तीस वर्षदेखि जङ्गलमा बास

 जेठ १५, २०७६ बुधबार १०:१५:४ | रासस
unn.prixa.net

कुष्ठरोग लागेका कारण गाउँबाट टाढा जङ्गलमा छाप्रो बनाएर ३० वर्षदेखि बस्दै आएका निस्दी– ४ मित्यालका जसवीर सुनारी । तस्वीर : रासस

पाल्पा – निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएको छ । निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि झण्डै सात सय मिटर टाढा जङ्गलमा बस्नुहुन्छ । 

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करिब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गर्नुभयो । ‘पहिले पनि मेरो नजिक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए’, सुनारीले गुनासो गर्नुभयो ।

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि गाउँलेले दुव्र्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको बताउनुभयो । सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आउनुभएको थियो । बुढेसकालको शरिर जङ्गलको बास, पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारी बताउनुहुन्छ । 

सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आउनुभएको छ । माइक्रो ब्याक्टेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइराला बताउनुहुन्छ ।

कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुर्व्यवहार हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया