विप्लवले काठमाण्डौलाई निशाना बनाउन खोजे, सुरक्षामा थप चुनाैती थपियो : गृहमन्त्री थापा

 जेठ १३, २०७६ सोमबार १२:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहले काठमाण्डौ उपत्यकालाई निशाना बनाएर अपराधिक गतिविधि सञ्चालन गरेको बताउनुभएको छ । 

पछिल्लो समय विप्लव समूहले काठमाण्डौ उपत्यकालाई आधार बनाएर आपराधिक क्रियाकलाप गरिरहेको र आइतबार ४ जनाको ज्यान जानेगरी भएको बम विष्फोट पनि त्यसैको निरन्तरता भएको गृहमन्त्री थापाले बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले सोमबारको घटनामा मारिने विप्लवका कार्यकर्ता भएको पनि जानकारी दिनुभयो । 

विप्लवले गैह्रकानुनी र संविधान विपरित जनसरकारको रुपमा जनपरिषद् गठन गरेको र जनसेनाको रुपमा ४ वटा कम्पनी बनाएकाले सुरक्षा चुनौती थपिएको गृहमन्त्री थापाको भनाइ छ । सरकारले चन्द समूहका गतिविधिलाई प्रतिबन्ध लगाइसकेकाले उनीहरुविरुद्ध थप कडा रुपमा प्रस्तुत हुने पनि बताउनुभयो ।

गृहमन्त्री थापाले पाँचथरको मिक्लाजुङमा भएको २ परिवारका ९ जनाको सामूहिक हत्याको घटनाको पनि थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो । अहिलेसम्म १६ जनासँग सोधपुछ र ४० जनाको टेलिफोन रेकर्ड लिएर अनुसन्धान गरिएकाले सत्य तथ्य छिटै बाहिर आउने उहाँले बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया