विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल सुक्यो

 जेठ १४, २०७६ मंगलबार १३:४७:५३ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – विश्व सीमसार क्षेत्रमा सुचीकृत जगदीशपुर ताल क्षेत्र अहिले गौचरनमा परिणत भएको छ । सीमसार क्षेत्रमा आउने पानीको मुहान बन्द गरिएपछि सीमसार क्षेत्र पूर्ण रुपमा सुकेको छ ।

वाणगंगा सिँचाइ प्रणाली अन्तर्गत वाणगंगा नदीमा निर्मित बाँधको पानी तालसम्म आउने मुख्य नहरको मर्मत सम्भार गरेपछि ताल क्षेत्रमा पानी नआएका कारण सीमसार क्षेत्र पूर्ण रुपमा सुकेको हो ।

३ मिटर गहिराइको ताल क्षेत्र सुकेर अहिले स्थानीय सर्वसाधारणहरुको लागि खेल मैदान, घाँसे भूमि तथा गाई वस्तु चरनस्थल भएको छ । यसरी ताल पूर्ण रुपमा सुक्दा ताल क्षेत्रमा बसोबास गर्ने पंक्षी, जलचर तथा अन्य विभिन्न प्रजातिका जीवजन्तुसमेत लोप भएका छन् ।

२ सय १५ हेक्टर क्षेत्रफलमा फैलिएको जगदीशपुर ताल क्षेत्रमा १ सय ५७ हेक्टरमा पानी संग्रह हुन्छ । जगदीशपुर ताल क्षेत्रबाट ६ हजार ७ सय घर धुरीको ६ हजार ३ सय ५० हेक्टर क्षेत्रफल खेतबारी सिँचाइ गर्ने उद्धेश्यले ताल निर्माण गरिएको वाणगंगा सिँचाइ डिभिजनका प्रमुख रामकृष्ण घोरासैनीले बताउनु भयो ।

बाँधबाट तालसम्म जोडिने मुख्य नहरको मर्मत सम्भारको कामका लागि गएको वर्ष नै ठेक्का भएको र ठेक्का सम्झौता अनुसार मुख्य नहर मर्मत गर्दा केही दिन ताल क्षेत्रमा जाने पानी रोकिएको डिभिजन प्रमुख घोरासैनीले बताउनुभयो । उहाँले भन्नुभयो ‘काम गरौँ तालमा पानी जान समस्या हुन्छ, काम रोकौँ कार्य प्रगति देखिँदैन ।’ 

जगदीशपुर ताल सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत भएको थियो । वाणगंगा नदीमा बाँध बाधेर नदीको पानीलाई सिँचाइको प्रयोजनका लागि जम्मा गर्न जगदीशपुर ताल निर्माण गरिएको थियो । नेपालकै कृत्रिम तालहरु मध्ये यो मानव निर्मित ठूलो ताल हो ।

सिँचाइ प्रणालीको हेडवक्समै मर्मत काम गर्नु पर्ने भएका कारण ताल क्षेत्रमा आउने पानी रोक्नु परेको र यसै कारण ताल क्षेत्र सुख्खा भएको जिल्ला वन अधिकृत ईश्वरी पौडेलले बताउनुभयो । वाणगंगा सिँचाइ डिभिजनसँग समन्वय गरी छिटै नै तालमा पानी भर्ने तयारी गरिएको जिल्ला वन अधिकृत पौडेलले बताउनु भयो ।

१ सय ६८ प्रजातिका चरा, १० प्रजातिका उभयचर, ३२ प्रजातिका स्तनधारी, ४२ प्रजातिका घस्रने जीव, ४३ प्रजातिका माछाको आश्रय स्थल हो जगदीशपुर ताल । तर ताल सुख्खा हुँदा यी जलचरहरुको अस्तित्व नै संकटमा पर्ने जीवशास्त्री उषा पौडेलले बताउनुभयो ।  


 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया