सहकारीमा २६ करोड हिनामिना

 जेठ १२, २०७६ आइतबार १६:४१:४३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा  कर्मचारीहरुको मिलेमतोमा शेयर सदस्यहरुले बचत गरेको २५ करोड रुपैयाँ हिनामिना भएको छ ।

कर्मचारीको मिलोमतोमा ठूलो रकम हिनामिना भएको भन्दै सञ्चालक समितिले १५ दिनसम्म सहकारी संस्था बन्द गर्ने सूचना जारी गरेपछि बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै आइतबार सहकारी तथा प्रशासनमा घेराउ गरेका छन् ।

२०५१ सालमा स्थापना भएको सहकारी नेपालगञ्जको नाम चलेका मध्येको एक हो । सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले कर्मचारीहरुको मिलेमतोमा सहकारीभित्र ठूलो रकम हिनामिना भएको आशंकामा आन्तरिक छानबिन गरी चारजना कर्मचारी दोषी पाइएको जानकारी दिनुभयो ।

मंसिरमा सहकारीले छानबिन समिति गठन गरेकोमा गएको चैतमा प्रतिवेदन दिएको हो । प्रतिवेदन बुझेपछि सहकारीको बदनाम हुने भन्दै अध्यक्ष चौधरीले वैशाख १६ मा हिनामिनामा मुछिएका कर्मचारीलाई एक वर्षभित्र रकम फिर्ता गराउने कागजात गराएको बताउनुभयो । तर उनीहरुमध्ये तीनजना सम्पर्कविहीन रहेका छन् ।

सहकारीको छानबिन समितिको प्रतिवेदनअनुसार  प्रबन्धक अरुणकुमार पाठकले  २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सूर्यकुमार विकले ६४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि  प्रबन्धक पाठक र  बैजापुर शाखा प्रमुख लिलाधर र नायब प्रबन्धक सुवेदी पनि बिरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहीन भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया