सरकारलाई विदेशीले पत्याएनन्, अनुदान र ऋण आधाभन्दा धेरैले घट्यो

 जेठ १३, २०७६ सोमबार १७:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षमा मित्रराष्ट्र र दातृ निकायले नेपाललाई दिने अनुदान सहायता र ऋण दुवै घटेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा विदेशी र दातृ निकायले नेपाललाई दिने सहायता र ऋणमा कमी आएको छ । 

गएकाे आर्थिक वर्षको ८ महिना अर्थात फागुन महिनासम्म १ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको थियो  । यसमा अनुदान र ऋणको अनुपात २९ दशमलव ९ र ७० दशमलव १ प्रतिशत रहेको थियो । 

तर यो आर्थिक वर्षको फागुनसम्म जम्मा ५० अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग  भएको छ । यसमा अनुदान र ऋणको अनुपात १४ दशमलव ८ र  ८५ दशमलव २ प्रतिशत रहेको छ । वैदेशिक अनुदान र ऋणको उपयोग पोहोरको ८ महिनाको तुलनामा  झण्डै ८१ अर्बले कमी हो । 

प्रतिबद्धतामा पनि कमी

आर्थिक सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १३ अर्ब ४९ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण गरेर १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । 

तर अघिल्लो वर्षको ८ महिनामा अर्थात फागुनसम्म १  खर्ब ५० अर्ब ८८ करोड रुपैयाँको वैदेशिक सहायता र ऋणको प्रतिबद्धता आएको थियो । पोहोरभन्दा यो वर्ष ४३ अर्ब कम अनुदान तथा ऋण सहायताको प्रतिबद्धता प्राप्त भएको छ । 

अहिले घटेको सहायता र ऋणको प्रतिबद्धताले आउँदो वर्षको बजेटको स्रोतमा पनि असर गर्ने देखिएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया