किन इरानको अस्तित्व मेटाउन चाहन्छन् अमेरिका र साउदी अरब !

 जेठ १३, २०७६ सोमबार १३:३१:५६ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सुरक्षामा इरान सबैभन्दा ठूलो खतराको सूचक भएको बताउँदै आइरहेका छन् । 

सन् २००३ मा अमेरिकाले यो तर्क दिएर इराकमाथि आक्रमण गरेको थियो र अमेरिकाको सबै तर्क गलत साबित भयो । आक्रमणपछि जे हासिल भयो, त्यसबाट अमेरिका पनि खुशी थिएन । 

यो अवस्थामा अमेरिकाले इराकसँग गरेको गल्ती पुनः इरानसँग दोहोर्‍याउला ? ‘यदि इरानले अमेरिकासँग युद्ध गर्न चाहेको अवस्थामा युद्धको पूरा तयारी गरेर नै जानेछ,’ कैंयौ विशेषज्ञहरुले भनेका छन् । 

सन् १९७९ देखि नै इरान संकटलाई लिएर अमेरिकाले एक किसिमको नकारात्मक राय राख्ने गर्दथ्यो । यस्तो अवस्थामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारका लागि इरानविरुद्ध चिजहरु पेस गर्न निकै ठूलो समस्या पनि छैन । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो भन्छन्, ‘मध्य–पूर्वको सबै समस्याहरुको जडमा इरान छ । यति हुँदा पनि इरान आक्रामक देखिएको छैन तर अमेरिकाको सबैभन्दा नजिकको सहयोगी साउदी अरब धेरै आक्रामक छ ।’

यदि मध्य–पूर्वमा इरान र साउदी अरबको तुलना गर्ने हो भने साउदी अरबको भूमिका धेरै संदिग्ध लाग्छ । यसलाई यी दुई देशको सैन्य शक्तिमा हुने खर्चको आधारलाई मान्न सकिन्छ । 

साउदी अरबले इरानको तुलनामा चार गुणा बढी रकम सैन्य शक्तिमा खर्च गर्छ

अन्तर्राष्ट्रिय संकट समूहका अनुसार, सन् २०१७ मा साउदी अरबले इरानको तुलनामा चार गुणा बढी रकम सैन्य शक्तिमा खर्च गरेको थियो । तर पनि यो कुनै नयाँ कुरा होइन । 

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटका अनुसार, इरानले सन् १९८९ देखि अहिलेसम्म रक्षामाथि आफ्नो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३ दशमलव ३ प्रतिशतभन्दा बढी खर्च गरेको छैन । यो अवधिमा साउदी अरबले प्रत्येक वर्ष ७ प्रतिशतभन्दा धेरै खर्च गरेको छ । 

हतियारमा पनि साउदी अरबको अवस्था इरानभन्दा धेरै पहुँचपूर्ण छ । स्ट्र्याटिजिक एण्ड इन्टरनेसनल स्टडिजको सन् २०१५ को एक प्रतिवेदन अनुसार, साउदी अरब र खाडीका उसको सहयोगी विश्वकै सबैभन्दा राम्रो हतियार प्रयोग गरिरहेका छन् भने इरान आफ्नो पुरानै हतियारबाट काम चलाइरहेको छ । 

इरानको लगभग हतियार शाहको पालाको हो । आयात गरेर भित्रिएका हतियार पनि सन् १९६० र १९८० को दशकसम्मको मात्रै छ । 

सैन्य शक्तिको हिसाबमा इजरायलसँग इरानको तुलना गर्ने हो भने मध्य–पूर्वमा इजरायलसँग कसैले पनि टिक्न सक्दैन । यस्तो अवस्थामा मध्य–पूर्व को सुरक्षाको लागि इरान खतरापूर्ण छ । 

सिरियामा इरानभन्दा साउदी अरबले धेरै हस्तक्षेप गरिरहेको छ

इरानले सिरियामाथि हस्तक्षेप गरेको बताइन्छ । तर कैंयौ विशेषज्ञका अनुसार, सिरियामा इरानभन्दा साउदी अरबले धेरै हस्तक्षेप गरिरहेको छ । 

सिरियामाथि इरानको हस्तक्षेपलाई बुझ्नुपूर्व इराक–इरान युद्धलाई पनि सम्झनुपर्छ । सन् १९८० मा सद्दाम हुसेनले इरानमाथि आक्रमण गरेका थिए । २० औं शताब्दिको यो नै सबैभन्दा रक्तपूर्ण संघर्ष थियो, जुन युद्धमा कम्तीमा १० लाख इरानी जनताले ज्यान गुमाएका थिए । 

यो युद्धमा सद्दाम हुसेनले निकै आक्रामक रुप देखाएका थिए । यो युद्धमा इराकले रासायनिक हतियारको पनि प्रयोग गरेको थियो । यो युद्धमा अरबका सबै ठूला देश र अमेरिकाले सद्दाम हुसेनलाई साथ दिएका थिए । अरब एकमात्र देश सिरियाले इरानको साथ दिएको थियो । 

सिरियाले मुश्किल परिस्थतिमा इरानको साथ दिँदै आइरहेको छ

त्यस युद्धपछि सिरियाले हरेक मुश्किल परिस्थतिमा इरानको साथ दिँदै आइरहेको छ । सन् २०११ मा सिरियामा बशर अल असद सरकारविरुद्ध विरोध प्रदर्शन सुरु हुँदा इरानलाई सिरियामा अमेरिकी परस्त सरकार बन्ने चिन्ताको डर थियो । 

यसको सिधा असर इरानमाथि पर्ने र इरानको शिया देशको पहिचान नै खत्तम हुने डर थियो । टर्कीलाई जस्तै इरानलाई पनि कतै सिरियाली सेनाहरुले छुट्टै देशको लागि आन्दोलन सुरु गर्छन् कि भन्ने डर थियो । 

इरानले सिरियामा यथास्थिति बनाई राख्न मद्दत गरेको थियो । इरानको यो मद्दत साउदी अरबले बहराइनमा शिया प्रदर्शनकारीविरुद्ध सैन्य शक्ति पठाएकोजस्तै थियो । योसँगै इजिप्टमा सन् २०१४ भएको सत्ता परिवर्तनमा पनि साउदी अरबको भूमिका प्रत्यक्ष रुपमा संदिग्ध रहेको थियो । 

सिरियामा इरान सत्ता परिवर्तन चाहँदैन थियो । जबकी साउदी अरब र खाडी देशका उसका सहयोगीहरुले असद विरोधी शक्तिहरुको विरोध गरे र यो शक्तिको सम्बन्ध जबात अल नुसार तथा स्थानीय अल कायदासँग पनि थियो । 

इरानमाथि यमनमा अस्थिर निम्त्याएको आरोप पनि लागेको छ । इरानले यमनमा हूती विद्रोहीलाई मद्दत गरिरहेको छ र पश्चिमी यमनमा इरानको नियन्त्रण छ । तर यमनमा पनि इरानको संलग्नतालाई भने बिना कारण मान्न सकिँदैन । 

साउदी अरब सिरियामा इरान समर्थक सरकार उखेलेर फ्याँक्न नै चाहन्थ्यो । यमनमा हूती विद्रोहीहरुले साउदी अरब समर्थक राष्ट्रपति अब्द्राब्बुह मंसुर हादीलाई उखेलेर नै फ्याँकेका थिए । 

इरान यमनलाई साउदी अरबले भियतनामलाई हेर्ने नजरमा देख्न चाहन्थ्यो । रियादसँगै संयुक्त अरब इमिरेट्सले यमनको बन्दरगाह बन्द गरिदियो र मानिसमाथि बम पनि खसाल्यो । अहिले यमन विश्वकौ सबैभन्दा मानवीय संकटबाट जुधिरहेको छ । 

इरानले प्रायोजित आतंकवादलाई बढावा दिइरहेको अमेरिकाकाे आरोप

अमेरिकाले इरानमाथि राज्य प्रायोजित आतंकवादलाई बढावा दिइरहेको आरोप लगाएको छ । यो सत्य हो कि हिज्बुल्लाह, प्यमलेस्टाइन इस्लामिक जिहाद र हमासजस्ता  संगठनले इरानकै मद्दत लिइरहेका छन् । 

तर यी आतंकवादी संगठनलाई अमेरिकाकै सहयोगी कतार र टर्कीले पनि सहयोग गरिरहेका छन् । सन् १९८३ मा लेबनानको राजधानी बेरुतमा रहेको अमेरिकी दूतावास गरिएको आक्रमणमा हिज्बुल्लाह संगठनकै हात रहेको बताइन्छ । योसँगै साउदी अरबमा सन् १९९६ मा अमेरिकी वायु सेनाको एक कम्प्लेक्समा भएको आक्रमणमा पनि यी संगठनकै हात रहेको आरोप लागेको थियो । 

‘सुन्नी जिहादी समूह जस्तैः आईएसआईएस र अल कायदाले धेरै अमेरिकी नागरिकको हत्या गरेको हो । उनीहरुलाई इरानबाट नभई सुन्नी नेतृत्व देश र विशेषगरी साउद अरबको सहयोग मिलिरहेको छ,’ विशेषज्ञहरुले मान्दै आएका छन् । 

सन् २०१६ मा अमेरिकामा ९/११ को आक्रमणको जाँच रिपोर्टमा कैंयौ तथ्य सार्वजनिक भएका थिए । विमान अपहरणकारीहरुलाई सायद साउदी अरब सरकारको सम्पर्कमा रहेको व्यक्तिबाट मद्दत मिलेको बताइएको थियो । 

अमेरिकाको टेलिभिजन संस्था सीएनएनको प्रतिवेदनअनुसार, यो वर्षको सुरुवातमा साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनमा अल कायदा आतंकवादी समूहलाई अमेरिकामा बनेको हतियार उपलब्ध गराएको थियो । 

विशेषज्ञ भन्छन् – इरानले कसैमाथि आक्रमण गर्ने आकांक्षा राख्दैन

सन् २०१४ को पेन्टागनको एक रिपोर्टमा भनिएको थियो कि इरानको सैन्य रणनीतिमा आत्मसुरक्षा केन्द्रमा छ । अमेरिका र इजरायलका कैंयौ विशेषज्ञहरुले इरान आफ्नो सुरक्षालाई लिएर सतर्क रहेको र कसैमाथि आक्रमण गर्ने आकांक्षा नराखेको आँकलन गरेका छन् । 

सन् १९५३ मा अमेरिका र बेलायतले इरानमा लोकतान्त्रिक पद्धतिबाट चुनिएका प्रधानमन्त्री मोहम्मद मोसादेगलाई अपदस्थ गरी पहलवी वंशलाई सत्ता सुम्पिदिएको थियो । मोहम्मद मोसादेगले इरानको तेल उद्योगलाई राष्ट्रियकरण गर्दै शाह वंशको शक्ति कम होस् भन्ने चाहन्थे । 

कुनै पनि विदेशी नेतालाई शान्तिपूर्ण समयमा अपदस्थ गर्ने काम अमेरिकाले पहिलो पटक इरानमा गर्यो । तर यो अन्तिम थिएन, यसपछि अमेरिकाले विदेश नीतिलाई एक किसिमको हिस्सा बनाउँदै गयो । 

‘अब इरान झुके पनि हार्छ र युद्ध लडे पनि जित्न सक्दैन’

सन् १९५३ मा इरानमा अमेरिकाले गरेको सत्ता परिवर्तनको नतिजा स्वरुप सन् १९७९ मा इरानी क्रान्ति भएको थियो । यसपछिको ४० वर्षमा इरान र पश्चिमी देशबीच राम्रो सम्बन्ध स्थापित हुन सकेन, सम्बन्ध झन् चिसिँदै गयो । 

अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा होमिए उसको अस्तित्व नै मेटिने बताएका छन् । तर अमेरिकाले पनि युद्धको खतरालाई आँकलन गरेको छ । सन् २००३ मा अमेरिकाले सद्दाम हुसेनलाई इराकको सत्ताबाट हटाउन पनि यस्तै कदम चालेको थियो । 

इस्लामिक क्रान्तिको ४० वर्षपछि इरानले कैंयौ संकट देखेको छ र यो पटकको खतरा निकै गम्भीर छ । ‘अब इरान झुके पनि हार्छ र युद्ध लडे पनि जित्न सक्दैन,’ कैंयौ विशेषज्ञहरुले बताएका छन् । 

-बीबीसी हिन्दीबाट

  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया