सगरमाथा क्षेत्रको ढुङ्गा ल्याउँदा...

 जेठ १२, २०७६ आइतबार १८:५६:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानुनी झमेलामा परेका छन् ।

हिमाल आरोहण गरेर काठमाण्डौ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आज बिहान नियन्त्रणमा लिएको छ । 

हुन त उनीहरुले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुनसक्छ तर ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’, यो कानुनको सिद्धान्त हो । कानुन जानेको छैन भन्दैमा उसलाई सजायमा छुट हुँदैन । त्यसैले हरेक मान्छेले कानून जानेको हुन्छ भनेर कानुनले व्याख्या गरेको हुन्छ । अझै संरक्षित क्षेत्रको विषय झन् संवेदनशील बन्नपुग्छ ।  

आइतबार पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय फुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुलाई सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्काे ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट ढुङ्गा बरामद गरिएको हो । 

वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाण्डौलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । 

कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरु निकासी गर्न नपाइने बताउनुभयो । यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारवाही हुने बताउनुभयो । उनीहरुको विषयमा अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया