चीन उडानको लागि नेपाल एअरलाइन्सलाई ‘ग्रीन सिग्नल’, अन्तिम निर्णयको पर्खाइ

 जेठ १३, २०७६ सोमबार १३:२७:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – नेपाल एअरलाइन्सका विमानले छिटै चीनमा उडान गर्न पाउने संकेत मिलेको छ ।

चीनसँग पटकपटक भएका औपचारिक र अनौपचारिक वार्ताबाट कुरा अन्तिम चरणमा पुगेको र सम्भवतः यही मे महिनाको अन्तिमसम्म चीनले अन्तिम निर्णय पठाइसक्ने नेपाल वायु सेवा निगमले जनाएको छ । 

‘अरु सबै कुरा टुंग्याइसकेका छौँ अब, अन्तिम क्याटेगोरीको कुरा मात्रै बाँकी छ, उनीहरुले यही मे को अन्तिममा अन्तिम क्याटेगोरी पनि टुंगो लगाएर पठाउने संकेत गरेका छन्’ नेपाल एअरलाइन्सका व्यापार निर्देशक टंकनिधि दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

चीनले अन्तिम निर्णय दिइसकेपछि मात्रै निगमले आन्तरिक तयारी गर्ने र उडानको तालिका सार्वजनिक गर्ने उहाँले बताउनुभयो । ‘ठ्याक्कै कहिले उडान हुन्छ भन्ने बारेमा अहिल्यै भन्न सकिन्न, उनीहरुले अन्तिम पत्र पठाएपछि मात्रै हामीले तयारी थाल्ने हो, तत्कालै १/२ महिनामा फ्लाइट हुने सम्भावना हुँदैन’ दाहालले भन्नुभयो ।

चीनले स्लट दिन नमानेको हल्ला चले पनि समस्या स्लटमा नभइ ग्राउन्ड ह्यान्डेलिङमा रहेको पनि उहाँले जानकारी दिनुभयो । 

मुख्य कुरा निगमले नै टुंग्याउँछ, आवश्यक परे सहयोग गर्छौं : पर्यटन सचिव सापकोटा 

निगमले चीन उडानको लागि अनुमति पाउनेबारे सकारात्मक संकेत पाएको संस्कृति, पर्यटनक तथा नागरिक उड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पनि पुष्टी गर्नुभयो ।

‘निगमले गरेको प्रयास सफल हुँदैछ भन्ने सुनेका छौँ । आवश्यक परेमा हामीले मध्यस्तता गर्ने कुरा छँदैछ’ पर्यटन सचिव सापकोटाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘चीनमा रहेको नेपाली दूतावासले पनि यसबारेमा निरन्तर पहल गरिरहेको र यसपटकचाहिँ सफल हुनेमा हामी ढुक्क छौँ ।’

नेपाली जहाजले १० वर्षदेखि चीनमा उडान गर्न पाएका छैनन् 

नेपाल वायुसेवा निगमको जहाजले १० वर्ष अघिसम्म चीनको सांघाई हुँदै जापानको ओसाकासम्म उडान गथ्र्यो । चीनले नेपाललाई पाँचौ तहको ट्राफिक स्वतन्त्रताको अधिकारसहितको उडान अनुमति दिएको थियो । बोइङ ७५७ ले त्यतिबेला चीन हुँदै जापानको सफल उडान गरिरहेको थियो । तर नेपाल वायुसेवा निगमसँग जहाजको संख्या घट्दै गएपछि उडान रोकिएको थियो ।

सन् २००२ मै चीनसँग नेपालले गरेको हवाइ सम्झौता पुनरावलोकनमा हप्तामा नेपाली जहाजले १४ वटासम्म उडान गर्न सक्ने उल्लेख थियो । पछि हप्तामा ७० वटासम्म उडान गर्न पाउने सहमति भयो ।

दुई देशबीचको सहमतिमा एउटा देशले जतिवटा जहाज उडाउन पाउँछ, अर्को देशले पनि उत्ति जहाज उडाउन पाउँछ । तर अहिले चीनका ६ वटा वायुसेवा कम्पनीले नेपालमा सातामा ७० वटासम्म उडान गर्दै आए पनि निगमलाई भने स्लट अभाव भएको भन्दै चीनमा उड्न दिइएको छैन । सम्झौता अनुसार निगमले ल्हासा, ग्वान्झाउ, कुनमिङ, सांघाई, बेइजिङ, छेन्दु र सियानमा उडान गर्न पाउनुपर्ने हो  ।

निगमले ४ वर्षअघि ग्वान्झाउमा उडान अनुमति मागे पनि अहिलेसम्म पाएको छैन ।

तर अहिले बेइजिङ र सांघाइमध्ये एउटा सहरमा उडान भर्न मिल्ने गरी कुरा भैरहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

‘हाम्रो मुख्य जोड सांघाई या बेइजिङमा नै हो, हाम्रो हवाइ सम्झौतामा कुनै समस्या छैन, समस्या विमानस्थलसँग हो, यसपटक त्यो समस्या सुल्झिने धेरै आशा छ’ नेपाल एअरलाइन्सका व्यापार निर्देशक टंकनिधि दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

चीन, जापान कोरिया लगायतका लामो दूरीमा जहाज उडाएर मनग्य मुनाफा कमाउने भन्दै निगमले गएको वर्ष नै एअरबस कम्पनीका दुई वटा वाइडबडी विमान ल्याएको छ । तर कुनै पनि देशमा उडान नहुँदा भारत, कतार, दुबई लगायतका छोटो दूरीमै उडान सीमित भएको छ ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडान गर्नको लागि एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ गरी ५ वटा जहाज छन् । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Manoj Dhhal

    May 27, 2019, 3:14 p.m.

    साचै भन्ने हो भने नेपाली आकाशबाट सरकारी बिमानलाइ बाटो छेक्ने नेपाली राजनीति दलकै नेताहरु हुन् / नेपाल र नेपालीलाई बिश्व मान चित्रमा चिनाउनु भन्दापनि आफु कसरी कमाउँ र रास्ट्को सम्पति खाउँ भन्ने घिन लाग्दो मानसिकता भएकै करण आज नेपाली ध्वजावाहक बिमान ह्यांगरमा थन्किनु परेको छ /नेपालीको रोजाइ भएर के गर्नु ? नीति निर्माण गर्ने र सरकार चलाउने हरु ले पहिलो प्राथमिकता दिएको भए त आज हाम्रो नेपाली बायुसेवाले बिश्व बजारमा छलाँग मार्थ्यो होला, तर अफसोच बिचरा न उठ्न पायो न फ़स्टाउन ? jhapaa bata manoj dahal

  •  0 Reply

तपाईको प्रतिक्रिया