पीएम कप : कर्णाली प्रदेशलाई ९४ रनले हराउँदै पुलिसकाे विजयी सुरुवात

 जेठ १२, २०७६ आइतबार १७:२८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – 'एक्सपर्ट प्रधानमन्त्री कप' एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिसले विजयी सुरुवात गरेको छ । पहिलाे पटक मूलपानीको तल्लो मैदानमा भएको क्रिकेट प्रतियाेगितामा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले हरायाे ।

१ सय ८६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २७ ओभरमा ९१ रनमा समेटिएको थियो । पुलिसका लागि आरिफ शेखले चार तथा ललित नारायण राजबंशीले तीन विकेट लिए । त्यस्तै सागर ढकाल, पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट हात पारे ।

कर्णाली प्रदेशका लागि सुशान्त थापाले २९ रन बनाउँदा महेश खत्रीले १७ तथा दिनेश अधिकारीले १६ रनको योगदान गरे । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जाेड्न सकेनन् । त्यस्नै तीन जनाले खाता नै खोल्न सकेनन् ।

पहिला ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । २२ रनमा ५ विकेट गुमाएको पुलिसका लागि दिलीप नाथ र कुशल भुर्तेलले उत्कृष्ट पारी खेले । दिलीपले ७२ रन बनाउँदा कुशलले ६२ रनको योगदान गरे ।

कर्णाली प्रदेशका सुदन पोखरेलले सर्वाधिक पाँच विकेट लिए । ७ ओभर बलिङ गरेका पोखरेलले २ ओभर मेडन राख्दै १६ रन खर्चिएका थिए । यसैगरी दिवान पुनले दुई तथा दिनेश अधिकारी र रविन्द्र शाहीले समान एक/एक विकेट हात पारे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया