एउटा भिडियोले ढल्यो अष्ट्रियाको सरकार !

 जेठ १४, २०७६ मंगलबार १४:४४:१२ | एजेन्सी
unn.prixa.net

रुसी महिलासँगको भिडियो लिक भएपछि विकसित घटनाक्रमले अष्ट्रियाको सरकार ढलेको छ ।

अष्ट्रियन फ्रीडम पार्टीका नेता र रुसी महिलाबीचको भिडियोले अष्ट्रियाको वतर्मान सरकार ढलेको छ । त्यसै भिडियोका कारण अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जबो बिदाइ भएको छ । अष्ट्रियन संसदको विशेष सत्रमा उनीविरुद्ध अविश्वासको प्रस्ताव पास भएको हो ।

से‍बास्टियन कुर्ज

उनले संसदमा विश्वासको मत जित्न सकेनन् । उनकै पूर्व सहयोगी फ्रीडम पार्टी तथा विपक्षी दल सोसल डेमोक्रेट्सले अविश्वासको प्रस्तावमा समर्थन गरेका थिए ।  अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वेन डेर बेलनले भाइस चान्सलर हर्टविग लोगरलाई अन्तरिम सरकार प्रमुखका रुपमा नियुक्त गरेका छन् । 

भिडियोबाट सुरु भएको विवाद

जर्मन मिडियामा सार्वजिनिक एक भिडियोबाट यो विवाद सुरु भएको थियो । सन् २०१७ मा स्पेनको इबिसा द्वीपमा गोप्य तरिकाले त्यो भिडियो खिचिएको थियो । त्यो भिडियो अष्ट्रियामा भएको चुनावभन्दा पहिलेकै थियो । 

जर्मन मिडियामा सार्वजनिक त्यस भिडियोमा फ्रीडम पार्टीका नेता तथा अष्ट्रिया सरकारमा भाइस चान्सलर रहेका हेनिज क्रिश्चियन स्टार्के आफ्नै नेता जोहान्ना गुडेनससँग कुरा गरिरहेका छन् । यस भिडियोमा दुई नेता एक रुसी महिलासँग बसेको देखिएको छ । ती महिला एक रुसी व्यापारीकी भतिजी भएको बुझिएको छ । 

त्यस भिडियोमा स्टार्केले ती महिलासँग अष्ट्रियाको चर्चित समाचारपत्र कोरेनन जिटुङमा ठूलो शेयर किनेर फ्रीडम पार्टीलाई सहयोग गर्न आग्रह गर्छन् । साथै त्यसको बदलामा आफूहरुले उनलाई सघाउने बताएका थिए । 

हेनिज क्रिश्चियन स्टार्के

यो भिडियो कसले खिच्यो थाहा नभए पनि भिडियो सार्वजनिक भएसँगै स्टार्केलाई हटाउने निर्णय भयो । स्टार्केले आफ्नो पदबाट राजीनामा दिनुपर्यो । त्यसपछि फ्रीडम पार्टीका अर्का मन्त्रीले पनि राजीनामा दिए । त्यसपछि नै कुर्ज नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

अष्ट्रियन पिपल्स पार्टीका प्रमुख सेबास्टियन कुर्ज सन् २०१७ मा ३१ वर्षको उमेरमै सरकार प्रमुख बनेका थिए । युद्धपछिको अष्ट्रियाको इतिहासमा अविश्वास प्रस्तावबाट सरकारबाट बाहिरिने कुर्ज पहिलो नेता हुन् । 

अष्ट्रियाको तल्लो सभा नेसनल काउन्सिलमा १८३ सांसद रहेका हुन्छन् भने संघीय काउन्सिलमा ६१ सदस्य रहेका हुन्छन् । 

कुर्जको अष्ट्रिया पिपल्स पार्टीसँग ६१ सिट रहेको छ । उनलाई सरकार बनाउन सहयोग गरेको दल फ्रीडम पार्टी अफ् अष्ट्रियासँग ५१ सिट रहेको छ । सरकार बनाउन ११२ सिट आवश्यक पर्नेमा फ्रीडम पार्टीले समर्थन फिर्ता लिएसँगै कुर्ज सरकार ढलेको हो । त्यस्तै सोसल डेमोक्रेटिक पार्टी अफ् अष्ट्रियासँग ५२ सिट रहेको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • राजकुमार उपाध्याय

    May 29, 2019, 2:40 p.m.

    भिडियोले भन्न र देखौन खोजेको कुरा स्पष्ट छैन।तेसैले सर्कार ढल्नुको मुख्य कारण स्पष्ट भयेन

  •  0 Reply

तपाईको प्रतिक्रिया