‘नछुने भएकी’ आरती छुने भइन्

 जेठ १४, २०७६ मंगलबार १८:२५:२६ | मिलन तिमिल्सिना
unn.prixa.net

‘मिलन दाइ आज मेरो बर्थ डे, भरे केक खान आउनुहोस् है’ स्कुलबाट आउने बित्तिकै उफ्रँदै खुसी हुँदै आरतीले भनिन् । मैले ‘ह्याप्पी वर्थ डे नानु’ भनेको सुन्दै नसुनी अर्को घरमा निम्ता दिन कुदिन् । म केक सम्झंदै आफ्नो काममा लागें । 

आरती, मेरो पल्लो घरकी बहिनी । काका–काकीकी छोरी । ६ कक्षामा पढ्छिन् । मलाई दाइ मात्र होइन, साथी जस्तै ठान्छिन् । उनको बर्थ डे मा केही गिफ्ट त दिनुपर्ने । तर बजारबाट फर्किसकें, लिन जान टाढा पुग्नुपर्छ । दराजमा केही छ भनेर हेरेको नयाँ डटपेन फेला पर्यो । त्यही गोजीमा हालेर बसें । 

जहान स्कुलबाट फर्किन् । ‘आज आरतीको बर्थ डे रे केक खान जानुपर्छ’ मैले भनें । ‘आरती त बिरामी भइन् रे’ उनले भनिन् । ‘के भो र ?’ म झस्कें । ‘केही होइन, टाउको दुख्या भन्दै हुनुहुन्थ्यो आन्टी’ जहानले भनिन् । ए सामान्य रहेछ भन्ने लाग्यो । अनि साँझ परेपछि हामी केक खान पल्लो घरतिर लाग्यौं ।

बाटोमा आरतीको भाइ आकाश उफ्रँदै आयो । ‘हाम्रो आरु दिदी त मिन्स हुनुभयो नि’ उ उफ्रँदै पल्लोघरमा खबर सुनाउन पुग्यो । मानौं उ दिदीको बर्थ डे भन्दा पनि खुसीको खबर सुनाउन उत्सुक छ । ‘ए आरती पर सरिछिन्, केक त के काट्लान् र ?’ जहानले भनिन् । तैपनि जाऔं न भनेर हामी घरमा पुग्यौं ।

आरतीको कोठाबाहिर ड्याम्म ढोका लागेको छ । काकी फर्‍याकफुरुक गर्दै बाहिर भित्र गरिरहनुभएको छ । वल्लो कोठामा रहरलाग्दो केक । हजुरबा, काका, दिदी, भिनाजु, अरु केटाकेटी वरपर झुम्मिएर बसेका छन् । आरतीकै उमेर हाराहाराकी भान्जी चाहिँ आरती बसेकी कोठामा छिन् । 

‘आ केही हुन्न, आरतीलाई पनि सँगै राखेर केक काट्ने हो’ दिदीले भन्नुभयो । दिदीको कुरामा हामी पनि सहमत भयौं । ‘केही हुन्न, अबको जमानामा पनि हेर्न हुँदैन भनेर हुन्छ र ? बोलाउ छोरीलाई’ हजुरबाले काकीलाई भन्नुभयो ।

काकी के गरौं के भन्ने अलमलमा पर्नुभयो । मलाई थाहा थियो, उहाँ पहिलेदेखि चल्दै आएका केही चालचलन एकैपटक छोड्न हुँदैन भन्ने मान्यता राख्नुहुन्छ । आफू पर सरेको बेला काकालाई भात पकाउन भन्नुहुन्छ ।

बेलुका काका अफिसबाट फर्कन ढिलो हुँदासम्म उहाँको भान्सामा भात पाक्दैन । ‘आ काकी केही हुन्न, म त विजया पर सरेको बेला उसले नै पकाएको खान्छु’ मैले सम्झाउने धेरै प्रयत्न गरेको छु । ‘हुन्न बाबु, जे भएपनि पर सरेको बेला केही मान्यता चाहिँ ख्याल गर्नुपर्छ’ उहाँ भन्नुहुन्छ ।

पहिलोपटक महिनावारी या पर सरेको बेला किन बा, दाजुभाइ र अरुले हेर्न हुँदैन ? अनि छुन हुँदैन ? समाजमा पहिलेदेखि नै चल्दै आएको यो संस्कारलाई मैले आफ्नै ढंगबाट काकीलाई बुझाउने प्रयत्न गरें । पहिलोपटक पर सर्दा लाज, संकोच र अप्ठेरो हुन्छ होला ।

बा र दाइभाइसँग अझ बढि लाज र अप्ठेरो हुने भएकाले हेर्न नहुने भनिएको होला । अनि यस्तोबेला संक्रमण हुन सक्ने भएकाले सामान्यबेलामा जस्तो उठबस र काम गर्न हुँदैन भन्ने मान्यता चलेको होला । तर मेरो यो कुरामा काकी पूर्ण सहमत हुनुभएन । सफा सुग्घर भएर भात पकाउँदा पनि हुन्न भन्नुभयो उहाँले ।

‘त्यसो भए आरतीले हेर्दै नहेरी उसको वर्थ डे मनाउने त ?’ मैले प्रश्न गरें । काकीले खै भन्नुभयो । काकी केही लचक हुन लागेको संकेत बुझेपछि मैले भनें, ‘हेर्नुहोस् काकी आरतीलाई लाज र अप्ठेरो हुन्छ भने बेग्लै कुरा, तर उसलाई त्यस्तो लाग्दैन भने उसलाई बोलाउँ ।’

सँगै रहेकी दिदीले फ्याट्ट भन्नुभयो, ‘के को लाज मान्थी नि, साथीहरुलाई म मिन्स भएँ नि भनेर च्याट गर्दै होली, बोलाउनुहोस् भाउजु केही हुन्न ।’ आरती र उस्तै उमेरकी दिदीकी छोरी बन्द कोठाभित्रै थिए । 

ल आउन मानिछ भने लेराउँछु नि भनेर काकी भित्र पस्नुभयो । हामी दंग परेर बस्यौं । एकछिनपछि थोरै लजाउँदै आरती आइन् । ढोका छेउको कुर्सीमा बसिन् । केक भाइलाई काट्न भनिन् । भाइले खुशी हुँदै केक काट्यो । हामीले मुख मिठ्यायौं । गोजीमा भएको डटपेन आरतीको हातमा दिँदै भनें, ‘ह्यापी वर्थ डे एण्ड स्पेशल डे आरु ।’ उनी खिस्स हाँसिन् । सबैको साथ पाएपछि पहिलोपटक पर सरेको कुरालाई उनले सामान्य रुपमा लिइन् । अरुले जस्तो उनले लुक्नु परेन । 

मलाई याद छ, धेरै वर्षअघि मेरी कान्छी फुपु दिदी पहिलोपटक पर सर्दा कति नमजा भएको थियो । बिहान शौच गर्न गएकी दिदी फर्कनुभएन । कहाँ जानु भो होला, सबैलाई पिर लाग्यो । हाम्रो त स्कुल सँगै जाने दिदी । उहाँ अलि माथिल्लो कक्षामा पढ्नुहुन्थ्यो । हामीसँगै खेल्नुहुन्थ्यो । उहाँ नभईकन स्कुल जान मन लाग्दैनथियो । 

‘पर पो सरि की, बेला भाथ्यो’ आँबैले भन्नुभयो । पर सर्या भनेको के हो हामीलाई थाहा थिएन । दिदी आउने बाटो मात्रै हेरिरहेका थियौं । दिदी खोज्न हिँड्नुभएकी आमा धेरैबेरपछि आउनुभयो । ‘पर सर्नुभएछ, पल्लोगाउँ जानुभाछ कोलडाँडा दिदीको घर’ आमाले आँबैसँग भन्नुभयो । ‘अनि कहिले आउनुहुन्छ त ?’ आमालाई सोधें । ‘अलिदिन आउनुहुन्न, तिमीहरु अब एक्लै स्कुल जाने, अनि कोलडाँडा दिदीघरको बाटो नजानु’ आमाले भन्नुभयो ।

‘किन, नाईं हामी पनि दिदीलाई भेट्छौं, सँगै स्कुल जाने’ हामी दाजुभाइले ढिपी गर्यौं । ‘खुरुक्क भनेको मान्ने, अलिदिन दिदीलाई हेर्न हुँदैन’ आमा र आँबैले भनेपछि अब नाईं भन्ने हिम्मत हाम्रो भएन । धेरै दिनपछि दिदीसँग भेट भयो । हामी खुशीले गद्गद् भयौं । दिदी पर सरेर पर भएको त्यो वियोगको घडी सम्झनामा ताजै छ । दिदीको बिहेपछि अरु दिदीबहिनी नभएकाले त्यस्तो समस्या झेल्नुपरेन । 

धेरै वर्षपछि आरतीको पालामा आकाशपातालको फरक आयो । ‘नछुने’ भएर पनि उनी छुने भइन् । आमाको मात्र होइन, बुबा, भाइ, हजुरबा, हजुरआमा अनि आफन्त र छिमेकीको साथ पाइन् । 

आरतीकै उमेर हाराहारीकी भान्जी अस्ति एक/दुई दिन देखा परिनन् । ‘दिदी भान्जी खै ?’ मेरो प्रश्न सुनेर हाँस्दै भन्नुभयो, ‘बिरामी भई ।’ छोरी बिरामी हुँदा पनि किन हाँस्नुभएको होला भनेर अचम्म मान्दै थिएँ । ‘आरतीपछि भान्जीको पालो आएछ’ जहानले भनेपछि कुरो बुझें । भान्जी पनि ‘पर’ सरिछिन् । तर पर सरेपनि पर भएकी छैनन् । परिवारसँगै बसेकी छिन् । 

आरती बहिनी र दिलशोभा भान्जी जस्तै भाग्यमानी कति होलान् ? मलाई हिजोआज खुल्दुली लाग्न थालेको छ । पक्कै धेरै बहिनीहरुले पहिलेका दिदीहरुको जस्तो हालत व्यहोर्नुपरेको छैन ।

तर अछाम तिमल्सेना गाउँकी डम्मरा उपाध्यायको छाउपडी गोठमै रहेको अवस्थामा निधन भयो भन्ने खबर यहीबेला सुन्नुपरेको छ । पर सर्नु पर हुनु होइन भन्ने मान्यता स्थापित गर्न अरुले होइन, आफ्नै घरपरिवारका सदस्यको सोंच परिवर्तन हुन आवश्यक छ । साथमा समाजको साथ चाहिन्छ, हाम्रो छिमेकमा जस्तै ।

- अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा उज्यालाे अर्काइभबाट याे सामग्री प्रकाशित गरेका हाैँ ।

अन्तिम अपडेट: भदौ १०, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Rajib sh.

    May 28, 2019, 6:47 p.m.

    यो पर सरेको बेला पीडा र दुख दिनु हुन्न / यो हुँदा कसैलाई केहि हुन्न, खालि मनको डर हो, त्यसकारण यो चलन आफनै परिवारवाट हटाउँदा राम्रो हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया