुन्दरतासँंगै वन्यजन्तुको अवलोकन गर्दै रमाउन सकिन्छ ।

ग्रामीण बस्तीमा सरसफाइको नमुना गाउँ हो, गेरुवा गाउँपालिकाको जनकनगर । बर्दिया निकुञ्जसँग जोडिएको जनकनगर गाउँमा जनकनगर होमस्टे सञ्चालन गरिएको छ । निकुञ्ज र इन्टेकमा घुम्न आउने पाहुनालाई स्थानिय थारु कला संस्कृति सहित स्वागत गरिन्छ जनकनगर होमस्टेमा । लडिया (गाडा) चढ्दै स्थानीय थारु कला संस्कृति र खानपिनमा पर्यटकहरु लोभिने गर्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि गेरुवा गाउँपालिकाको बन्जरिया पोष्टबाट नयाँ प्रवेशद्वारा पनि खुल्ला भएको छ । निकुञ्ज अवलोकनका लागि आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले यस प्रवेशद्धारबाट प्रवेश गरी बर्दिया निकुञ्जका वन्यजन्तुसँगै रमणीय स्थल अवलोकन गर्न थालेका छन् ।

बारबर्दिया 

बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाको सिमानामा पर्छ बबई नदीको पुल । बबई नदीको पुलको तलतिर घडियाल गोही र माछा हेर्न पर्यटकहरु आउने गर्छन् । सिँचाई सुविधा पुर्‍याउन नहर बनेको छ । नहर छेउछाउमा हरेक वर्ष विभिन्न ठाउँबाट पिकनिकका लागि आउने गर्छन् ।

बारबर्दिया नगरपालिका वडा नम्बर ९ मा पर्ने खैरेनी गाउँमा सुन्दर सतखलुवा ताल छ । यस तालमा प्रकृतिसँग रमाउन सकिन्छ । सातवटा खोल्सा भएर तालमा पानी जम्मा हुने भएका कारण यो तालको नामकरण सतखलुवा ताल रहन गएको भनाइ छ । घोडा चढेर तालसम्म पुग्न सकिन्छ । तालमा डुङ्गा मार्फत जैविक विविधताको अवलोकन गर्न सकिन्छ । जंगलको बिचमा रहेको यो तालमा वन्यजन्तु र चरा हेर्दै रमाउन सकिन्छ । तालमा डुङ्गा सयर गरेर पनि पर्यटकहरु रमाउने गर्छन् ।

सतखलुवा तालको अवलोकन गर्न आउने पाहुनाका लागि खानपिन र बास बस्न ताल नजिकै गाउँमा सतखलुवा होमस्टे समेत सञ्चालनमा ल्याइएको छ । फरक फरक जातजातिले सञ्चालन गरेको सतखलुवा होमस्टेमा फरक फरक कला संस्कृतिको अवलोकन समेत गर्न सकिन्छ । थारु कला संस्कृतिसँगै पहाडी समुदायको भजन लयागत विविध सांस्कृतिक कार्यक्रममा रमाउँदै स्थानीय परिकार खाँदै रमाउन सकिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि पुर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकाको रम्भापुर पोष्टबाट नयाँ प्रवेशद्धार पनि खुल्ला भएको छ । निकुञ्ज अवलोकनका लागि आएका आन्तरिक तथा वाह्य पर्यटकहरु यस प्रवेशद्वाराबाट प्रवेश गरी निकुञ्जको रमणीय स्थल अवलोकन गर्न सक्छन् ।

गुलरिया

बर्दिया जिल्लाकै सदरमुकाममा रहेको सबैभन्दा पुरानो नगरपालिका हो गुलरिया नगरपालिका । गुलरिया नगरपालिकामा ऐतिहासिक पर्वतीया र कोटही मन्दिर रहेको छ । यहाँ पूजापाठ गरेमा मनले चाहेको पुरा हुने जनविश्वास रहेको छ । 

मृग प्रजातिको वन्यजन्तु कृष्णसार नेपालमा प्राकृतिक वासस्थानका रुपमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका २ स्थित खैरापुर क्षेत्रमा मात्र रहेको छ । दुर्लभ वन्यजन्तु कृष्णसार नेपालमा संकटापन्न अवस्थामा रहेको छ । कृष्णसार अत्यन्त आकर्षक वन्यजन्तु हो ।

कृष्णसारलाई संरक्षित क्षेत्रको रुपमा विकास गरी संरक्षण गरिदै आएको छ । एक पटक उफ्रिएपछि हावामा तीन दिशा बदल्न सक्ने क्षमता भएको कृष्णसारको जम्प हेर्न धेरैले रुचाउने गर्छन् । सदरमुकाम गुलरियादेखि झण्डै ५ किलोमिटर पश्चिम तर्फ खैरापुर पुगेपछि करिब २ सय भन्दा बढीको सङ्ख्यामा रहेका कृष्णसार झुण्ड झुण्डमा देख्न सकिन्छ । कृष्णसारले खुला फाँट मन पराउँछ । ७०८ बिगाह क्षेत्रफलमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसार जुनसुकै बेला पनि सहजै देख्न सकिन्छ ।

बबई नदीले धार फेरेर वि.स. २०४४ सालमा बनेको ताल क्षेत्र भगर ताल हो । नदीको धार परिवर्तन भएपछि नदी अन्यन्त्र भागेको भन्दै स्थानीय थारु समुदायले उक्त ताललाई भगर ताल भनेका हुन् । गुलरिया नगरपालिका ५ स्थित तुरुन्तपुर र तुल्सीपुरमा पर्ने ताल १५ विगाह क्षेत्रफलमा फैलिएको छ । यो गुलरियाको राधाकृष्ण चोकदेखि ४ किलोमिटर उत्तरमा पर्दछ ।

बाँसगढी 

बर्दियाको बाँसगढी नगरपालिकाको बाँसगढी बजार नजिक रहेको धार्मिक पर्यटकीय क्षेत्र हो केदारेश्वर धाम । पुर्व पश्चिम राजमार्ग किनारमै बाँसगढी बजार नजिक विश्व प्रसिद्ध एक सय ८ फिट अग्लो ज्योतिलिङ्ग र एक सय ८ वटा धारा रहेको केदारेश्वर धाममा एक सय ८ कैलाशमार्ग रहेको छ ।  

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि बाँसगढी नगरपालिकाको बबई चेपाङ्ग पोष्टबाट नयाँ प्रवेशद्धार खुल्ला भएको छ । निकुञ्ज अवलोकनका लागि आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले यस प्रवेशद्धारबाट प्रवेश गरी वन्यजन्तुको वासस्थान रहेको एकमात्र उपत्यका बबई उपत्यकामा वन्यजन्तु र निकुञ्ज भित्रको रमणीय स्थल अवलोकन गर्न अनि बबई नदीमा र्‍याफ्टिङ्ग र फिसिङ्गको मजा लिन पनि सक्छन् ।

यही प्रवेशद्वाराबाट बर्दिया निकुञ्जको बबई उपत्यका अवलोकन गर्न सकिन्छ । बबई नदी किनारमा सानो बजार छ । नदीका माछाका परिकार खाएर बास बस्ने पनि राम्रो व्यवस्था छ । 

बढैयाताल

बर्दियाको बढैयाताल गाउँपालिकामा रहेकोे बढैयाताल जिल्लाकै सबैभन्दा ठूलो ताल हो । करिब १०९ विगाहा क्षेत्रफलमा फैलिएको यो तालको गहिराइ ७ फिट रहेको छ । यो ताल मानव निर्मित भएपनि स्थानीय थारु समुदायले जलदेवताका रुपमा मान्ने गरेका छन् । 

बढैयातालमा तत्कालीन इस्ट इण्डिया कम्पनीले नेपाललाई फिर्ता गरेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता गर्ने सहमति भएकोले यसको थप ऐतिहासिक महत्व रहेको छ । बर्दिया जिल्लाको सदरमकाम गुलरियादेखि २० किलोमिटर पूर्व र बाँकेको नेपालगञ्जदेखि १६ किलोमिटर पश्चिममा बढैयाताल रहेको छ । बढैयाताल पुग्न बर्दियाको भोलागौडीबाट २ किलोमिटर जति उत्तर लाग्नु पर्छ । 

जल चराको राम्रो बासस्थान रहेको बढैयातालमा साईबेरियादेखि चराहरु बढैयाताल क्षेत्रमा आउने जाने गर्दछन् । बाह्रै महिना पानी रहने सिमसार क्षेत्र बढैयातालमा चरा अवलोकनका लागि पर्यटकहरु आउने गर्दछन् । तालमा हिउँद याममा रुसको साइबेरियासम्मका चरा आउछन् । चरा अवलोकन गर्न पर्यकको सहजताका लागि बढैयातालको उत्तरतर्फ भ्युटावर बनाइएको छ । बढैयाताल परिसरमा पिकनिक स्थल पनि निर्माण गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०७६

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया