जागिरका लागि परीक्षाको तयारी गरिरहेकी युवती बनिन् सबैभन्दा कम उमेरकी सांसद

 जेठ १३, २०७६ सोमबार २०:१४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को नतिजा आउनुभन्दा अघि ओडिशामा रहने चन्द्राणी मुर्मू पनि एक सामान्य युवती नै थिइन् । 

उनी इन्जिनिरयरिङ गरेर सरकारी जागिरका लागि परीक्षाको तयारी गरिरहेकी थिइन् तर चुनावी नतिजापछि एकाएक उनको भविष्यको दिशा नै बदलियो । यसका लागि उनले धेरै लामो प्रतिक्षा गर्नु परेन । 

चन्द्राणी मुर्मू ओडिशाको क्योन्झर लोकसभा सिटमा जित निकाल्दै उनी सबैभन्दा कम उमेरकी महिला सांसद बन्न पुगिन् । २५ वर्ष ११ महिनाको उमेरमा नै सांसद बन्दै उनले कीर्तिमान कायम गरेकी हुन् । 

यसरी मिल्याे उनलाई माैका

केही समय अघिसम्म चन्द्राणी अरु सामान्य मानिस जसरी नै राम्रो जागिरको आशा गरिरहेकी थिइन् । तर अचानक उनको राजनीतिक यात्रा सुरु भएको छ । 

चन्द्राणी भन्छिन्, ‘म राजनीतिमा अचानक नै आएको हुँ । पढाइ गर्दै गर्दा म राजनीतिमा आउँछु भनेर सोचेकै थिइँन । यसलाई मेरो भाग्य र सौभाग्य मान्न सक्नुहुन्छ, म सबैप्रति आभारी पनि छु ।’

‘वास्तवमा क्योन्झर महिला आरक्षित सिट हो । यो क्षेत्रमा चुनावमा उठ्नका लागि सिधा मसँग कुरा भने भएको होइन । यो सबै मेरो मामाको तर्फबाट भएको हो । उनीहरु एक पढेको–लेखेको उम्मेदवारको खोजीमा थिए । सायद उनीहरुलाई म योग्य लागेँ र मलाई नै छानियो’, उनले भनिन् । 

चन्द्राणीले मेकानिकल इन्जिनियरिङमा बीटेक गरेकी छिन् र सरकारी जागिरको खोजीमा थिइन् । समय समयमा हुने विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाउँदै आएकी थिइन् । चन्द्राणीको परिवारमा आमा बुबासँगै दुई जना बहिनीहरु पनि छन् । 

यो लोकसभा चुनावमा उनी बीजू जनता दल (बीजेडी) को टिकट लिएर चुनावमा उठेकी थिइन् । उनले यो जितको श्रेय जनता र बीजेडी प्रमुख नवीन पटनायकलाई दिएकी छिन् । 

सबैभन्दा कम उमेरकी सांसद

उनी भन्छिन्, ‘सबैभन्दा युवा सांसद बन्न पाउँदा मलाई निकै खुशी लागेको छ र यो मेरो लागि जिन्दगीको सबैभन्दा गौरवान्वित क्षण हो । यसको सम्पूर्ण श्रेय पार्टी प्रमुख पटनायक र मलाई सहयोग गर्ने सबै जनतालाई जान्छ ।’

चन्द्रायणीलाई राजनीति एक विरासतका रुपमा प्राप्त भएकाे हो । उनको पिताको परिवारमा कोही पनि राजनीतिमा छैनन् तर उनका हजुरबुबा हरिहर सोरेन भने पूर्व सांसद भैसकेका छन् । 

आफ्नै हजुरबुबा हरिहर सोरेनलाई रोल मोलड बताउने चन्द्राणी भन्छिन्, ‘हजुरबुबाको कारण घरमा राजनीतिक माहोल थियो । यद्दपि उहाँपछि कोही पनि राजनीतिमा सक्रिय थिएनन् र मेरो राजनीतिप्रतिको मोह हजुरबुबाकै कारणले गर्दा हो । आज मलाई सबैजना हरिहरको नातिनी भन्नुहुन्छ ।’

यस्तो छ उनको योजना

एक आदिवासी इलाकाबाट प्रतिनिधित्व गर्ने हुनाले चन्द्राणाी त्यहाँ मुख्यरुपमा शिक्षामा काम गर्न चाहन्छिन् । उनी भन्छिन्, ‘हाम्रो जिल्ला आदिवासी इलाका हो । यहाँ मानिसहरुको जीवन विकासका लागि सरकारको तर्फबाट धेरै योजनाहरु छन् । तर यहाँका मानिसहरु शिक्षाबाट बञ्चित छन् । म उनीहरुकै लागि काम गर्न चाहन्छु ।’

मतदानअघि केही समय पहिले चन्द्राणी मुर्मूलाई लिएर एक विवादित भिडियोको पनि प्रचार गरिएको थियो । 

चन्द्राणीले भने त्यसलाई बदनाम गर्नको लागि चालिएको दुष्प्रयास बताएकी छिन् । ‘मेरो लागि चुनावी प्रचार सहज थिएन । त्यो भिडियोबाट पनि निकै चिन्तित थिएँ र आज सत्यको नै जित भएको छ । मलाईजस्तै मौका अरुलाई पनि मिल्नुपर्छ’, उनले भनिन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया